लामो समयको प्रतिक्षापछि कांग्रेसको १४ औं महाधिवेसन अन्र्तगत वडा अधिवेसनहरु सम्पन्न भएका छन् । वडा अधिवेसनमा अहिले सम्मकै नयाँ रेकर्ड तोडेको समाचारहरु सार्वजनिक भएका छन् । यो अधिवेसनमा युवाहरु सभापतिमा चुनिएका छन् । केही वडामा ७५ बर्ष काटेका वृद्द आएपनि अधिकांस वडामा युवाको बर्चस्व रहेको छ । यसले नेपाली राजनीतिमा युवाहरुको चासो र प्रवेशको ढोका खोलेको छ ।
पचास साठी काटेकाहरु मत्रै राजनीतिमा आउने पुरानो परंपरा तोडेर कांग्रेसमा आएको यो लहरले अब क्षेत्रीय, जिल्ला र राष्ट्रिय महाधिवेसनमा पनि युवाहरु आगाडि सर्नुपर्छ भन्ने सन्देश दिएको छ । हुनपनि अहिले सम्म बुढापाकाले नेतृत्व गर्दा युवाहरुले आफ्नो व्यक्तित्व समेत बढाउन पाएका छैनन् । युवाहरुलाई अबसर पनि नदिने प्रवृत्तिले कांग्रेस परंपराबादी र सही समयमा सही निर्णयमा पुग्न नसक्ने अबस्था आएको टिकाटिप्पणी हुने गरेको छ ।
स्पष्ट वक्ताको रुपमा चिनिएका युवाहरुले केन्द्रीय समितिमा स्थान नपाउने, पदाधिकारीमा दावी नै नगर्ने जस्ता गतिविधिले राजनीतिमा बुढाहरुको बाहुल्यता देखिएको थियो । संसदमा उपस्थिति देखि पार्टीहरुको निर्णायक क्षमतामा युवा नपुगेसम्म आम युवाको पक्षमा काम नगर्ने अबस्था देखियो । किनकी नेपालमा अहिले पनि लाखौ युवा बिदेशमा छन् । नेपालमै केही गरौं भन्नेले पनि अबसर पाएका छैनन् । राजनीति, आर्थिक, सामाजिक र कृषि क्षेत्रमा समेत युवालाई रोजगार बनाउन पाको पुस्ताले कार्यक्रम ल्याउन सकेन भन्ने आरोप छ । अधिकांस नेताहरु कुर्सीकालागि लडेका छन् भन्ने पनि देखिन्छ । हुनपनि पछिल्लो घटनाक्रम नियाल्दा अधिकांस गतिविधि कुर्सी जोगाउनकालागि मात्रै भएका छन् ।
कांग्रेस इतिहास पल्टाउने हो भने संस्थापक बीपी कोइराला ४० को दशकमै सभापति भएका थिए । ५० बर्ष नपुग्दै प्रधानमन्त्री पनि भए । तर ५० बर्ष पुग्दा सम्म बिद्यार्थी नेताको पहिचान बनाउने नेताहरु धेरै छन् । पदमै पुगेर पनि नाम लेखिन्छ, चर्चित भइन्छ वा निर्णायक तहमा पुगिन्छ भन्ने पनि देखिएन । किनकी गणेशमान सिंहले कहिले पनि पद लिएनन् । तर नेपालको राजनीतिक इतिहासमा उनी सर्बोच्च नेताको रुपमा चिनिन्छन् । धेरैले पद लिएपनि उनीहरुको इतिहासमा नाम खोज्न धेरै कठिन छ । कांंग्रेस राजनीतिले अन्तराष्ट्रिय तहमा पनि अर्थ राख्छ । अर्थात ठूलो परिवर्तनको समयमा कांग्रेसले के कस्तो निर्णय लिन्छ, कसरी अगाडि बढ्छ भनेर धेरैले नियालेका हुन्छन् । गणतन्त्रमा जाने, संविधान निर्माण लगायतका महत्वपूर्ण अभियानमा कांग्रेसको निर्णय र पहलले अर्थ राखेको थियो ।
राजनीतिक व्यवस्थामा परिवर्तन भयो । अबपनि देशमा सामाजिक आर्थिक रुपान्तरणको महत्वपूर्ण कामहरु बाँकी छन् । आर्थिक समृद्धिको बाटोमा हिडाउन धेरै मेहेनत गर्नुपर्ने छ । तर पाको पुरानो पुस्ताले युवा रोजगारीको क्षेत्रमा काम गर्छ भन्ने विश्वास अब हराएको छ । २०४६को परिवर्तनपछि सत्तामा पुगेकाहरु अझैपनि सत्ता खोजीरहेका छन् । त्यो सबै दल बिशेषमा लागू हुन्छ । पार्टीको केन्द्रमा पनि अझै उनीहरुनै जान खोज्ने प्रवृत्तिले युवाको आवस्यकता नदेखेको भान हुन्छ । कैयौं युवाहरु राजनीतिक स्पेस नपाएकै कारण बिदेशमा पलायन भएका छन् । स्थानीय पालिकामा पनि युवा जनप्रतिनिधि आएको स्थानमा बिकासले गति लिएका छन् । पाकापुराना भएको स्थानमा बिकास नभएको उदाहरण छ । त्यसैले अब युवाहरुले राजनीतिमा हस्तक्षेप गरेर नेतृत्व दावी गर्न अगाडि सर्नुको बिकल्प छैन ।
