सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई विभिन्नखाले ९३१ वटा मानपदवी,अलंकार र विभूषण दिने घोषणा गरेको छ । सरकारबाट विभुषित कतिपयले ‘तक्मा’ बहिष्कार गरेका छन् भने प्रबुद्ध वर्गबाट तक्मा वितरणको मापदण्डबारे प्रश्न उठाइएको छ । सरकारले विभूषण ऐन–२०६३ कै आधारमा राष्ट्रिय जीवनमा योगदान पु¥याएका व्यक्तिलाई विभूषित गरेको जिकिर गरेको छ । तर, सरकारको दावीलाई कसैले पत्याएका छैनन् । भागबण्डाको आडमा आसेपासेलाई पदक बाँडिएको,विभूषण किन दिइयो भन्ने नखुलेको तथा गलत व्यक्तिलाई विभुषित गरिएको आरोपले सामाजिक सञ्जाल रंगिएको छ ।
विभुषणलाई चलनचल्तीको भाषामा तक्का भनिन्छ । नेपाली बृहत् शब्दकोषले सेवा,वीरता,विद्धता आदिको क्षेत्रमा कुनै उल्लेखनीय काम गर्ने व्यक्तिलाई कदर वा प्रशंसा दर्शाउन सरकार वा संस्थाबाट दिइने कुनै चिन्ह अंकित मुद्राजस्तो आभूषणलाई तक्का मानेको छ । सरकारले यही परिभाषा अनुसार हालसम्मकै सबैभन्दा धेरै ९३१ वटा पदक वितरण गरेको छ । विभूषण आफैमा नगद हैन तर छातीमा टाँसिने तक्माले मान,इज्जत एवं प्रतिष्ठा प्रदान गर्छ । तर, एकैचोटी धेरै र राष्ट्रिय जीवनमा योगदान दिएकाभन्दा पनि आसेपासेलाई बाँड्दा पदकको गरीमा घट्दै गएको छ । पदक सस्तो भएको छ तर संख्या बढाउँदा बनाउँदा राज्यकोषबाट खर्च बढी भएको छ ।
हिजो पञ्चायत कालमा विभूषणको ठूलो महत्व थियो ।विभूषण लिन दौडधूप र चाकडी चल्थ्यो । गणतन्त्रपछि विभूषण वितरण व्यवस्थित बनाउने प्रयत्न पनि गरियो । तर, त्यसको कार्यान्वयन हुन सकेन । आसेपासेलाई पदक बाँड्ने परम्परा कायमै रह्यो । जुन दल सरकारमा छ, त्यसकै नजिकलाई पदक दिने परम्पराले व्यापकता पायो । योग्य व्यक्तिहरु पछि पारिए, पदक दौडधूप र चाकडी गर्नेहरुलाई पुरस्कृत गर्ने साधनमा परिणत भयो । अहिले पदक पाएकाहरुको नाम हेर्दा त्यहाँ ‘लायक’ व्यक्ति नभएका हैनन् । पदक दिनु आफैमा नराम्रो पनि हैन । राष्ट्रलाई योगदान गरेका व्यक्तिहरु सम्मानित हुनैपर्छ । तर, वितरणमा पारदर्शीता र उचित मापदण्ड कायम हुनुपर्छ । पदक मकै बाँडेजस्तो सस्तो विषय हैन र बनाइनु हुँदैन । हिजो राज्यविरुद्ध काम गरेकाहरु र कलंकका भारी बोकेकाहरुको छातीमा तक्मा भिराउनुलाई गलतमात्रै भनेर पुग्दैन, अपराध नै मान्नुपर्छ । हरेक पटक पदक वितरणमा जुन विवाद देखिएको छ, त्यसबाट राज्यले चेत्नुपर्छ । आइन्दा पदकलाई सस्तो बनाउने हैन,ओज बढाउनेतर्फ ध्यान दिनुपर्छ । प्राप्त गर्नैले भन्दा अस्वीकार गर्नेले मान–सम्मान पाउने अवस्था किन आयो भन्नेबारे घोत्लनुपर्छ । विभूषण छातीमा टाँस्ने वा घाँटीमा झुड्याउनेलाई सिंगो समाजबाट श्रद्धा प्रकट हुने एवं व्यक्ति स्वयंले गर्व महशुस गर्ने बनाउनुपर्छ ।
