पर्वत/ पर्वतको पैयुँ गाउँपालिकाले सरकारी सेवामा महिलाको सहभागिता बढाउनको लागि स्थानीय तहभित्र रहेका इच्छुक महिलाहरूको लागि लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ।
महिला तथा बालबालिका शाखाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार सरकारी सेवामा जान इच्छुक महिलाहरूलाई जागरूक गराउन तथा प्रोत्साहन गर्नको लागि एक महिने तयारी कक्षा सञ्चालन गर्न लागेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार लोक सेवामा जान योग्य रहेको उमेर समूह १८ वर्ष पूरा भई ४० वर्ष उमेर पार नगरेका महिलाहरूको लागि एक महिना अवधिको परीक्षा तयारी कक्षा सञ्चालन गर्न लागिएको हो।
‘सरकारी सेवामा महिलाहरूको सहभागितालाई अझै बलियो पार्नको लागि हामीले यो कार्यक्रम सञ्चालन गर्न लागेका हौँ। यसमा सहभागी हुँदा साथ नामै निस्कन्छ भन्ने त होइन नै तर परीक्षाको तयारीको बारेमा सिकाइन्छ,’ उनले भने, ‘लोक सेवामा पुरुषहरूको आवेदन बढी रहेको पाइन्छ। यही तालिमले पनि महिलाहरूलाई लोक सेवामा आकर्षित गर्न सहयोग र प्रोत्साहन गर्छ भन्ने हाम्रो उद्देश्य हो।’ तयारी कक्षामा प्रवेश गरेकाहरूलाई लोक सेवाको बारेमा परिचित गराएर देशको सेवाका लागि गरिने कामहरूको बारेमा जानकारी गराएपछि लोक सेवाको परीक्षालाई कठिन परीक्षाको रूपमा लिएकाहरूले पनि सहज रूपमा लिने र प्रशिक्षणका दौरान आत्मविश्वास बढाउने खालका क्रियाकलापहरू पनि गरिने भएकाले लोक सेवाको बारेमा अनविज्ञ रहेकाहरूलाई पनि आकर्षण गर्न सकिने अधिकृत लामिछाने बताउँछन्। कक्षामा सहभागी भइसकेपछि आफूले सिकेका कारण केही गर्न सक्ने जोश परीक्षार्थीमा उत्पन्न हुँदा सरकारी सेवामा महिलाको सहभागिता बढ्न सक्ने अपेक्षा गरिएको उनको भनाइ छ।
तयारी कक्षामा सहभागी हुनका लागि अहिले गाउँपालिकाभित्रका स्थायी बासिन्दाबाट आवेदन माग गरिएको र आउँदो मंसिर २१ देखि पुस २१ गतेसम्म कक्षा सञ्चालन गर्न लागिएको हो। सहायक स्तरको लागि कक्षा सञ्चालन गर्न लागिएको तयारी कक्षामा पैयुँ गाउँपालिकामा नै कार्यरत तथा छिमेकी स्थानीय तहमा कार्यरत अधिकृतहरूले प्रशिक्षण दिने गरी तयारी भइरहेको पनि लामिछानेले बताए।
कोरोना संक्रमणको अवस्था अहिले न्यून रहेको र विद्यालय, चलचित्र हललगायत सञ्चालनमा आएका कारण तयारी कक्षालाई पनि प्रत्यक्ष रूपमा नै सञ्चालन गर्न लागिएको छ। ५० वटा सेसनमा सञ्चालन गर्न लागिएको तालिमको पहिलो चरणमा लोक सेवा आयोगले विज्ञापन गर्ने तरीका, परीक्षार्थीहरूले विज्ञापन हेर्ने तरीका, फारा भर्ने र अपलोड गर्ने तरीका लगायतका आधारभूत विषयमा ज्ञान दिएपछि दोस्रो चरणमा परीक्षाको तयारी कक्षाहरू सञ्चालन हुन लागेका हुन्।
तयारी कक्षामा झन्डै २०÷२५ जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। तर सहभागी हुनका लागि मागिएका आवेदनको सङ्ख्या धेरै भएमा आवेदकहरूको बीचमा नै प्रतिस्पर्धा गराएर छनोट भएकाहरूलाई कक्षामा समावेश गराइने पनि प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए।





