बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाल यौन दुराचारीविरुद्ध प्रभाकारी अभियानको खाँचो

बाल यौन दुराचारीविरुद्ध प्रभाकारी अभियानको खाँचो


  • Dhorpatan News
  • कार्तिक ९ २०७८, मंगलबार

कास्की प्रहरीले गएको शनिबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडबाट एक क्यानडेली नागरिकलाई बाल यौन शोषण गरेको अभियोगमा पक्राउ ग¥यो । प्रहरीले उनलाई आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ गरेको जानकारी दिएको छ ।
पछिल्लो घटना यो भएपनि नेपालमा पर्यटकको भेषमा रहेका बाल यौन दुराचारी पक्राउ परेको यो पहिलो घटना हैन । यीमध्ये सबैभन्दा हल्ला भएको घटना चाहिँ संयुक्त राष्ट्र संघका एक पूर्व अधिकारी पक्राउको घटना नै थियो । २ वर्षअघि पक्राउ परेका क्यानडेली नागरिक पिटर जन डाल्गलिश पटक–पटक नेपाल आएको र बाल यौन दुराचारमा संलग्न रहेको पुष्टि भएको थियो । गएको वैशाखमा पोखराको एक होमस्टेबाट अमेरिकी नागरिक माइकल नर्मन टेलर पनि सोही अभियोगमा पक्राउ परेका थिए । त्यस्तै २०७७ साल मंसिरतिर नै पोखराको खहरेबाट अर्का फ्रान्सेली नागरिकलाई पनि प्रहरीले बाल यौन दुराचारको अभियोगमा पक्राउ गरेको थियो ।

यी प्रतिनिधि घटना र क्यानडेली नागरिकको पक्राउसँगै नेपालका प्रमुख पर्यटकीय क्षेत्रमा पर्यटककै भेषमा हिँड्ने व्यक्तिहरुमध्ये केही बाल यौन दुराचारी हुनसक्ने आशंका बढेको छ । नेपाल बाल यौन दुराचारीको आकर्षक गन्तव्य बनिरहेको पुष्टि भएको छ ।खासगरी नेपालजस्तो गरीब देश दुराचारीहरुको लागि आकर्षक गन्तव्य बन्ने गरेको अध्ययनहरुले पुुिष्ट गरेका छन् । आर्थिक रुपले विपन्न बालबालिकाहरुलाई सजिलै प्रलोभनमा पार्न सकिने र विदेशी नागरिकहरुका गतिविधिहरुमाथि प्रशासनले कम चासो दिने हुँदा नेपाल उनीहरुको लागि स्वर्गजस्तै बनेको हो । बालबालिकाका परिवारले पूरा गर्न नसक्ने खालका आवश्यकता पूरा गरिदिने त्यस्ता दुराचारीहरु एक पटक नभएर पटक–पटक नेपाल आउने गरेको र कतिपयले यहीँ डेरा जमाएर कुकर्म गर्ने गरेको पनि प्रहरी अनुसन्धानले पुष्टि भएको विषय हो । सामाजिक लज्जाका कारण तथा अपराधीले कतिपय अवस्थामा परिवारलाई नै प्रभावमा पार्ने हुँदा यस्ता सबै घटना बाहिर आउन नसकेको प्रहरीको बुझाइ रहेको छ । बाल यौन दुराचारको विरुद्धमा काम गर्ने संस्था इसिपिएटीका अनुसार २०७२ सालको भूकम्पपछि ‘स्वयंसेवक पर्यटन’ को आवरणमा पनि बालबालिकामाथि यौन शोषण हुने गरेको थियो । नेपाल यस्ता अपराधीहरुको लागि आकर्षक गन्तव्य बनेसँगै प्रहरीको सक्रियता जरुरी छ । यसैगरी अभिभावकहरु झन चनाखो हुनुपर्ने एवं आफ्नो टोल र छिमेकमा बसेको विदेशी नागरिकका गतिविधिहरुलाई नजरअन्दाज गर्न नहुने देखिएको छ ।

नेपालको कानूनले बाल यौन दुराचारलाई अपराध नै मानेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अंग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ ।
निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा समेत यौन दुराचार मानिने उक्त ऐनले बताएको छ । बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । बाल यौन दुराचारविरुद्धका अभियन्ताहरुले यो कानूनी व्यवस्था अन्य देशको तुलनामा फितलो भएको बताउँदै आएका छन् । तर, बुझ्नुपर्ने के छ भने, नेपाल आउने सबै पर्यटकहरु यहाँकको सुन्दरता हेर्नमात्रै आउँदैनन् । कलुषित भावना बोकेर आउने पर्यटकलाई बेलैमा चिन्नु र उनीहरुका यस्ता अवाञ्छित गतिविधिमा रोक लगाउन प्रभावकारी अभियान जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->