उज्यालोको पर्व हो–तिहार । झिलिमिली उज्यालो बोकेर आउने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको आत्मिययता झल्काउने चाड पनि हो, यो । तिहार नेपालीको मौलिक पर्व हो । तिहारमा खेलिने भैलो र देउसी अनि भाइटीका संसारका अन्यत्र छैन । भारतमा पनि दीपावली मनाइन्छ तर नेपालमा मनाइने तिहार त्योभन्दा पृथक रहेको छ । नेपाली तिहार वा दीपावलीमा रहेको यही पृथकताले नै शारदीय पर्वलाई नेपालीको बनाएको छ ।
कात्तिक शुक्ल त्रयोदशीदेखि शुक्ल द्धितीयासम्मका ५ दिन मनाइने तिहारमा काग, कुकुर,गाईगोरुको पूजा गरिन्छ । पंक्षी र जनावरको पूजा भनेको प्रकृतिको पूजा हो । पृथ्वीमा रहेका सबैजसो जीवजन्तु र पशुपंक्षीको अस्तित्व र महत्वलाई तिहारले स्वीकारेको छ । समृद्धिको लागि लक्ष्मी र दीर्घायूको लागि यमराजको पूजा गरिनु यो पर्वको अर्को विशेषता हो ।हरेकजसो चाडका आफ्नै मौलिक विशेषता र महत्व हुन्छन् । तिहारले देश–विदेशमा रहेका दाजुभाइ र दिदीबहिनीलाई एकैठाउँमा भेट गराउने तथा उनीहरुबीच आत्मियता बढाउन मद्दत गर्छ ।
सेलरोटीलगायत स्वादिष्ट परिकारहरु खाने, देउसी र भैलोमार्फत् आशीर्वाद दिने एवं रोंटे र लिंगेपिङमा मच्चिने मनोरञ्जनात्मक गतिविधिहरु पनि तिहारका रमाइला पक्ष हुन् । चाडपर्वको सांस्कृतिक, आर्थिक,सामाजिक,आध्यात्मिक पक्षहरु हुन्छन् । नेपालजस्तो बहुधार्मिक,सांस्कृतिक देशमा मनाइने पर्वहरुमा हुने आर्थिक गतिविधिहरुले चाडलाई सबैको बनाउन मद्दत पु¥याएको हुन्छ । दशैं र तिहार हिन्दुहरुको चाड भएपनि यी दुई चाडको छेकोमा हुने आर्थिक गतिविधिले दुबै चाडलाई राष्ट्रिय महत्वको बनाएको हो ।
पछिल्लो समयमा हरेक चाडपर्वमा विकृति पनि मिसिन थालेको छ ।जुवातास तिहारमा मिसिएको यस्तै विकृति हो । जुवातासले कसैको हित गर्दैन । तिहारमा जुवा खेल्नैपर्छ भन्ने जुन संकथन निर्माण भएको छ, त्यो गलत छ । अर्कोतर्फ तिहारको छेकोमा खेलिने भैलो र देउसीलाई तडकभडकपूर्ण बनाइनु हुँदैन । देउसी र भैलौमा रहेको मौलिकता बिर्सेर अन्धाधुन्ध विदेशीको नक्कल गरिनु मौलिकता मास्नु हो । तिहारको माचोले छोपिसकेको छ । तिहारसँगै नेवारी समुदायको नेपाल संवत्, मधेशमा मनाइने छठ पनि ढोकैमा आएका छन् । नेपालमा मनाइने यी चाडहरु आपसी भाइचार अभिवृद्धिका कारक बनून् । तिहार, नेपाल संवत् र छठको सबैमा हार्दिक मंगलमय शुभकामना ।
