४२ औं विश्व पर्यटन दिवसको छेकोमा नेपालले कोभिड–१९ को महामारीबाट ‘हामी तंग्रियौं’ र पर्यटकलाई स्वागत गर्न तत्पर छौँ भन्ने सन्देश प्रवाह गर्ने सुरसार गरेको छ । दुई मात्रा खोप लगाएका पर्यटकहरु नेपाल आउँदा क्वारेण्टिनमा बस्नु नपर्ने निर्णय गरिएको छ ।कोभिड मत्थर भएसँगै पर्यटकीय गतिविधिहरु सुचारु पनि भएका छन् । पर्यटन बजारमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यी गतिविधिहरुले ‘कोमा’मा पुगेको पर्यटन उद्योग पुनः बौरिने आशा पलाएको छ ।
र, यही उपक्रममा गण्डकी र प्रदेश नम्बर २ का व्यवसायीहरुबीच आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहकार्यको सम्झौता भएको छ । दुबै प्रदेशका मुख्यमन्त्रीको रोहबरमा भएको सहमतिमा अन्तर प्रदेश पर्यटकीय गन्तव्यको पहिचाना,प्रवद्र्धन,हवाई सेवाको निरन्तरता,सांस्कृतिक आदान–प्रदान,जानकी मन्दिरदेखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको प्रवद्र्धन गरिने उल्लेख गरिएको छ । यो सहमति कार्यान्वयन आउँदा दुबै प्रदेशका व्यवसायीहरुले लाभ लिने र पर्यटन उद्योग फस्टाउने अपेक्षा गरिएको छ । नेपालले १० वर्षे द्वन्द्व भोग्यो । द्वन्द्वको समयमा बाहिरी पर्यटक आउने वातावरण बनेन । विषमतालाई चिर्न र पर्यटन उद्योग बचाउन त्यो बेला पोखराबाट ‘जाऊँ है पोखरा’ अभियान सुरु गरियो । त्यो अभियानले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान ग¥यो । पहिला आफ्ै देश घुम्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न अभियान सफल भयो । देशका अन्य पर्यटकीय गन्तव्यहरुले पनि यस्तै अभियान सुरु गरे । अभियानले सहकार्यको परम्परालाई पनि मलजल गर्ने काम ग¥यो ।
सहकार्य बिना पर्यटन सम्भव हुँदैन । सहकार्यले पर्यटन उद्योग फस्टाउँछ । एक ठाउँमा गएका पर्यटकलाई अर्को ठाउँमा पठाउन, प्रवर्धन पनि सहकार्यबाटै सम्भव हुन्छ । अहिले प्रदेश नम्बर २ र गण्डकीबीच भएको सहमतिले दुबै प्रदेशका व्यवसायीले लाभ लिने सम्भावना रहेको छ । जानकी मन्दिर भएको प्रदेश नम्बर २ को सम्बन्ध भारतसँग रहेको छ । जानकी मन्दिर घुम्न आउने पर्यटकलाई गण्डकी प्रदेशमा रहेको मुक्तिनाथसम्म र यता आएका पर्यटकलाई जानकी मन्दिर घुम्नको लागि हवाई सम्बन्धले सहज बनाउने देखिएको छ । बितेका २ वर्ष नेपालको मात्र नभएर विश्वकै पर्यटन बजार प्रतिकूल रह्यो । कोभिडका कारण यात्रा गर्ने अवस्था रहेन । पर्यटन क्षेत्रले ठूलो क्षति व्यहो¥यो । लाखौं बेरोजगार बने । यो क्षतिको परिपूर्तिको लागि पनि गण्डकी र प्रदेश नम्बर २ को सहकार्य फलदायी हुने देखिएको छ । कागजमा गरिएको सहमति एउटा कुरा हो, त्यसलाई व्यवहारमा लागू गराउने र वास्तवमै सहकार्यको विकास गर्नको लागि भने दुबैतर्फका व्यवसायीहरुबाटै पहल हुनुपर्छ ।
