खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसीआइजेले सार्वजनिक गरेको प्यान्डोरा पेपर्समा १६ जना नेपालीको नाम परेको छ । संसारभरका ६ सयभन्दा बढी पत्रकारले एक वर्ष लगाएर गरेको खोजबाट उनीहरुले ट्याक्स हेभन मानिने देशहरुमा पैसा राखेको खुलेको हो । १४ वटा अफसोर सेवा प्रदायक कम्पनीहरुबाट लिक भएको गोप्य दस्तावेजको आधारमा सार्वजनिक गरिएको रिपोर्टले संसारभरका ३३६ जना राजनीतिज्ञहरुले ट्याक्स हेभन मुलुकमा लगानी गरेको भेटिएको हो । ब्रिटिस भर्जिन आइल्याण्ड,साइप्रस,सिंगापुर,स्वीटजरल्याण्डजस्ता देशहरुमा करसम्बन्धी प्रावधानहरु खुकुलो छ । त्यहाँ कम्पनी दर्ता वा लगानी गर्दा नगन्यमात्रामा कर तिनुपर्छ । अवैध रुपले कमाएको पैसा त्यस्तो देशमा लगानी गर्ने र कर छल्लेहरुले त्यस्तो देशमा लगानी गर्ने गरेका छन् । ती नाम मात्रका कम्पनीकै माध्यमबाट ठूलो कारोबार गर्ने,वास्तविक रुपले आम्दानी गरिएका देशबाट बाहिर पैसा लैजाने वा अवैध रुपले आर्जन गरेको पैसालाई वैध बनाउने काममा ती कम्पनीहरु प्रयोगमा ल्याइन्छ । खासगरी भ्रष्टाचारबाट कमाएको कालोधन लुकाउनको लागि ती कम्पनीहरु प्रयोगमा आइरहेका छन् ।
नेपालका एक मात्र अर्बपति विनोद चौधरीदेखि अजयराज सुमार्गी, गोल्छा अर्गनाइजेसनका सदस्यहरुले ती देशमा कम्पनी खोलेको र त्यही कम्पनीमार्फत् आर्थिक कारोबार गरेको पाइएको छ । नेपालको कानूनले विदेशमा लगानी गर्न बन्देज लगाएको छ । तर, विनोद चौधरीले अन्य व्यक्ति प्रयोग गरेर विदेशमा लगानी गरिरहेका छन् । उनले आत्मकथामै कानूनको छिद्र प्रयोग गरेर विदेशमा लगानी गरेको र आफूले गरेको लगानीप्रति देशले गर्व गर्नुपर्ने जिकिर गरेका छन् । चौधरीको हकमा यो खुल्ला विषय भएपनि गोल्छा, अजयराज सुमार्गीलगायतका व्यक्तिको पनि विदेशमा लगानी हुनुले नेपालमा अवैध वा वैध रुपले आर्जित धन बाहिर गएको पुष्टि हुन्छ । अजयराज सुमार्गीले विदेशबाट लगानीको नाममा ठूलो रकम भित्र्याउँदा नै त्यो रकम नेपालबाट विदेश लगेर पुनः नेपालमै फर्काइएइको अनुमान गरिएको थियो । सुमार्गीले राजनीतिज्ञहरुकै कालोधन चलाएकोसम्म चर्चा चल्यो । यद्यपि, राजनीतिक दवावका कारण उनले उन्मुक्ति पाए ।
ट्रान्सपरेन्सी इण्टरनेसनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार मौलाउँदै गएको औंल्याएको छ । यती, ओम्नी, वाइडबडीजस्ता ठूला काण्डमा राजनीतिज्ञहरु नै मुछिएका छन् । उनीहरुले अवैध तरिकाले कमाएको पैसा विभिन्न बाटो हुँदै विदेशिएको आशंका गरिएको छ । अनौपचारिक अर्थतन्त्र नै करिब ४० प्रतिशत हाराहारीमा रहेको नेपालमा भ्रष्टाचारको छानविन हुन सकेकै छैन । अवैध रुपले आर्जन गर्नेहरु बढेका छन् । वैधानिक तरिकाले व्यवसाय गरेर नाफा कमाउन कसैले छेकेको पनि छैन । अवैधानिक तवरले आर्जन गर्ने, मुलुकको धनराशी विदेश लैजाने बढ्दो प्रवृत्तिले नेपालको अर्थतन्त्रलाई ठूलो असर पर्ने देखिएको छ । अर्कोतर्फ आतंकवादीहरुले अवैध किसिमले कमाएको कालोधन नेपाल भित्र्याउने र नेपाललाई अन्तर्राष्ट्रिय रुपले नै बदनाम बनाउने सम्भावन पनि उत्तिकै बढेको छ । अहिले केही नेपालीहरुले मात्रै ट्याक्स हेभनमा लगानी गरेको अवस्था छ । अंकुश नलगाए आउने दिनमा यो प्रवृत्ति बढ्ने देखिन्छ । अतः प्यान्डोरा पेपर्सले गरेको खुलासालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । अख्तियारले छानविन थाल्नुपर्छ र दोषीलाई कानूनी कारवाही गरिनुपर्छ ।
