सातौ : संविधान दिवस तामझामका साथ मनाइएको छ । दीप प्रज्ज्वलनदेखि प्रवचनसम्म भएका छन् । तामझाम हेर्दा संविधाने संविधानप्रति धेरै नागरिकले अपनत्व महशुस गरेका हुन् कि भन्ने भान भएको छ । हो, ६ वर्ष पूरा हुँदा संविधानप्रतिको असन्तुष्टिका स्वरहरु धीमा भएका छन् तर संविधानले प्रत्याभूत गरेका अधिकारहरु कार्यान्वयन नहुँदा एवं संविधानको मर्ममाथि नै प्रहार हुँदा अनेकौं सन्देहहरु पनि मडारिन थालेका छन् । संघीय गणतान्त्रिक नेपालको संविधान साना दुःखले आर्जेको सम्पत्ति हैन । लामो संघर्ष र धेरै नागरिकको बलिदानको जगमा यो संविधान उभिएको छ । पहिलो संविधान सभाको विसर्जन एवं दोस्रो संविधान सभासम्म आइपुग्दा विकसित घटनाक्रमले उब्जाएका असन्तुष्टिकै बीच संविधान यो संविधान जारी भएको हो । तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानलाई शीरमा लगाउँदा मधेशमा त्यही संविधान जलिरहेको थियो ।
संविधान जलाउनेहरु समयक्रममा मुलधारको राजनीतिमा अर्थात् सत्तामा आए । संविधान संशोधनको नारालाई उनीहरु स्वयंले शक्ति आर्जनको हतियार बनाउँदा संशोधनको मुद्दा ओझेलमा प¥यो । अर्को तर्फ, संविधान कार्यान्वयन गर्नुपर्ने दायित्व बोकेको सरकारबाटै पटक– पटक त्यसको चीरहरणको प्रयास गरियो । अघिल्ला प्रधानमन्त्री केपी ओलीले संविधानले परिकल्पना नै नगरेको प्रतिनिधि सभा विघटन गरिदिए । संविधानमाथि भएको २ पटकको प्रहारलाई सर्वो च्च अदातलले रक्षा त गरिदिएको छ तर संविधानलाई आफूखुसी व्याख्या गर्ने प्रवृत्ति हट्न सकेको छैन । यसैगरी संविधानले प्रत्याभूत गरेका अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्ने काममा पनि विलम्ब भइरहेको छ । प्रदेश सरकारहरुले एक कार्यकाल पूरा गर्दासम्म अधिकार नपाउनु भनेको संविधान पूर्ण कार्यान्वयनमा नआउनु नै हो । संविधान पूर्ण कार्यान्वनयमा आएन भने त्यसको महत्वा घट्छ ।
संविधानमाथि प्रश्नचिन्ह खडा हुन्छ र अन्ततः यो व्यवस्था नै कमजोर बन्न पुग्छ । व्यवस्था कमजोर हुँदा संविधान पनि स्वतः कमजोर हुन्छ । यो तथ्यप्रति सातौ ं संविधान दिवस मनाइरहँदा संवेदनशील हुनुपर्ने देखिएको छ । नेपालको संविधानले समावेशीता, गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षतालाई अंगिकार गरेको छ । नेपाली समाजमा व्याप्त अन्याय र थिचोमिचोबाट मुक्तिको लागि संविधानले नैमार्ग निर्दिष्ट गरेको छ । यसमानेमा यो संविधान प्रगतिशील रहेको छ । संविधान प्रगतिशील मात्रै नभएर गतिशील पनि हो । संविधान आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ तर भएका परिवर्तनबाट पछाडि हट्न सकिँदैन । अहिले भइरहेका कृत्यहरुले कतै अहिलेको उपलब्धी नै हातबाट नफुस्कने गरी यसमा सुधार गर्न सकिन्छ । तर, यसको लागि पनि सबैभन्दा पहिला संविधानको मर्ममाथि हुने प्रहाररोक्दै यसको पूर्ण कार्यान्वयन गरिनुपर्ने देखिएको छ । शक्ति पृथकीकरणको सिद्धान्तबाट च्यूत हुने, संविधानको आफू अनुकूल व्याख्या गर्ने अनि अधिकार बाँडफाँडमा अनुदार हुने हो भने संविधान दिवस मात्रै मनाएर यो व्यवस्था अनि संविधान दीर्घजीवि हुँदैन ।
