बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आलाकाँचाको संकथनबाट माथि उठ्

आलाकाँचाको संकथनबाट माथि उठ्


  • Dhorpatan News
  • असोज ११ २०७८, सोमबार

गण्डकीका सबैजसो पालिकाहरुमा नेपाली कांग्रेसको अधिवेशन सकिएको छ । लमजुङको राइनास नगरपालिकाबाहेक निर्वाचन सौहार्दपूर्ण नै देखिएको छ । अधिवेशनमा धेरैजसो ठाउँमा सर्वसम्मत र केही ठाउँमा निर्वाचनमार्फत् प्रतिनिधि चयन गरेको छ । नेपाली कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पदाधिकारीमा युवाहरु आएका छन् ।

त्यसो त,कांग्रेसको वडा इकाइको चुनावमै यो पटक युवाहरुको ठूलो आकर्षण देखियो । युवाहरुले हस्तक्षेपकारी कदम चाल्दै कतिपय ठाउँमा बृद्धहरुलाई पछाडि पारिदिए । क्षेत्रीय र वडा इकाइमा नै युवाहरु नेतृत्वमा आएपछि त्यसको असर पालिकामा पनि देखियो । सबै ठाउँ र पदमा नभए पनि धेरैजसो पालिकाहरुको नेतृत्व युवाहरुको हातमा आइपुग्यो । युवाहरुले कांग्रेसप्रतिको आकर्षणलाई अहिले अन्य राजनीतिक दलहरुले पनि चासोपूर्वक नियालिरहेका छन् । सधैं नेतृत्वमै बसिरहने पुस्ता युवाहरुले प्रदर्शन गरेको हस्तक्षेपकारी भूमिकाले तर्सिएका पनि छन् । कतिपयबाट आएको ‘उमेरले मात्रै मान्छे युवा नहुने र त्यसमा विचार चाहिने’अभिव्यक्तिमा सत्यता भएपनि त्यसमा डर मिसिएको बुझ्न गाह्रो छैन । भला, उनीहरु मुखले भने‘युवाहरु राजनीतिमा होमिनु राम्रो’ भएको प्रतिक्रिया दिनेहरु धेरै किन नहुन् ?

नेपालमा राजनीति पेशा भएको छ । एकपटक पद पाएपछि सधैं त्यही वा त्योभन्दा उच्च पदमा जानुपर्ने, विस्थापित वा बिदा लिनु नपर्ने नियतिले नेपाली राजनीति गिजोलिएको छ । सक्षम र केही गरौँ भन्ने भावना राख्ने युवाहरुले पालो कुर्नुपर्ने र माथिल्लो पदमा जान पुरानै नेताको दौराको फेरो समात्नुपर्ने भएको छ । हो, मान्छे विचारले युवा हुन्छ । राजनीतिमा युवाहरु नै आउनुपर्छ भन्ने पनि छैन तर युवाहरुमा जोश र केही गरौँ भन्ने भावना हुन्छ भन्नेमा चाहिँ कुनै विवाद छैन । त्यसैले युवाहरुलाई कार्यकारी भूमिका दिनुपर्छ । उनीहरुलाई राजनीतिमा ल्याएर विचार कार्यान्वयनको मौका दिनुपर्छ । तर, नेपालका सबैजसो राजनीतिक दलहरुमा ६० कटेका व्यक्ति नै नेतृत्वमा रहेका छन् । उनीहरु विज्ञान र प्रविधिले ल्याएको क्रान्ति बुझ्न र बदलिएको समाजको ऐना हेर्न असमर्थ छन् । युवाहरु भनेका पछि लाग्ने र उपयोग गर्ने भीड हुन्, आफू अनुकूल प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा उनीहरुको मनमा गढेको छ । त्यो मानशिकताबाट मुक्त गराउन युवाहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नैंपर्छ । ढिलो भएको छ तर नेपाली कांग्रेसमा युवाहरुले देखाएको क्रियाशिलताले अब केही होला भन्ने आशा पलाएको छ । राजनीतिमा कसैले पद देला र खाउँला भन्ने मानशिकता पाल्नु हुँदैन । आफ्नो बाटो आफै बनाउनुपर्छ र सोचहरुलाई कार्यकारी पदमा पुगेर कार्यान्वयन गर्छु भन्ने अठोट लिनुपर्छ । अहिले कांग्रेसप्रति युवाहरुले देखाएको आकर्षण फगत लाभको पद लिनको लागि मात्रै हुनुहुँदैन । पदमा पुगेकाहरुले सिर्जनशीलता देखाउन सके,नूतन आयाम खोल्न सकेमात्र युवा नेतृत्वमा पुग्नुको सार्थकता रहन्छ । हैन भने,पुनः आलाकाँचालाई नेतृत्व दिनु हँुँदैन भन्ने संकथन झन बलियो हुन्छ । त्यसैले अहिले नेतृत्वमा आएका युृवाहरुले आफूलाई प्रमाणित गर्नैैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->