बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आन्तरिक मामिलामा विदेशी नगुहार

आन्तरिक मामिलामा विदेशी नगुहार


  • Dhorpatan News
  • असोज १८ २०७८, सोमबार

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले आफ्नो पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इण्डिया नेपाल टाइज) मा नेपाली शासक र राजनीतिज्ञहरुको दोहोरो चरित्रको पर्दाफास गरिदिएका छन् । उनले प्रहरीको नेतृत्व छान्न मन्त्रीले नै सुझाव मागेको,परराष्ट्रमन्त्री भइसकेका र राष्ट्रवादी छवि बनाएका नारायणकाजी श्रेष्ठले आफूलाई खुसुखुसु भेट्ने गरेको खुलासा गरिदिएर नेपाली नेताहरुको चरित्र उदाङ्गो पारिदिएका छन् ।

रे नेपाल राजनीतिक अस्थिरताले गाँजेको बेला राजदूत बनेर नेपाल आएका थिए । नेपाली नेताहरु नै कसरी भारतको सहयोग माग्न उद्यत रहन्छन् भन्ने रञ्जित रेको दृष्टान्तले हामी कति कमजोर छौं र हाम्रा नेताहरुको हैसियत कति छ भन्ने छर्लङ्ग भएको छ । ‘गर्ने एउटा र भन्ने अर्को’ नेपाली नेताहरुको आम चरित्र हो । उनीहरु राष्ट्रियता, स्वाभिमान एवं परराष्ट्र सम्बन्धलाई आफ्नो हित अनुकूल प्रयोग गछ्र्रन् । आफूलाई हित हुँदा विदेशी गुहार्छन् र अलिकति तलमाथि हुनासाथ विदेशीलाई गाली गर्दै राष्ट्रवादी टोपलिन्छन् । यो प्रवृत्तिले नेपालको परराष्ट्र नीति गिजोलिएको मात्रै नभएर हाम्रो शाख पनि घट्दै गएको छ । नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले भर्खरै सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा नेपालको असंलग्न परराष्ट्र नीतिको व्याख्यासहित सबै मित्रराष्ट्रहरुसँग समदूरीमा रहेर सहकार्य गर्ने घोषणा गरेका छन् । अन्य नेताहरुको सार्वजनिक अभिव्यक्ति पनि उनको भन्दा फरक हुँदैन । व्यवहारमा भने नेपाल कच्चा कुटनीतिमा अभ्यस्त भइसकेको सबैले बुझेका छन् ।

अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी ) यसको पछिल्लो उदाहरण बनेको छ । आफैले माग्ने तर राष्ट्रवादको दुहाइ दिएर एमसीसीको विरोध गर्ने प्रवृत्तिले नेपाल अन्तर्राष्ट्रिय मञ्चमा कमजोर देखिएको छ । एमसीसी सम्झौता के हो भन्नेबारे सबैजसो राजनीतिज्ञले बुझेका छन्, नेपालको लागि आवश्यक छ भन्ने पनि उनीहरुलाई थाहा छ तर त्यही एमसीसीलाई उनीहरुले राजनीति हतियार बनाएर शक्ति आर्जन गर्ने माध्यम पनि बनाइदिएका छन् । राजनीतिक दलहरुको यो कच्चा निर्णयले पार्ने दूरगामी प्रभावबारे आंकलन गरिएको छैन । अन्तर्राष्ट्रिय मञ्चहरुमा गरिएका प्रतिवद्धताहरु पालना नगर्ने, अमूक देशको नजिक रहेर राजनीतिक अभिष्ट पूरा गर्न उद्यत रहनेहरुबाट न त राष्ट्रियता बलियो हुन्छ, न त नेपालको प्रतिष्ठा नै जोगिन्छ । नेपाली नेताहरुले कम्तिमा अब परराष्ट्र नीतिजस्तो संवेदनशील विषयमा साझा अवधारणा निर्माण गर्नुपर्छ । अमूक देशलाई गुहारेर वा अमूक देशलाई गाली गरेर शक्ति आर्जन गर्ने प्रवृत्ति छाड्नुपर्छ । जस्तो व्यवहार गर्ने हो, अभिव्यक्ति पनि त्यस्तै दिनुपर्छ । यसले मात्र राष्ट्रियताको सम्बद्र्धन हुन्छ । आन्तरिक मामिलामा विदेशी गुहार्ने प्रवृत्ति कम्तिमा अब रोकिनै पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->