बागलुङ/ धावन मार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । बागलुङ नगरपालिका र यहाँका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् ।
नेपाल एयरलायन्सले बलेवामा उडान गर्नका लागि प्रस्ताव गरेकाले काम सकिँदा बित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । कालोपत्रेको काम सुरु हुनुपूर्व नगर आफैले एयरलायन्स कम्पनीको घाटा व्यहोर्ने गरी विमानस्थल सञ्चालनमा ल्याएको थियो । ‘नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरुसँग पनि कुराकानी भैरहेको छ’ पौडेलले भने ‘हामी बनेको पूर्वाधारको यथेष्ट उपयोग गर्छौं, त्यसका लागि पहल भैरहेको छ ।’
नेकपा एमालेका नेता लिलबहादुर थापाले बलेवा विमानस्थल पुननिर्माणको काम तत्काल सम्पन्न गरि उडान सञ्चालनको तयारी थाल्न नियामक निकायको ध्यानाकर्षण गराएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर बागलुङका पूर्व जिल्ला सभापति समेत रहेका थापाले महानिर्देशक राजकुमार क्षेत्रीलाई विमानस्थल पुननिर्माण काम तत्काल सम्पन्न गरि नियमित उडानको तयारी थाल्न ध्यानाकर्षण गराएका हुन् ।
नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा बलेवा विमानस्थल बागलुङको भविष्यसँग जोडिएको विषय भएकाले पुननिमार्णपछि यसको सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेता थापाले महानिर्देशकसँगै प्राधिकरणमा कार्यरत अन्य विज्ञ कर्मचारीसँग छलफल गरेका थिए ।
छलफलमा विज्ञहरूले बलेवा विमानस्थल निर्माणाधिन कालिगण्डकी कोरिडोरको केन्द्रमा पर्ने भएकाले यसलाई नियमित उडान सञ्चालनको अलावा, एभिएसन स्पोटर्सको रुपमा अघि बढाउन सके धौलागिरी क्षेत्रकै मुहार फेरिने धारणा राखेका थिए ।
२०७७ फागुन मसान्तसम्म एक बर्षमा सक्नेगरी काम सुरु भएको विमानस्थल कालोपत्रेको काम कोरोना महामारीका कारण प्रभावित हुँदा दुई बर्षमा सकिँदै छ । आउँदो चैतसम्म विमानस्थल कालोपत्रेको काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार आवश्यक पूर्वाधारको काम सकिएकाले कालोपत्रेको काम मात्रै २० दिनमा सकिन्छ । तापक्रमले साथ दिएमा पुस मसान्तभित्रै बिमानस्थल कालोपत्रे हुने निर्माण कम्पनी काष्टमाण्डप एण्ड उमा जेभीले जनाएको छ ।





