बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

किसानको पीडामा मल्हम लगाऊ

किसानको पीडामा मल्हम लगाऊ


  • Dhorpatan News
  • कार्तिक ४ २०७८, बिहिबार

नेपालीहरु दर्शैको खुसीमा मग्न रहँदा आएको पानी र बाढीपहिरोले धनजनको क्षति गरायो । बेमौषमी झरी र बाढीपहिरोले गराएको क्षतिको पूर्ण विवरण आइसकेको छैन तर यसले पु¥याएको क्षति ठूलो भएको प्रारम्भिक आंकडाले पुष्टि गरेको छ । बझाङमा ठूलो मानवीय क्षति भएको छ । विभिन्न जिल्लामा भएको मानवीय क्षतिसँगै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै धानबाली सोत्तर भएको छ । पाकेको धान थक्याउने किसानको सपना चकनाचुर भएको छ । पानी पर्न छाडेको छैन,पाकेको धान ढलेको छ भने कतिपय ठाउँमा काटेको धान खेतमै असरल्ल बनेको छ । यो प्राकृतिक क्षतिले किसान निराश हुनु एकातिर छ,कृषिमा आश्रित नेपालेको समग्र आर्थिक व्यवस्थामै प्रतिकुल असर पार्ने निश्चित देखिएको छ । सयौं हेक्टर धान खेत डुबानमा पर्नु,पाकेको धानको गुणस्तर नै बिग्रने अवस्था सिर्जना हुनुको परिणाम आउँदा दिनमा देखिने नै छ । तर, यो संकटको बेला राज्यको जिम्मेबारी झन बढेको छ । प्रकृतिको निर्मम प्रहार खेपेका किसानहरुलाई राहतका कार्यक्रममार्फत् आश्वस्त तुल्याउनु र उनीहरुको पीडामा मल्हम लगाुउनु राज्यको पहिलो दायित्व हुन आएको छ ।

संकटको घडीमा राज्यको पहिलो दायित्व मानवीय क्षति कम गर्नु नै हो । यसको लागि उद्धार र उपचारलाई पहिलो प्राथमिकता दिइनुपर्छ । हराएकाहरुको खोजी गरिनुपर्छ । उनीहरुको उपचार र हेरचाहमा राज्यले सम्पूर्ण शक्ति लगाउनु जरुरी छ । अर्कोतर्फ, किसानहरुले बेमौषमी पानी र बाढीपहिरोबाट जुन क्षति व्यहोरेका छन्, त्यसको पूर्ति गरिनुपर्छ । सकेसम्म उनीहरुको बाली जोगाउने अभियान थाल्नुपर्छ भने अर्कोतर्फ राहतका प्याकेजहरु तत्काल घोषणा गरिनुपर्छ । धान नेपालको प्रमुख बालीमात्रै हैन, अर्थतन्त्रको महत्वपूर्ण अवयव पनि हो । धान उत्पादन बढ्दा देशको अर्थतन्त्र उकालो लाग्छ, धानमा क्षति हुँदा अर्थतन्त्र तल झर्छ । किसानको त के कुरा ? वर्षदिन लगाएर उब्जाएको धान नष्ट हुँदा उनीहरुको आर्थिक अवस्था बिग्रने मात्रै नभएर मानशिक अवस्थामा पनि असर पुग्न जान्छ । पुर्पुरोमा हात लगाएर बसेका निरीह किसानहरुसम्म राज्य पुग्न सकेन भने राज्य दायित्वबाट च्यूत भएको ठहर्छ ।

अतः राज्यले अविलम्ब राहतका अल्प र दीर्घकालीन कार्यक्रम घोषणा गरिनुपर्छ । घाइतेहरुको उपचार गरिनुपर्छ । घरबार गुमाएकाहरुलाई घरबार दिनुपर्छ,बालीमा पुगेको क्षतिको उचित मुआब्जा प्रदान गरिनुपर्छ र किसानको मनोवल उच्च राख्ने प्रयत्न गरिनुपर्छ । नेपालमा बाली बिमाको प्रचलन बढेपनि सबै किसानहरुकहाँ बिमा पुग्न सकेको छैन । अहिलेको घटनाबाट पाठ सिकेर प्राकृतिक विपत्तिबाट पीडित हुने किसानहरुको सुरक्षाको लागि अहिलेबाटै योजना बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->