बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दाताको भरमा संस्कृत पाठशाला

दाताको भरमा संस्कृत पाठशाला

भुकम्पले जिर्ण मन्दिर दाताले बनाईदिने  ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७८, बुधबार

बागलुङ/ स–साना बालकहरु आवासिय सुविधाका साथ संस्कृत भाषाको अध्ययन गर्छन् । संस्कृतको अध्यापन गराउने गुरुबाहेक अंग्रेजी र गणित तथा अन्य विषयहरु अध्ययन गराउने शिक्षकहरु पनि छन् ।
चार जना शिक्षकले सात कक्षासम्म पढाउँछन् । जिर्ण हरिहर मन्दिर परिसरमा रहेका स–साना कोठाहरुमा सुन्दर भविश्य खोजीरहेका छन् बालकहरु । खाना, बस्न र कक्षा ७ सम्मको अध्ययन सबै निशुल्क हुन्छ तर हरेक दिन दाताको भरमा !

बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा रहेको जैमिनी संस्कृत पाठशाला मन्दिरमा चड्ने भेटी र दाताको सहयोगकै भरमा सञ्चालन हुँदै आएको छ । दमेकमा रकेको हरिहर मन्दिर परिसरमा रहेको पाठशाला २०४९ साल यता दाताकै भरमा सञ्चालनमा छ । ‘कसै छाक कटाएर दिनुहुन्छ, कसैले फजुल खर्च कटाएर दिएको दानका भरमा छ, बिद्यालय’ विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण रिजालले भने ‘गुरुहरुको पारिश्रमिकको लागि समेत दाताकै भर छ ।’ विद्यालयले बेला बेलामा महापुराण, सप्ताह, गणेश पुराण लगायतका धार्मिक कार्यमार्फत जम्मा भएको दान दक्षिणाबाट समेत खर्च जुटाउने गरेको छ ।

विद्यालयमा २२ जना बालकहरुले अध्ययन गर्छन् । एक जना शिक्षकको दरबन्दी रहेको विद्यालयका लागि एक जना राहत दरबन्दी एक जना करारमा जैमिनी नगरपालिकाले उपलव्ध गराएको छभने एक जना महर्षी फाउण्डेसनले संस्कृत भाषाका गुरुको दरबन्दी दिएको छ । तर तोकिएर आएको पारिश्रमिकले मात्रै पाठशालाको खर्च चल्दैन् ।

‘समुदायको निरन्तरको प्रयास र सहयोगले मात्रै विद्यालय चलेको छ’ रिजालले भने ‘जिर्ण भएका भवन र मन्दिर बनाउन सकिएको छैन ।’ २०४२ सालमा जैमिनी ऋषिको तपस्यास्थल जैमिनीधाममा स्थापना भएको विद्यालय २०४९ सालमा दमेकमा स्थानान्तरण भएको थियो । जैमिनीधाममा स्रोत जुटाएर पठनपाठन सञ्चालन गर्न कठिन भएपछि विद्यालय दमेकमा स्थानान्त्रण भएको थियो ।

हरिहर मन्दिर व्यवस्थापन समितिको मातहतमा सञ्चालन हुने भएपनि मन्दिरको गुठी नरहेको र भेटीसमेत कम चड्ने भएकाले विद्यालय चलाउन समस्या हुने गरेको उनले सुनाए । दमेक र आसपासका क्षेत्रबाट पेशा व्यवसायमा लागेकाहरुले विद्यार्थीको लागि आवश्यक खाद्यान्न, लत्ता कपडा, नगदलगायतका सामग्री बेला बेलामा सहयोग गर्ने गरेका छन् । नियमित आम्दानीको स्रोत विद्यालयसँग छैन् ।

भुकम्पले जिर्ण मन्दिर दाताले बनाईदिने  ।

दैनिक पाठ, पुजा र पठनपाठनकै लागि खर्च अभाव भोगिरहेको विद्यालयले परिसरमा रहेको मन्दिर पुननिर्माणका लागि पनि दाता भेटेको छ । दमेक घर भई काठमाण्डौमा पेशा व्यवसाय गर्दै आएका माधव सापकोटाले हरिहर मन्दिरको पुननिर्माण गर्ने भएका हुन् । भुकम्पका बेला हल्लिएर जिर्ण भएको मन्दिर विद्यालयले पुननिर्माण गर्न सकेको थिएन् ।

सरोकारवाला निकायको कम चासोका कारण पुननिर्माणको सूचिमा समेत नपरेको मन्दिर सापकोटाले व्यक्तिगत खर्चमा पुन निर्माण गर्ने भएका हुन् । दुई महिनामा पुननिर्माणको काम सक्नेगरी मन्दिरको शिलान्यास भएको छ ।
‘मन्दिर पुननिर्माण गर्दा लाग्ने खर्च सबै व्यक्तिगत हुन्छ, अहिले मुल्य नतोकौं’ सापकोटाले भने ‘हामी जतिसक्दो छिटो मन्दिर तयार गर्छौं ।’ स्थानीयका अनुसार मन्दिरको पुननिर्माणका लागि २० देखि २२ लाख खर्च हुने अनुमान गरिएको छ । मन्दिरको शिलान्याश गर्दै सापकोटाले जन्मभुमीमा सहयोगापेक्षी विद्यालय र मन्दिरलाई सहयोग गर्ने आफ्नो कर्तव्य भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->