पर्वत/ पर्वतमा क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रिया सुरु भएको छ ।
झन्डै ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबहरूले ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।
सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सुरु गर्न लागिएको भएपनि जडानको काम कहिले सकिन्छ भन्ने यकिन भएको छैन । कम्प्रेसर मेसिनसहितका उपकरणहरू जडान भएपनि त्यसको सञ्चालनको लागि दुई सय २० भोल्ट माथिको विद्युत आपूर्ति र छुट्टै ट्रान्सफर्मर सहितका विद्युतीय उपकरणहरू आवश्यक पर्छ । त्यसको व्यवस्थापन भने भएको छैन । ‘पर्वतका आठ वटा लायन्स क्लबको सहयोगमा आएको कम्प्रेसर र नेपाल मेडिकल एसोसिएसनबाट प्राप्त भएको प्लान्ट जडानको प्रक्रिया सुरु हुँदैछ । पूरा भएपछि अक्सिजन भर्नका लागि सिलिन्डर पोखरा पठाउनुपर्ने बाध्यता हट्ने छ’, डा. पौडेल भन्छन्, ‘तर यो जडानको काम गर्न नै केही समय लाग्छ । अस्पतालमा आफै अक्सिजन भर्न सुरु भएको छ भन्ने भ्रम नहोस् । यो काम पूरा गर्नका लागि पनि धेरै आवश्यक कुराहरूको व्यवस्थापन आवश्यक छ ।’
विद्युतीय आपूर्तिको व्यवस्था मिलाउन १२ लाख भन्दा बढीको लागत लाग्ने अनुमान गरिएको छ । त्यो खर्च अस्पतालले नै व्यहोर्नुपर्छ । डा. पौडेलका अनुसार जडान गर्न लागिएको प्लान्टबाट एक दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । त,र कम्प्रेसरले एक दिनमा कति सिलिन्डर ग्यास भर्न सक्छ भन्ने कुरा जडानको काम सकेपछि इन्जिनियरले गर्ने प्राविधिक जाँचपछि मात्रै यकिन हुने छ ।
अहिले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवनमा नजोडी अस्पतालका नयाँ भवनहरूमा जडान गर्न लागिएको छ । १५ शैय्या क्षमतामा रहेको अस्पताल ५० शैय्या क्षमतामा स्तरोन्नति गर्नका लागि नयाँ भवन बनाइएको हो ।अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ । बिरामीलाई अक्सिजनको आवश्यकता भएको अवस्थामा सिलिन्डरमा भरेर ल्याएको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था छ ।





