आउँदो सोमबारदेखि स्कटल्याण्डको ग्लास्कोमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि को २५ औं सम्मलेन, कोप–२६ अन्तर्गतको वल्र्ड लिडर समिट सुरु भएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा सोही सम्मेलनमा भाग लिन यतिबेला बेलायतमा छन् । विश्वका सर्वोच्च नेताहरुको जमघटको पूर्वसन्ध्यामा नेपालका चर्चित अभिनेता निर शाहले डाइनासरको माध्यमबाट मानव जीवन समाप्त नगर्न नेपालीमा गरेको आग्रहको सर्वत्र प्रशंसा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सो सम्मलेनमा सम्मेलन गर्ने र नेपालको तर्फबाट जलवायु परिवर्तनबारेको धारणा सार्वजनिक गर्नेछन् ।
यतिबेला विश्वभर तापक्रम बढ्ने क्रम निरन्तर उकालो लागिरहेको छ । तापमान परिवर्तनले विश्वभर प्रभाव पारेको छ । हरित ग्यास उत्सर्जनले गर्दा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढेको छ । वायुमण्डलमा कार्बनको मात्रा बढ्दा जलवायुको चक्र बिथोलिएको छ । गर्मी बढेको छ । कुसमयमा पानी पर्ने, बाढी आउने तथा अनावृष्टिका घटनाहरुले सिंगो पृथ्वीको भविष्य संकटमा पर्दै गएको छ । बढी पानी परेका कारण समुद्री तटमा रहेका सहरहरु डुवानमा पर्दै गएका छन्, यही गतिले परिवर्तन कायम रहे केही वर्षभित्र हाल अस्तित्वमा रहेका सहरहरु समुद्रमा डुब्ने छन् । यसैगरी कम पानी पर्नाले संसारका विभिन्न ठाउँहरुमा पानीका मुल सुकेका छन् । पानीको अभावले बस्ती उजाड बन्ने अवस्था सिर्जना भएको छ । नेपालकै सन्दर्भचाहिँ जलवायू परिर्वतनले हिमालहरु पग्लिन थालेका छन् । कहिल्यै लामखुट्टे नदेखिने हिमाली भेगमा लामखुट्टेको बिगबिगी भएको छ भने हिमाली क्षेत्रमा बढी पानी पर्नाले त्यहाँको वातारणीय चक्र नै बिथोलिएको छ । तीव्र गतिको औद्योगिकीकरणमा रहेका चीन र भारतको बीचमा रहेको हिमाली देश नेपाल उनीहरुले उत्सर्जन गरेको कार्बनकै कारण झन संकटमा परेको छ । नेपालमा रहेका हिमालहरु नेपालकै मात्र सम्पत्ति हैनन् । यी हिमालसँग त्यहाँबाट उत्पन्न हुने जल वा नदी सभ्यतासँग जोडिएका विश्वका अरबौं मान्छेहरु प्रभावित भइरहेका छन् । यो समस्या अझ बल्झिने हो भने नेपालसँगै सिंगो दक्षिण एसियाले अपूरणीय क्षति व्यहोर्ने निश्चित छ ।
अत ः अहिले देखिएको जलवायु परिवर्तनको समस्या हाम्रोमात्रै नभएर सिंगो विश्वको समस्या हो । विकशित देशहरुले कार्बन उत्सर्जनसहित प्रकृतिको अति दोहन गरेकै कारण यो समस्या निम्तिएको हो । पृथ्वीका यावत् जीवजन्तु र मानव सभ्यता नै विनाश गराउन उद्यत रहेको यो समस्या समाधानको लागि सिंगो विश्वले नै हातेमालो गर्नुपर्छ । विश्वका सबै देशहरुको हातेमालो बिना जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न सकिँदैन । नेपाल जलवायु परिवर्तनले सबैभन्दा बढी असर पारेको देश हो । हरित ग्यास उत्सर्जन नै नगर्दा पनि नेपालले संकट भोग्नु परेको छ । प्रधानमन्त्री देउवाले सम्मेलनमा जलवायु परिवर्तनले पारेका असर न्यूनीकरणको लागि विश्वलाई आह्वान गर्नुकासाथै कार्बन उत्सर्जन गर्ने देशहरुबाट पाउनुपर्ने सुविधाको लागि पनि लविङ गर्नुपर्छ । जलवायु परिवर्तनको यो शिखर सम्मेलन भ्रमणको लागि भ्रमणमा सीमित हुनुहुँदैन ।
