राणाकालीन समयमा न्याय र कानुन राणाहरुको मुखमा थियो । बोली नै कानुन हुने त्यो जमानामा रैतीहरुलाई राज्यसत्तामा बस्नेहरुका सेवक बन्न बाध्य पारिन्थ्यो । उनीहरु शासकलाई बेठ र उपहार बुझाउँथे । आफ्नो खेतबारीमा खेती लगाउनुअघि सत्ता रिझाउनुपर्ने त्यो बाध्यता राणा शासनसँगै हट्यो । तर, प्रवृत्ति भने रहीरह्यो । पंचायतको के कुरारुलोकतन्त्रमा पनि यो प्रवृत्ति उस्तै गरि झांगिएको छ । राजनीतिक दलका नेता(जो आफुलाई परिवर्तनका संवाहक मान्छ्न्, उनीहरु नै अहिले नयाँ सामन्त भएर उदाएका छ्न् ।
जनताका असली प्रतिनिधि जिकिर गर्ने उनीहरुको शैली सामन्तको भन्दा कम छैन ।आफू अग्लो आसनमा बस्ने र अरुलाई कुर्सीमै विभेद गर्ने,आलिशान बंगला र गाडीमा सवार हुने र फरक विचारलाई निषेध गर्ने प्रवृत्ति झांगिँदो छ । समाजमा राजनीतिक नेताको रुपमा नयाँ वर्गको उदय भएको छ । जसले नागरिकलाई दासजस्तै मान्न थालेको छ । कुशासन ,भ्रष्टाचार र अनियमिततामा लिप्त त्यो वर्गकै कारण देश अधोगतितर्फ लागेको छ । कुशासनका परिणामहरुले कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका ध्वस्त बनाउन खोजेको छ ।
राजनीतिक नेतृत्वले गलत सम्झौता गरेकैले यतिबेला न्यायालय बदनाम बनेको हो । न्यायाधीश नियुक्तिमा भागबण्डा गर्ने,नियुक्त भएका न्यायाधीशलाई पार्टी कार्यालय लगेर सपथ खुवाउनेजस्ता कार्यबाट सर्वोच्च अदालतको गरिमा घटाउने काम गरियो ।सर्वोच्चका प्रधानन्यायाधीशसँग संवैधानिक नियुक्तिमा भागबन्डा गरियो । हुँदाहुँदा प्रधानन्यायाधीशले कार्यपालिकामै भागबण्डा माग्ने अवस्था आयो । समग्रमा न्यायपालिकामा पनि विकृति भित्रियो । यतिबेला सर्वोच्च अदालतमा भद्दा नाटक मंचन भइरहेको छ । न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र समसेरको राजीनामा माग्दै वकिलहरु आन्दोलित छ्न् । प्रधानन्यायाधीश मुलगेटबाट नभएर अर्को गेटबाट अदालत पस्दै आएका छ्न् ।
प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन हुँदा त्यहाँ रमिता चलेको छ । तर, केही नेताहरुका व्यक्तिगत अभिव्यक्तिलाई छाड्दा,यस्तो संवेदनशील विषयबारे राजनीतिक नेतृत्व धारणाविहीन छ । सर्वोच्चमा देखिएको भाँडभैलोलाई राजनीतिक नेतृत्वले नजरअन्दाज गरिरहेको छ रुप्रश्न र आशंका यहीँनेर छ । अब,अति भएको छ । देशका सबै अंग असफल बनाउने प्रपंचविरुद्द नागरिकहरु मुखरित हुनुपर्ने देखिएको छ । गलतलाई गलत नै हो भन्ने र नेताहरुसँग प्रश्न गर्ने नागरिक अधिकार हो । यही अधिकारको उपयोगलेमात्रै विकृतिमाथि लगाम लगाउन सकिन्छ ।
