न्यायालयको शाख त्यसले सम्पादन गर्ने न्याय प्रणाली एवं न्यायाधीशहरुको आचरणसँग जोडिएको हुन्छ । तर, पछिल्लो समय नेपालको न्यायालयमाथि अविश्वास बढ्दै गएको छ । बढ्दो भ्रष्टाचार, न्यायाधीशका गैरव्यावसायिक आचरण एवं कार्यपालिकामै भाग खोज्ने प्रवृत्तिले न्यायालयप्रतिको आस्था घट्दै गएको छ । भागबण्डामा न्यायाधीश नियुक्ति एवं प्रधानन्यायाधीशलाई नै मन्त्रिपरिषद्को अध्यक्ष बनाउनेजस्ता गम्भीर गल्तीका कारण अहिलेको परिस्थिति सिर्जना भएकोमा द्धिविधा छैन । तर, अहिले प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले विभिन्न मुद्दाहरुमा देखाएको रवैया, कार्यपालिकासँगको मोलमोलाइले न्यायालयको गरीमा झन घटाइदिएका छन् ।भला, प्रधानन्यायाधीशले कार्यपालिकामा भागबण्डा नखोजेको र अब मुद्दा विशेषमा हस्तक्षेप नगर्ने एवं गोला प्रथाद्धारा बेञ्च बसाउने प्रतिवद्धता जनाएकै किन नहुन्,बार र पूर्वन्यायाधीशहरु आश्वस्त हुन सकेका छैनन् । विवाद समाधान गर्न फुलकोर्ट र बारसँग छलफल गर्न प्रधानन्यायाधीश सहमत भएका छन् तर बारसँग राखिने भनिएको फुटकोर्ट बैठकमा सर्वोच्चका १४ न्यायाधीशहरु नबस्ने भएका छन् । न्यायाधीशहरुको निर्णयले प्रधानन्यायाधीश थप संकटमा परेका छन् ।
न्यायालय स्वतन्त्र हुनुपर्छ । न्यायालयमा कार्यपालिकाको छायाँ पर्नु भनेको विधिको शासनको प्रत्याभूति नहुनु हो । लोकतन्त्र कमजोर हुनु हो । कार्यसम्पादनमा न्यायालय चुक्नु, भ्रष्टाचारजस्तो जघन्य अपराधमा न्यायाधीशहरुकै नाम जोडिनुले न्यायालय बदनाम भएको छ । न्याय सुधारको लागि उचित कदम चाल्न ढिला भइसकेको छ । न्यायालयमा देखिएको भाँडभैलोले न्यायालयको भूमिका कमजोर बनाउन उद्यत सर्वसत्तावादीहरु खुसी भएका छन् ।अर्कोतर्फ न्यायालयप्रतिको घट्दो विश्वासले अराजकताको जन्म दिएको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन बिग्रिएको छ । सर्वोच्चमा देखिएको अहिलेको अन्यौलको अन्त्य गर्ने दायित्व निश्चय पनि प्रधानन्यायाधीशकै हातमा रहेको छ । समस्याको सिर्जना उनीबाटै भएको हो । हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वनय भएको भए, गोलाप्रथा लागु गर्न आनाकानी नगरेको भए र कार्यपालिकासँग अनावश्यक चोचोमोचो मिलाउने काममा संलग्न नभएको भए समस्या आउने नै थिएन । नागरिक समाज,पूर्वन्यायाधीश,बार एवं आफ्नै सहकर्मीले देखाएको अविश्वासलाई विश्वासमा परिणत गर्न एवं अदालतको शाख जोगाउन प्रधानन्यायाधीशले उचित कदम चाल्नुपर्ने भएको छ । न्यायालयलाई थप बदनाम हुनबाट जोगाउनुपर्ने देखिएको छ ।
