नेपालीहरुका महान चाडपर्वहरु सकिएका छन् । समग्रतामा अब हिउँद लागेको छ । नेपाली परंपरा अनुसार हिउँद लागेपछि माइत जानु, बर्षा लागे घर जानु भन्ने उक्ती छ । उक्त उक्तीले हिउँद फुर्सदको समय हो । फुर्सदमा विभिन्न स्थानमा घुम्न जाने नेपाली परंपरा नै हो । पहिला पहिला तीर्थाटन जाने चलन थियो भने आजकल भर्जिन र केही महत्वपूर्ण गन्तव्यमा घुम्ने लहर बढी छ ।
यस्तै लहरमा नेपाल सरकारले घोषणा गरेका, प्रदेश सरकारले सूचिकृत गरेका र पालिका तहले पनि लगानी गरेर गन्तव्य बनाएका स्थानमा आन्तरिक पर्यटक घुम्न जान थालेका छन् । साथै कतिपय पहिचानका योजना र बिकास निर्माणलेपनि घुम्ने संस्कृतिको बिकास गरेको छ । बागलुङ र धौलागिरि क्षेत्रमापनि अब हिउँदमा घुम्ने धेरै स्थान छन् । ती मध्ये मुस्ताङ मंसिरको दोश्रो साता सम्म मात्रै हो । हिउँ पर्न थालेपछि माथिल्लो मुस्ताङ घुम्न सकिंदैन । ढोरपाटन अर्को गन्तव्य हो । सिकार आरक्ष समेत भएकोले बिदेशी सिकारीहरु आइसकेका छन् । उनीहरुको अभियान सँगै आन्तरिक पर्यटकको पनि यहाँ घुइचो लाग्न थालेको छ ।
बागलुङको गलकोट र तारखोला क्षेत्रमा घुम्न रुचाउनेको पनि कमी छैन । हरेक पालिकामा दुइचारवटा गन्तव्यमा अहिले पनि पर्यटकको चहलपहल बढीनै छ । अर्थात अब पर्यटन प्रवद्र्धनको क्रियाकलाप अगाडि बढेको छ । लामो समय कोरोनाले गाँजेको नेपाली समाज बिस्तारै खुकुलो बन्दै छ । चहलपहल बढेको छ । तर पनि फेरी स्वतन्त्र र भयरहित अबस्था भैसकेको छैन । छिमेकी भारतमा कोरोना संक्रमण शुन्यतामा नझरेसम्म नेपालमा पनि निरन्तर खतरा रहीरहन्छ । किनकी रोजगारीको सिलसिलामा गाउँगाउँबाट भारत जानेको लर्को लाग्छ । नेपालकै मुख्य सहरी क्षेत्रपनि जोखिम युक्त छन् । ती क्षेत्रबाट निरन्तर मानिसको आउजाउले केही समस्या ल्याउन सक्छ ।
कोरोना संक्रमण अब भय र डरको बिषय भन्दापनि अब सर्तकताको बिषय बन्नुपर्छ । कतिपय स्थानमा यो क्रम शुरु पनि भएको छ । अर्थात सरसफाइ र सर्तकताले अन्य रोगबाट पनि मानिसलाई बचाउँछ । अर्थात सर्तकता अपनाएर मात्रै अबका पर्यटकीय गन्तव्यहरु खुला गर्दा सबै सुरक्षित बन्ने अबस्था सिर्जना हुन्छ । ग्रामीण क्षेत्रका होमस्टेहरु खुल्ने क्रम छ । त्यहाँ पुग्ने सहरीयाले पनि सर्तकता अपनाएको खण्डमा ग्रामीण क्षेत्रमा संक्रमणबाट जोगिन सकिन्छ । अर्थात सबै प्रकारका सर्तकताले नेपालीहरु कोरोनाबाट सुरक्षित बन्न सक्छन् ।
सरकारले तोकेका मापदण्डहरु जुनसुकै बेला पालना गर्ने र पर्यटन सहितका मेलामहोत्सव गर्न सकेमा अर्थतन्त्र चलायमान हुन्छ । हिउँद भनेको मेलामहोत्सवको समय पनि हो । यो बेला चिसो समय रहन्छ । चिसोको कारण अन्य रोगको पनि जोखिम उत्तिकै हुन्छ । खानपान र सरसफाइमा सबैले ध्यान दिंदा मेलामहोत्सव पनि सफल हुने र संघसंस्थाको गरिमा पनि बढ्ने हुन्छ । भ्रमणलाई व्यवस्थित बनाउन हरेक होटल तथा होमस्टे संचालकले पनि ध्यान पु¥याउन जरुरी छ । कमाइ हुन्छ भन्दैमा लापरबाही नगर्ने, स्वास्थ्य मापदण्ड पालनामा चनाखो बन्ने र पाहुना स्वागतका शैलीमा केही परिवर्तन गर्ने बानी बसाल्नु आवस्यक छ । यद्यपी खोप लगाएकोले कतिपय लापरबाहीकै बाबजुत मानिसहरु संक्रमण हुनबाट जोखिएका छन् । त्यो अबस्थालाई लापरबाही गर्ने अबस्था छैन । अर्थात फेरीपनि संक्रमणहरुबाट जोगिंदै घुम्ने संस्कृतिलाई व्यवस्थित गर्न सबैको चासो र चिन्तन आबस्यक छ ।
