आजबाट दशैंअन्तर्गतका विशेष दिन सुरु भएका छन् । दशमीसम्मका दिनहरुको लागि राज्यले नै सार्वजनिक बिदा घोषणा गरिदिएको छ । कोही घर सम्झेर आउँदैछन्, कोही पुगिसके । कसैले खर्चको जोहो गरिसके, कोही अझै खर्च जुटाउने अभियानमै छन् । आम नेपालीहरु गच्छेअनुसार यो पर्वसँग जोडिएकै छन् । दशैंमा हुने धार्मिक अनुष्ठान,जोडिएका आख्यान एवं गतिविधिहरुको विभिन्न कोणबाट व्याख्या गर्न सकिएला, राष्ट्रिय पर्व मान्ने किन मान्ने भन्नेमा विवाद झिक्न मिल्ला तर दशैं नेपालीहरुको पर्व भएकोमा कुनै द्धिविधा छैन । शारदीय पर्व दशैं धर्म–संस्कृतिसँग जोडिएको त छँदैछ, सामाजिक महत्व पनि उत्तिकै छ । अझ यो व्यापारीको वा वैश्विक पर्व बनेको छ । वर्षभर हुने व्यापारमध्ये आधाभन्दा बढी हिस्सा ओगटेसँगै दशैं मेरो वा तेरोको चौघेराबाट माथि उठेको छ ।
पृथक र मौलिक संस्कृति दशैंको विशेषता हो । नवदुर्गा भारतमा पनि मनाइन्छ तर नेपालले मनाउने दशैं मौलिक छ । नेपालभित्रै पनि विभिन्न जातजातिले आ–आफ्नै शैलीमा यो पर्व मनाउँछन् । कसैले सेतो टीका लगाउँछन्,कसैले रातो, कसैले अहिंसाको पर्व मान्छन्, कसैले विजयको । जातपिच्छे देखिने दशैंको विविधताले नै यो पर्व सांस्कृतिक भएको पुष्टि गर्छ । त्यसैले त, नेपालीले मात्रै नभएर विदेशीले पनि यो पर्वलाई सजिलै ग्रहण गर्छन् । दशैंको यो अर्को सुन्दर पक्ष हो । तर, यसो भनिरहँदा दशैंमा विकृति नभएको पक्कै हैन । अनावश्यक खर्च र बढ्दै गएको तडकभडकले चाड खर्चिलो र गरीबको लागि दशा बनेको छ । गरीब भएको अनुभूति गराउने र ऋण बोकाउने पर्वको रुपमा दशें विकसित हुनु राम्रो हैन । दशैंको मौलिकता भनेको आफन्तसँगको भेटघाट र गच्छेअनुसारको भोजन नै हो ।
तडकभडकलाई निरुत्साहित गरिएन भने कालान्तरमा पर्वले मौलिकता गुमाउन सक्छ । आत्मियता साँट्ने पर्वको महिमा घट्न सक्छ । अत ः दशैंको नाममा हुने अनावश्यक तडकभडक बन्द गरौं । दशैंलाई विशुद्ध मौलिक र पारिवारिक मिलनको पर्वको रुपमा मनाऔं । दशैंको सबैलाई शुभकामना !
