यो बर्ष दशै मानेर काममा फर्कने देखि बिदाको सदुपयोग गर्दै घुम्न निस्केकाहरु धेरैले बेमौषमी बिपतले ज्यान गुमाए । कैयौ मानिस बेपत्ता छन् । किसानको खेतमा लहलह झुलेका धान र काटेर खेतमा राखेको सबै धान पराल बगायो । साउन भदौमा भन्दा कात्तिकमा नदी खोलाको बहाव धेरै छ । कैयौं पक्की पुल बगेका छन् । कहिले पनि नसोसेको शरद ऋतुमा आएको बिपतले नमिठो पाठ सिकाएको छ ।
यो घटना नेपालमा शायद नौलो हो । कात्तिक लागेपछि बाढी पहिरोको प्रकोप आउने अबस्था यस अघि थिएन । बर्षातमा आउने बाढी पहिरोले भन्दा कात्तिके झरीले ठूलो क्षति भयो । सडकहरु क्षत बिक्षत भए, पहिरोले सयौं घर भत्केका छन् । पशुचौपाया मरे । मुखैमा आएको किसानको धानबाली नष्ट भयो । यसले बर्षभरी सताउनेछ । चाडपर्वमा रमाएकाहरु सजिलो गरी काममा फर्कन पाएनन् । अझै कति मानिस सडकहरुमै अलपत्र छन् । बालबालिका दुइतीन दिनदेखि भोकभोकै छन् । उनीहरुको अबस्था देख्दा निकै दुःखलाग्दो छ ।
तर यो दुःख सरकारले झण्ट देख्न सकेन । तत्काल उद्दारका काम समेत भएनन् । ढीलागरी केही स्थानमा उद्दार भएपनि ती बाध्यात्मक अबस्था भएपछि मात्रै गरेको देखिन्छ । राजमार्गहरु सहज रुपमा चालाउने, बन्द भएका स्थानमा छिटो खुलाउने काम भएको छैन । जसले गर्दा अझै कतिपय मानिस पहिरोमा फसेका छन् । कति मानिस घाइते भएर उपचारमा पुगेका छन् । उनीहरुको उपचारमा राज्यले साथ दिनुपर्ने दिएको छैन । अर्थात सरकारले राहत प्याकेज घोषणा गरेको पनि छैन ।
त्यति मात्र हैन, कुनै पनि घटना भैसकेपछि उद्दार गर्ने र खोजी नीति गर्ने काम नौलो होइन । तर राज्यले पूर्वानुमान समेत गर्न सक्नुपर्छ । त्यसमा पनि पछिल्ला केही बर्षदेख िबेमौषमी बर्षात देखि बिपतहरु ऋाउने क्रम शुृरु भएको छ । पानी पर्दैन भनेर चिनिने मुस्ताङ र मनाङमा यो बर्ष बाढीपहिरोले बितण्डा मच्चायो । अर्थात यो जलवायु परिवर्तनको सूचक हो । जलवायु परिवर्तनले गर्मी समेत बढाएको छ । तापक्रम बढेपछि उच्च हिमाली क्षेत्रमा समेत हिउँ नपरेर बर्षात हुन थालेको स्पष्ट बुझीन्छ । त्यसैले अब राज्यले बेमौषमी बिपत रोकथामकालागि पनि योजना बनाउनु पर्छ ।
मौषमी बिपतमा मसेत उचित योजना बनाएर कार्यान्वयन नभएको अबस्था बिद्यमान छ । गत बर्ष बागलुङलाई बिपत ग्रस्त क्षेत्र घोषणा गरेर पनि सरकारले कुनै प्रतिकार्य योजना, पीडितको राहत तथा पुनस्थापनामा समेत काम गरेन । उनीहरुले अझैपनि राहत र पुनस्थापनाकालागि केही सहयोग पाउन सकेका छैनन् । तर अबका दिनमा राज्यले बर्षातको मात्र योजना नबनाइ जुनसुकै बेला हुन सक्ने बिपत प्रतिकार्य योजना बनाउन जरुरी छ । साथै सुरक्षा योजनामा दु्रत टिम समेत बनउनु पर्छ । किनकी बिपत आइपरेपछि टिम खोजी गर्ने पद्दतीले नेपालमा धेरै दुर्घटना भएका छन् । तत्काल खोजी उद्दार गर्न सकियो भने ज्यान बचाउने देखि भौतिक क्षति पनि जोगाउन सकिन्छ । त्यति मात्र हैन, अब बिपतमा परेका किसानलाई सरकारले तत्काल राहतका प्याकेज ल्याउनु पर्छ । बर्षभरी दुःख गरेका किसान अहिले भोकभोकै पर्ने संभावना छ । अन्न भण्डारमा धान बगाएको छ । त्यसको असर नेपालीसबैलाई पर्ने खतरा छ । भोकमरी जोगाउन सरकारले अहिलेदेखिनै तयारी गर्नु पर्ने छ । कतिपय स्थानमा भारतले बाँध थुनिदिंदा बाढी पसेका छन् । कुटनीतिक पहल मार्फत बाँध खोल्ने र बिपतमा मिलेर प्रतिवाद गर्ने अबस्था पनि सिर्जना गर्नुपर्छ । अबका दिनमा बेमौषमी बिपतबारे राज्य बढी सचेत बन्नुपर्ने अबस्था छ ।
