पर्यटन समृद्ध नेपालको आधारशिला हो । पर्यटनको विश्व बजारमा नेपाल आरोहण र पदयात्राकै लागि चर्चित रहेको छ । आरोहण र पदयात्रा नेपालको विशेषता हो तर यहाँको संस्कृति र रहनसहन पनि हाम्रा विशेषता हुन् । संस्कृति र रहनसहनले मानिससँग घुलमिल हुन चाहने पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । बहुधार्मिक,बहुसांस्कृतिक तथा बहुभाषिक विशेषतालाई नेपालले पर्यटनको नयाँ ‘उत्पादन’को रुपमा बेच्न सक्छ । सेवाबाटै सन्तुष्टि दिनु पर्यटन उद्योगको विशेषता हो । सेवाबाट सन्तुष्ट भएका पर्यटकहरुले आफ्नो नेपाल बसाइ लम्ब्याउँदा नेपालीलाई आर्थिक उपार्जन हुन्छ । तर, दुःखका साथ भन्नुपर्छ, नेपालमा एउटा पर्यटकको सरदर बसाइ १२ दिनको हाराहारी र खर्च दैनिक ४० डलरभन्दा माथि उकाल्न सकिएको छैन । पदयात्रा मार्गहरु छोट्टिएको असर पूर्तिको लागि वैकल्पिक पदयात्रा मार्गहरुको विकास हुन सकेको छैन । नेपालका सहर र गाउँमा पर्यटकहरुको मन अड्याउने वातावरण निर्माणतर्फ कसैको ध्यान गएको छैन । देशमा पर्यटक आउनु एउटा पाटो हो,उनीहरुको बसाइ र गर्ने खर्चले अर्को कुरा हो । जबसम्म पर्यटकको बसाइ लम्ब्याउन र बढी खर्च गराउन सकिँदैन तबसम्म पर्यटनबाट सोचेजस्तो लाभ हुन सक्दैन । परम्परागत पदयात्रा मार्गहरु नासिँदै गएको बेला पर्यटकलाई यहीँ रोक्न संस्कृतिलाई पर्यटनसँग जोड्ने पहल गर्नुपर्छ ।
नेपालको संस्कृति अनौठो र अलौकिक छ । यहाँ मनाइने चाडपर्वहरु र खाइने परिकारहरुको छुट्टै विशेषता छ । नेपाल आएका पर्यटकहरुलाई संस्कृति र मानवीय गतिविधिसँग हेलमेल गराउन सकियो भने निश्चय पनि यसले प्रवद्र्धनकै काम गर्छ ।अझ, मान्छे–मान्छेबीच सम्बन्ध जोड्न सकियो भने त्यही साइनोले कालान्तरसम्म आउजाउ चलिरहन्छ । नेपालको पर्यटन उद्योगले यो पक्षलाई खासै महत्व दिएको छैन । यद्यपि,पहल नै नभएको चाहिँ पक्कै हैन । पश्चिमाञ्चल होटल संघले १४ वर्षअघि नै भाइटीका महोत्सवको आयोजना गरेर विदेशी पर्यटकलाई नेपाली संस्कृति चिनाउने पहल सुरु गरेको थियो । विदेशी दाजुभाइलाई नेपाली चेलीले भाइटीका लगाउँदा नेपाली संस्कृतिबारे उनीहरुलाई जानकारी हुनेमात्रै नभएर आत्मियतामा पनि वृद्धि हुन्छ । मान्छे–मान्छेबीचको सम्बन्ध कालान्तरमा पर्यटन प्रवद्र्धनको माध्यम बन्छ । होटल संघले सुरु गरेको यो अभियान अनुकरणीय र सह्रानीय छ । नेपालका हरेक संस्कृतिहरुलाई यसरी नै प्रवद्र्धन गर्न सकियो भने त्यसले पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्नेमा द्धिविधा छैन । सधैं हिमाल र ताल देखाएर पर्यटन उद्योग फस्टाउँदैन । पर्यटनलाई मानवीय गतिविधिसँग जोड्नैपर्छ । संस्कृतिका हरेक पाटा र आयामहरुलाई आतिथ्यता र व्यवसायसँग जोड्नैपर्छ । पर्यटन प्रवद्र्धनमा अब नूतन सोचका साथ काम गर्नैपर्छ ।
