नेपाली राष्ट्रिय फुटबल टोली पहिलो पटक दक्षिण एसियाली फुटबल फेडरेसन(साफ च्याम्पियनसीप) को फाइनलमा पुुग्यो । सेमीफाइनलभन्दा माथि जान नसकेको नेपालको फाइनल प्रवेश नै आम नेपालीलाई खुसी बनाउन पर्याप्त थियो । सम्पूर्ण नेपालीहरुले साफ च्याम्पियनसीप २०२१ मा नेपालको विजयको कामना गरे । तर, नेपाली राष्ट्रिय टोली फाइनलमा भारतसँग ३–० को हार व्यहोर्न अभिषप्त रह्यो । उपविजेतामा चित्त बुझाउँदा पनि नेपाली राष्ट्रिय टोलीप्रतिको मायामा कमी भने आएन । सुधारिएको खेल प्रदर्शन गरेका टिमका खेलाडीहरुलाई भव्य स्वागत भयो । टोलीको उत्कृष्ट प्रदर्शन र पराजयसँगै नेपाली खेलकुद पछि पर्नाका कारणहरुबारे परिचर्चा पनि सुरु भए । यो उपक्रम अझै सेलाएको छैन । तर, नेपाली फुटबल र समग्र खेलकुदको विकास कसरी गर्ने भन्नेबारे ठोस कार्यदिशा तय हुन सकेको छैन ।
साफ च्याम्पियनसीप सन् १९९७ देखि सुरु भएको हो । धेरैपछि प्रतियोगितामा सामेल भएका माल्दिभ्स,बंगलादेश र अफगानिस्तानले पनि उपाधि जितिसकेका छन् । धेरैपछि प्रतियोगितामा सामेल टिमले सफलताको कडी भनेको खेलमा ती राष्ट्रले गरेको लगानी नै हो । लगानी बिना प्रतिफल प्राप्त हुँदैन । नेपाली खेलकुद लामो समयदेखि तदर्थवाद, नातावाद र कृपावादमा चलेको छ । एकातिर खेलकुदको लागि विनियोजित बजेटको मात्रा नै कम छ भने अर्कोतर्फ ती संस्था राजनीतिक कोपभाजनमा परेका छन् । योग्यता र क्षमताको आधारमा नभइ आफू निकट व्यक्तिलाई ती संस्थाको हर्ताकर्ता बनाइएको छ । खेलकुदसम्बद्ध संस्थाहरुका हर्ताकर्ता खेलाडीको हितमा भन्दा आफ्नो अभिष्ट पूरा गर्ने ध्याउन्नमा रहेका छन् । समग्रमा खेल नै नबुझेका व्यक्तिहरुले खेलकुद क्षेत्र हाँकीरहेका छन् । सबैखाले खेलको विकासको लागि तल्लो तहबाट प्रशिक्षण, उत्पेरणा एवं व्यावसायिकता आवश्यक हुन्छ । नेपालमा खेलकुदलाई व्यावसायिक बनाउनेतर्फ कसैको ध्यान छैन । खेल गतिविधिहरु नगन्य छन् । तहका व्यावसायिक प्रतियोगिता आयोजना हुँदा खेलाडीहरुले आम्दानीको साथै खेलमा निखार ल्याउन सक्छन् । नयाँ प्रतिभा जन्मिन्छन् तर नेपालमा त्यस्तो छैन । यहाँ मुस्किलले प्रतियोगिताहरु आयोजना हुन्छन् । जसले गर्दा खेलाडीले कौशल र आर्थिक अवस्था दुबै बढाउन सक्दैनन् । तल्लो तहबाटै प्रशिक्षण एवं खेलकुदबाटै भविष्यको सुनिश्चितताको कुनै ग्यारेण्टी छैन । प्रशिक्षणले नै प्रतिभा प्रस्फुटन गराउँछ भन्ने सत्यतर्फ कसैको ध्यान नै छैन । फुटबलकै कुरा गर्दा राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु मासिक १८ हजार रुपैयाँ तलबको भरमा छन् भने खेल पदाधिकारीहरुले त्यसको कयौं गुणा बढी तलब र भत्ता लिइरहेका छन् । यो दुर्भाग्यपूर्ण अवस्था नै नेपाली फुटबलको लागि अभिसाप बनिरहेको छ ।
फुटबल एउटा निश्चित उमेरमा मात्रै खेल्न सकिन्छ । उर्जा कम भएपछि खेलाडी बाहिरिन्छ । जीवनको उर्वर कालखण्ड फुटबलमै बिताएको खेलाडी राज्यबाट केही पाउँदैन । जबसम्म खेलबाटै कसैको भविष्य सुनिश्चित हुँदैन तबसम्म खेलको विकास सम्भव छैन । अतः राज्यले खेलाडीहरुको भविष्य सुनिश्चित गराउने खालका कार्यक्रम तत्काल तय गर्नुपर्छ । तल्लो तहदेखि नै प्रशिक्षण,उमेर समूह अनुसारका व्यावसायिक प्रतियोगिता संचालन तत्काल थालनी गर्नुपर्छ । खेलकुद प्रतियोगिताको उद्घाटनमा पुगेर ‘पिर्के सलामी’खाने नेताहरुको घैंटोमा यो कुट यथार्थको घाम लाग्नैपर्छ ।अन्यथा, नेपाली फुटबलमात्रै नभएर समग्र खेलकुद क्षेत्र सधैं मुठ्ठीभरका व्यक्तिको क्रिडास्थल बनिरहन्छ ।
