पर्वत – जिल्ला कारागार पर्वतमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरूको लागि पुस्तकालयको निर्माण गरिने भएको छ ।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले अध्ययनबाट उनीहरूको सोचाई र व्यवहारमा परिवर्तन ल्याउन सजिलो हुने भन्दै पुस्तकालयको स्थापना गर्न लागिएको हो । अध्यक्ष अर्जुन पौडेल ‘निर्जन’ ले बन्दी जीवन बिताइरहेकाहरूलाई आफू बन्दी हुँ भन्ने भावना त्यागेर केही कुरा अध्ययन गरी निस्कने बेलामा अध्ययनशील, सकारात्मक सोच भएको र सामाजिक रूपमा हुने घुलमिलका लागि सहज भन्ने उद्देश्य राखेर कारागारमा पुस्तकालय राख्ने योजना बनाएको बताए ।
पुस्तकालय निर्माणको लागि अहिले विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पुस्तक उपलब्ध गराइदिन अनुरोध गरिरहेको र संकलनको काम करिब अन्तिम चरणमा पुगेकाले केही दिनमा नै पुस्तकालय राख्ने तयारीमा आफूहरू रहेको पनि अध्यक्ष पौडेलको भनाई छ ।
पुस्तकालयमा धर्म, नैतिकता, आचरण, राजनीति, आर्थिक उपलब्धि, साहित्य, जीवन संघर्ष लगायतसँग सम्बन्धित करिब चार सय पुस्तकहरू राख्ने योजना गरिएको छ । त्यसका लागि पर्वत जिल्ला छिमेकी र अन्य जिल्लामा पनि पुस्तक वा आर्थिक सहायताका लागि अनुरोध गरिएको छ । पुस्तक किन्नका लागि विभिन्न व्यक्तिले गरेको सहयोगबाट १७ हजार रुपैयाँ संकलन भएको छ । सहयोगका रूपमा आएका पुस्तकमा सबै विधा नसमेटिएमा आर्थिक सहयोगका रूपमा आएको रकमले राख्नै पर्ने खालका तर छुटेका पुस्तक किनेर पुस्तकालयमा राख्ने योजनामा लायन्स क्लब छ ।
लायन्स क्लबले स्थापना गर्ने पुस्तकालयले कारागारमा बन्दी जीवन बिताइरहेकाहरूको मनोभावनामा सकारात्मक सोचको विकास गर्नको लागि महत्त्वपूर्ण सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी बताउँछन् । लायन्स क्लबले पुस्तकालय निर्माणको लागि कारागारलाई छनौट गर्नु सबैको लागि खुसीको कुरा भएको उनले बताए ।





