आजबाट दशैं सुरु भएको छ । दशैं सुरु भएसँगै बजारमा कोभिडको संक्रमण बिर्सेर चहलपहल बढेको छ । मान्छेहरु किनमेलमा व्यस्त देखिएका छन् । तर,यही बेला बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको छ । तरलता अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेपको समस्या परेको छ । दशैंमा बैंक तथा वित्तीय संस्थाहरुबाट सबैभन्दा बढी पैसा निकालिन्छ । यतिबेला निक्षेप जम्मा गरेका ग्राहकहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले खालीहात फर्काएका त छैनन् तर तरलता अभाव भएकाले ठूला निक्षेपकर्ताहरुलाई रकम ननिकाल्न आग्रह गरिरहेका छन् । कतिपय बैंक, वित्तीय संस्था र सहकारीहरुले ब्याजदर नै बढी दिएर भएपनि निक्षेप जोगाउने कसरत गरेका छन् । सहकारीहरुमा पनि यतिबेला समस्या देखिएको छ । साना लगानीकर्ताको निक्षेप रहने सहकारीहरुमा यतिबेला पैसा राख्नेभन्दा निकाल्नेहरुको भीड छ । केही ठूला सहकारीहरुले माग संवोधन गरेपनि साना सहकारीहरुले ग्राहकको चित्त बुझाउन हम्मेहम्मे परेको छ । समग्रमा बैंकिङ प्रणालीमै तरलता अभाव हुँदा र ठूलो मात्रामा निक्षेप फिर्ताको माग हुँदा यो समस्या आएको हो ।
बितेका २ वर्ष कोभिड १९ का कारण आर्थिक गतिविधिहरु शुन्यप्रायः बन्न पुगे । रेमिट्यान्स वैधानिक बाटोबाट भित्रने क्रम रोकिएन र बजारले लगानी नै माग नगर्दा अत्यधिक तरलताको अवस्था सिर्जना हुनुपुग्यो । त्यो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले अधिक कर्जा प्रवाह गरे । सरकारले पनि यो अवधिमा धेरै नै राष्ट्र ऋण उठायो । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमा कर्जा–स्रोत परिचालन नीति खारेज गर्दै कर्जा–निक्षेप अनुपात कार्यान्वयनमा ल्यायो ।
कर्जा–स्रोत परिचालन नीति (सिडी रेसियो) अनुसार निक्षेपको ८०प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यसअघि कतिपय बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्ने गरेका थिए । नयाँ नियमले लगानीको व्यवस्था खुम्चिन पुगेको छ । नयाँ व्यवस्था अनुसार लगानी गर्नुपूर्व बैंकमा तोकिएको निक्षेप जम्मा भएकै हुनुपर्छ । नियम उलंघन गर्नेलाई राष्ट्र बैंकले कारवाही गर्ने चेतावनी दिएकाले बैंक तथा वित्तीय संस्थाहरुले छिद्रहरु प्रयोग गर्दै निक्षेप बढाउने काम त गरेका छन् तर प्रभावकारी हुन सकेको छैन । ब्याजदर बढाउँदा कारवाहीमा परिएला भन्ने डर एकातिर छ भने नबढाउँदा बैंकहरुले खुलेर लगानी गर्न पाएका छैनन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेपको सुरक्षाको लागि सिडी अनुपात लागु गरेको हो । जनताको पैसाको सुरक्षा हुनैपर्छ तर चाडबाडको बेला हुने तरलता अभावले बजार चलायनमान हुनबाट रोक्छ । कोभिडले निर्माणका कामहरु रोकिँदा बजारमा पूँजीको अभाव भइरहेको छ । विकास बजेट खर्च नहुँदा एकातिर राष्ट्र बैंकमा रकम थन्किनु,अर्कोतिर बजारमा तरलता अभाव हुनु पक्कै पनि राम्रो हैन । नेपाल राष्ट्र बैंकले यो समस्याको तत्काल समाधान खोज्नुपर्छ । दशैंको मुखमा बजारमा यथेष्ट पैसा परिचालन हुनुपर्छ ।
