बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कायत जातिको अझै भएन जनगणना

कायत जातिको अझै भएन जनगणना


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

बागलुङ/ अहिले धमाधम जनगणना लिने काम भैरहेको छ । नेपाल सरकार र तथ्यांक कार्यालयले खटाएका गणक घरघरमा पुगेर दर्जनबढी प्रश्नको उत्तर खोजेर वास्तविक चित्रणको खोजी गरिरहेका छन् ।
तर बागलुङकै ढोरपाटन नगरपालिका ७, ८ र ९ मा बस्ने कायत समुदायको जनगणना भएको छैन । उनीहरुले आफ्नो जातिको पहिचनन नभएसम्म गणनामा भाग नलिने समेत बताउँदै आएका छन् । जनगणना मंसिर ९ गते सम्म चल्नेछ ।

अघिल्लो जनगणनामा उनीहरुले दिएको विवरण र जातिनै सूचिकृत नभएको पाएपछि यो पटक जनगणनामा भाग नलिएको कायत समुदायका अध्यक्ष निमबहादुर कायतले बताए । अघिल्लो जनगणनामा सुपरवेक्षक भएर काम गरेका शिक्षक यामबहादुर कायतलेनै आफ्नो जाति सूचिकृत नभएकोले बहिस्कार गर्नु परेको बताए ।

‘हामीले अझै सहभागिता जनाएका छैनौ, हाम्रो जातीको सूचिकरण हुने विश्वस्त नभएसम्म जनगणना हुन दिंदैनौं’ उनले भने, ‘नाम मात्रैको आश्वासनले हामीलाई पुग्दैन, कार्यान्वयन हुने प्रतिवद्धता चाहियो ।’ बागलुङमा झण्डै ७७ घरधुरीमा कायत जाती बसोबास गर्थे । तर तथ्यांकमा यो जाती सूचिकृत नभएको हो ।

अन्दाजी चारसय जनसंख्या रहेको कायतको थर तथ्यांक बिभागको सफ्टवेयरमै नचढेको पाइएको तथ्यांक अधिकृत मुकुन्द शर्माले बताए । ‘कायत लेख्दा सफ्ट वयेरले कायस्थ देखाएछ, सबैजनाको तथ्यांक उतै जोडिएको पाइयो’ शर्माले भने, ‘प्रतिवेदनमा १ सय २५ जाती देखिएकोमा उनीहरु थपियो भने १ सय २६ जाती हुनेछन् ।’ अघिल्लो पटकको गणनामा आफ्नो समुदायको नाम र जाती नभएको भन्दै यो पटकको गणनामा उनीहरुले गणकलाई फर्काइदिएका छन् ।
कायत समुदायले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ । उक्त पत्रअनुसार सूचिकृत गराउन सहयोग गर्ने शर्माले बताए । ‘हामीले पहल गर्छौ, जनगणनामै भाग लिनु भएन भने झनै अप्ठ्यारो हुन्छ’ शर्माले भने, ‘आफ्नो अधिकारका लागि पनि उहाँहरु सूचिकृत बन्नुपर्छ ।’ राज्यका निकायले लोपोन्मुख जातीकै उपेक्षा गरेको टिप्पणी गरे । सयौं बर्षदेखि यो जाती बोबाङ गाउँमै बस्दै आएको उनीहरुको दाबी छ ।

ढोरपाटन क्षेत्रमा बस्ने कायत जस्तै यहाँ अदै, भण्डारी लगायतका अन्य जाती पनि छन् । बाहुन क्षेत्रीको जस्तो थर भएको भण्डारी र अदैपनि जनजाती समुदायमा मिलेर बसेका छन् । उनीहरुले आँफूहरु नौथरे भएको बताउने गरेका छन् । दलीत र जनजाती मिलेर बसेको गाउँ भएकोले उनीहरुको बोलीचाली समावेशी प्रकारको छ ।

वडा अध्यक्ष दिपक थापाले कुनैपनि जाती भाषाको पहिचान गुम्ने काम गर्न नहुने बताए । कुनै कारणले छुटेको भएपनि अब समावेश गर्न पहल गर्नुपर्ने उनको भनाइ छ । ‘कायत लेख्दा सफ्टवेयरको कायस्थ भएको देखिन्छ, अब त्यो जातीको महल छुट्टै बनाउन लगाउँछौं’ शर्माले भने, ‘एउटा जातीनै समावेश नहुनु दुःखद हो ।’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले पनि छिटै भेला राखेर समस्या समाधान गर्ने आश्वासन दिएको बताए । नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषदले पनि जातीगत विवरण छुट्ने समस्याले गाउँगाउँमा जागरण अभियान गरेको अध्यक्ष बोमबहादुर गुरुङले बताए । धर्मको बिषय आफ्नो चाहना र इच्छा भएपनि जाति र पहिचान भने लोप हुन नदिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->