बागलुङ -गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले लोकतन्त्रको पहरेदार सञ्चार क्षेत्र भएको बताएका छन् । उनले लुकेका आवाज बाहिर ल्याएर विकास, जागरण र सशक्तिकरणमा पनि सञ्चार माध्यमले महत्वपूर्ण काम गरेको बताए ।
शनिबार धौलागिरि एफएमको १७ औं वार्षिकोत्सव उद्घाटन गर्दै मन्त्री कँडेलले समाजमा बढ्दै गरेको भड्काउ प्रवृत्तिलाई चिर्न पनि पत्रकारिता र सञ्चार माध्यम नै जागरुक हुनुपर्ने बताए । उनले पत्रकारिताको बदनाम हुने गरी सामाजिक सञ्जालमा आउने उग्र सोच र भड्काउ प्रवृत्तिको विरोधसमेत गरेका थिए ।
मन्त्री कँडेलले नेपालमा बढिरहेको असन्तुष्टिका आधारहरु केलाउन सञ्चार माध्यम सक्षम हुनुपर्ने धारणा राखेका थिए । ‘अहिले संघीयता विरोधी आवाज पनि उठिरहेका छन् । तर, ती विषय जायज हुन वा होइनन् भन्ने विश्लेषण गर्ने र राजनीतिक बहस उठाउने काम पनि मिडियाको हो,’ उनले भने, ‘भर्खरको अनुभव र अभ्यासमा रहेकोले हुने त्रुटिलाई ठूलो बनाउने र राम्रा कामको प्रचार नगर्ने पद्दतिविरुद्ध व्यवसायिक पत्रकारिता लाग्नुपर्छ ।’ उनले धौलागिरि एफएमले सशस्त्र द्वन्द्वको समयदेखि नै सूचना र सञ्चारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
लोकतन्त्र ल्याउने आन्दोलनमा पत्रकार र सञ्चार माध्यमले पनि दलको पक्षमा वकालत गरेको उनले स्मरण गरेका थिए । उच्च कर्मचारी तन्त्रबाट पनि संघीयता कार्यान्वयन गर्न नखोजेको टिप्पणी गरेका थिए । त्यस्ता विषयमा आउने भ्रम चिर्न पत्रकारिता सक्रिय बन्नुपर्ने उनको धारणा थियो ।
धौलागिरि एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, पत्रकार तारानाथ आचार्यको संचालन र स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागतमा सम्पनन कार्यक्रममा गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष ज्ञामनाथ गैरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नविन शिसिर बिक, पत्रकार दुर्गाप्रसाद शर्मा, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एफएमले तयार पारेको सामाजिक नाटक पनि प्रर्दशन गरिएको थियो । वार्षिकोत्सवको अबसर पारेर एफएमले मैत्रीपूर्ण फुटसल प्रतियोगिता, गजल प्रतियोगिता तथा अन्य विविध कार्यक्रम सम्पन्न गरेको थियो ।





