नेपाली कांग्रेसको विधानले पार्टीलाई समावेशी बनाएको छ । केन्द्रदेखि टोल समितिसम्म नै महिला,दलित, जनजाति, अल्पसंख्यक,अपाङ्गहरुलाई आरक्षणको व्यवस्था गरिएको छ । विधानले नै उनीहरुको सहभागिता सुनिश्चित गरेसँगै पार्टी समावेशी बन्ने कांग्रेसको जिकिर छ । त्यसो त कांग्रेसले यो पटक क्रियाशिल सदस्यको संख्या पनि ह्वात्तै बढाएको छ । करिब ९ लाख क्रियाशिल सदस्य बनाउँदा पार्टीप्रति युवाहरुको आकर्षण ह्वात्तै बढेको जिकिर पनि गरिएको छ ।
कांग्रेस यतिबेला १४ औं महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा छ । केही जिल्लाहरुमा सदस्यता विवादले महाधिवेशन रोकिए पनि धेरैजसो जिल्लामा पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । तर, चुनाको पहिलो परिणामले पार्टीमा युवाहरुको आकर्षण देखिए पनि सक्रियता र समावेशीताको मुद्दाबारे भने उनीहरु अनविज्ञ रहेको पाइएको छ । कांग्रेस पोखरा महानगर सदस्यको मनोनयन दर्तालाई ऐना मान्ने हो भने, सदस्यको लागि आवश्यक मनोनयन नै परेको छैन ।महिला,जनजाति र दलितहरुले खुल्लामा प्रतिष्पर्धा गर्ने त परको कुरा छुट्टयाइएको ठाउँमा जान पनि रुचि देखाएका छैनन् । यसले कांग्रेसप्रति आकर्षण बढेको दावीलाई मिथ्या सावित् मात्रै गरेको छैन, पार्टीले अगाडि सारेका नीतिहरु नै कार्यकर्ताले नबुझेको देखिएको छ । कार्यकर्ता भनेका पार्टीका जग हुन् । विधानमा समावेश गरिएका प्रावधानहरु नै नबुझेका कार्यकर्ता वा बुझाउन नसकेको पार्टी के आफैमा बलियो बन्ला त ? प्रश्न अहिले टड्कारो बनेको छ ।
सवाल कांग्रेसको मात्रै हैन,देशका अन्य पार्टीको हालत पनि उस्तै देखिएको छ । समावेशीतालाई संविधानले बाध्यकारी बनाए पनि लाभको पद वितरणमा त्यसलाई नजरअन्दाज गरिएको छ ।सीमान्तकृत बर्गलाई भोट बैंक मात्र ठान्ने र उनीहरुलाई मूलधारमा ल्याउन नखोज्ने प्रवृत्ति सबै पार्टीमा देखिएको छ । महिलाहरुको लागि छुट्टयाइएको आरक्षित सिट पनि सकेसम्म नदिने,छिद्रहरु प्रयोग गर्दै उनीहरुलाई लाभको अवसरबाट वञ्चित गर्ने प्रवृत्तिले दलहरु असमावेशी बनेका छन् ।यसले गर्दा पार्टीहरुप्रति दलित, जनजाति, अल्पसंख्यकहरुको भरोशा टुटेको छ । पार्टीहरु समावेशी बन्न नसक्नु भनेको व्यवस्था सबै वर्गको लागि बन्न नसक्नु नै हो । हरेक व्यवस्थाले सबैलाई अवसर दिनुपर्छ, समेट्नुपर्छ । समाजमा रहेका सबै वर्गलाई समेट्न नसक्ने हो भने उनीहरु वहिष्करणमा पर्छन् । वहिष्करणमा पर्नेहरु असन्तुष्ट बन्छन् । असन्तुष्टिले विद्रोह जन्माउँछ । अतः दलहरु समावेशी बन्नैपर्छ । अहिले जुन रोग देखिएको छ, बेलैमा त्यसको निदान खोजिनु जरुरी छ । हैन भने, त्यसले कालान्तरमा समस्या निम्त्याउँछ । महाधिशनको प्रक्रियामा गएको कांग्रेसले सबैभन्दा पहिला यो कार्य सम्पादन गर्नुपर्छ भने अन्य पार्टीहरुले पनि सम्भावित परिणतितर्फ आँखा लगाउनुपर्ने देखिएको छ ।
