बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटन प्रवद्र्धनको लागि ठोस कार्यक्रम जरुरी

पर्यटन प्रवद्र्धनको लागि ठोस कार्यक्रम जरुरी


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७८, आइतबार

गण्डकी सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव गरेको छ । संघीय सरकारसँग पोखरालाई पर्यटकीय राजधानी बनाउन गरिएको प्रस्तावसँगै राजधानी घोषणा गर्न आवश्यक पर्ने सूचकांकहरु के हुन् भन्नेबारे अध्ययन गरिने जानकारी पनि सरकारले गराएको छ । पोखरा अघोषित रुपले पर्यटनको राजधानी नै हो ख। नेपाल आउनेमध्ये ६० प्रतिशत पर्यटक पोखरा आउने आँकडाले पनि गण्डकीको राजधानी पोखरा पर्यटकीय राजधानी भएको पुष्टि गर्छ । प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्ग तथा अलौकिक भूबनौट गण्डकीका विशेषता हुन् । मनाङ–मुस्ताङ र गोरखाजस्ता हिमाली जिल्ला,ढोरपाटन शिकार आरक्ष अनि सुन्दर तालतलैया गण्डकीका गहना हुन् । ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहास पनि गण्डकीसँगै जोडिएको छ । फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको आरोहण गरेर यो इतिहास बनाएका हुन् । तर,पछिल्लो समय यो क्षेत्र आरोहणको लागिभन्दा पनि पदयात्राको लागि चर्चित छ ।

पर्यटकहरुको रोजाइमा पर्ने गण्डकी पछिल्लो समयमा ग्रामीण पर्यटन अर्थात् होमस्टेबाट पनि चर्चित बनेको छ । यो क्षेत्रमा रहेका होमस्टेहरुले पर्यटकहरुलाई राम्रै आतिथ्यता दिएका छन् । पर्यंटन नै नेपाली अर्थतन्त्रको मूल आधार बन्नुपर्छ भन्नेमा कुनै द्धिविधा छैन तर यो उद्योगको लागि जति काम गरिनुपर्ने हो त्यति हुन सकेको छैन । पर्यटनलाई आर्थिक समृद्धि आधार बनाउने दिशामा पनि गर्नुपर्ने कामहरु धेरै छन् । नेपालको पर्यटन उद्योगले कूल ग्राहस्थ उत्पादनमा दिएको योगदान अहिले पनि न्यून नै छ । लगानीको अनुपातमा पर्यटनले राष्ट्रको अर्थतन्त्रलाई पनि योगदान दिनुपर्छ । राष्ट्रको अर्थतन्त्रलाई योगदान दिन सक्ने बनाउन नेपालले खर्चालु पर्यटक भित्र्याउने अभियान थाल्नुपर्छ । आएका पर्यटकहरुलाई यहीँ अड्याउन सक्नुपर्छ । यो दिशामा खासै काम हुन सकेको छैन । प्रवद्र्धनात्मक गतिविधिहरु अपेक्षित रुपले परिणाममुखी हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा नेपालको सुन्दरता र पस्कने आतिथ्यताबारे गरिने प्रचारले नै पर्यटन प्रवद्र्धन हुने हो । यसको लागि राज्यतहबाटै गतिलो अभियान चालिनुपर्छ ।

कोभिड–१९ को महामारीले करिब २ वर्ष पर्यटन उद्योग ठप्प रह्यो । असर अझै कम भएको छैन । कोभिडबाट बँच्न विभिन्न राष्ट्रहरुले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डका कारण घुम्न चाहनेहरु अझै निस्कन सकेका छैनन । स्थिति सहज हुँदैछ । अब नेपालले गुणस्तरीय पर्यटक भित्र्याउन अभियान थाल्नुपर्छ । यसअघि घोषित भ्रमण वर्षका कार्यक्रमहरु स्थगित भएका छन् । स्थगित त्यो अभियानलाई पुनः सुरु गर्दा पनि राम्रै हुन्छ । पोखरालाई पर्यटकीय राजधानी घोषणाको माग गरिरहँदा गण्डकी सरकारले समेत यसबारे चासो राख्नुपर्छ । राजधानी घोषणाले मात्रै केही हुने हैन । पर्यटनले अर्थतन्त्रलाई ठोस योगदान दिन नसक्दासम्म गरिने घोषणाको कुनै औचित्य रहँदैन । पर्यटन प्रवद्र्धनको लागि ठोस कार्यक्रम ल्याएमात्र अपेक्षित परिणाम निस्कछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->