बागलुङ/ काठेखोला ३, धम्जाकी चिजा विकले केही वर्षअघिसम्म ढाका बुन्थिन । अहिले उनको घरका धागो काट्न प्रयोग हुने मेसिन बिग्रेका छन् । उनले तीन÷चार वर्षदेखि पेशा पछि छाडेर बसेकीछन् ।
सिकेको सीपबाट नियमित कमाइ हुने भएपनि बजारको खोजी गर्न नसक्दा उनले छाडेको बताइन् । पतिले वैदेशिक रोजगारीको बाटो रोजेपछि दुख गर्न छाडेको उनले बताइन् । ‘‘पहिला दुख गरेर भएपनि केही कमाइ गरिन्थ्यो, अहिले दुखअनुसार सामानले बजार पनि पाएको छैन । त्यसैले पेशा छाडियो,’ उनले भनिन्, ‘श्रीमान विदेश जानु भयो, घरव्यबहार मिलाउने र छोराछोरी पढाउनु पर्दा काम नगरेको हो ।’
च्याउ खेती गर्ने समूहका युवाले पनि काम छाडेर अन्य पेशा रोजेको स्थानीय लोकबहादुर श्रीषले बताए । बजारको समस्या, प्राविधिक कठिनाइ र बीउ तथा प्रविधिको साथ नपाएर अधिकांश युवाले काम छाडेको बताए । समूहमा काम गर्ने युवा अहिले धमाधम विदेश हानिएका छन् । कतिपय युवा वैकल्पिक सीप र रोजगारीको खोजीमा छन् ।
बजारमा आएका नयाँ मोडलका सामान र आधुनिक मेसिनले बुन्ने चलनपछि काठका मेसिन विस्थापित भएको विकको अनुभव छ । ‘अहिले हाम्रो सामानको मूल्य नै पर्दैन । बजारका आर्कषक मोडलले तानेको छ,’ विकले भनिन्, ‘हामीले राम्रा बुटा भर्न जान्दैनौं, बजारमा रंगीबिरंगी सामान आएका छन्, उनीहरुकै बिक्छ ।’ हाते मेसिनमा धेरै समय लाग्ने, मेहेनत धेरै गरेपनि मूल्य नपाएपछि धेरैले काम छाडेका हुन् ।
तत्कालीन लघुउद्यम विकास कार्यक्रम अहिले ग्रामीण क्षेत्रमा छैन । स्थानीय पालिका र घरेलु विकास कार्यालयमा सरेको कार्यक्रमले आधुनिक बजारमा प्रतिस्पर्धी तालिम दिन नसकेको उद्यमीहरुको अनुभव छ ।
‘बजारमै बसेपनि अझै सोचेजस्तो तालिम लिन पाएका छैनौं । पुरानो अनुभवले सामान बेच्न गाह्रो छ,’ बागलुङ नगरपालिका १० कि यामकुमारी थापाले भनिन्, ‘मेसो पर्दा विदेश पठाउन भएको छ । नेपाली बजारमा आधुनिक डिजाइन बढी बिक्छ, हाते मेसिनको बिक्दैन ।’ उनीहरुजस्तै ग्रामीण क्षेत्रमा धेरै उद्यमीहरु आधुनिक मेसिन र प्रविधि अभावमा काम छाडेर पलायन भएका छन् ।
दशकअघि उद्यमी बनाएका संघसंस्थाले पुनर्ताजकी र आधुनिक तालिम भने नदिएको उनीहरुको गुनासो छ । ‘आधुनिक मेसिनमा लगानी गरिदिए काम गर्न तयार छौं,’ विकले भनिन्, ‘हाते मेसिनमा मेहेनतको कमाइ छैन ।’ तरकारीखेती, पशुपालन, ढाका र भांग्रो बुनाइ लगायतका उत्पादनमूलक काममा सक्रिय धेरै उद्यमीले अहिले पेशा छाडेको बताए ।
काठेखोला ५ बिहुँका अधिकांश महिलाले धागो बुन्ने काम छाडेका छन् । ‘झोला बुनेर पनि राम्रो कमाइ थियो । अब बजारका झोलाले डेरा जमायो,’ उद्यमी सरस्वती परियारले भनिन्, ‘अब काम गरेरपनि दुखमात्रै हुन्छ, सामान बिकाउनै गाह्रो छ ।’ उनले पनि पेशा परिवर्तन गरेको बताइन् ।





