बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कारागार सुधारमा ध्यान देऊ

कारागार सुधारमा ध्यान देऊ


  • Dhorpatan News
  • मंसिर ७ २०७८, मंगलबार

बागलुङ कारागारको भर्खरै गण्डकीका महान्यायाधीवक्ताले अनुगमन गरेका छन् । समस्या यति छन् कि, भनिसाध्य छैन । जेलमा पुस्तक र मनोरञ्जनात्मक सामग्री, सीप सिक्ने व्यवस्था त छँदैछैन, सुखले सुत्ने अवस्था पनि छैन । समयमा न्याय नपाउने समस्या अर्कोतिर रहेको पनि कैदीबन्दीको गुनासो छ । कैदीबन्दीले कारागार सुधारको लागि केही रचनात्मक सुझाव पनि दिएका छन् । ती सुझाव कार्यान्वयनमा आउनेमा आशंकै छ तर जेल सुधारको लागि अब सरकारले सोच्नैपर्ने भएको छ ।

कारागारलाई सुधारगृह बनाइनुपर्ने माग उठ्न थालेको वर्षौं भयो । तर, नेपालका कारागारहरु सुधार हुन सकेका छै्नन् । कारागारहरुमा कैदीबन्दीका अधिकारको रक्षा, उनीहरुलाई रचनात्मक बनाउने त परको कुरा, न्यूनतम आधारभूत आवश्यकताको संवोधन पनि गरिएको छैन । नेपालमा रहेका सबैजसो कारागारहरुमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । पालो लगाएर सुत्नुपर्ने, बर्खाको समयमा पानी चुहिएर बिजोग हुने तथा उडुस–उपियाँको प्रकोपले कैदीबन्दीहरु सताइएका छन् । शौचालयको अवस्था उस्तै नाजुक छ । धारामा पानी आउँदैन । नारकीय जीवन ज्यूँन बाध्य कैदीबन्दीहरुलाई हेर्दा लाग्छ–कारागार सुधार गृह हैन अपराधी जन्माउने थलो बन्दैछ । क्षमताभन्दा बढी कैदीबन्दी हुनु,न्यूनतम सुविधा उपलब्ध नहुनु तथा उनीहरुलाई सिर्जनशील र रचनात्मक कार्यमा नलगाइँदाको परिणाम भनेको अपराधी जन्माउनु नै हो । चरित्र सुधारका लागि पठाइएका व्यक्तिहरु पुनः अपराध कर्ममै नफकूर्न भन्नका खातिर कारागारहरुले सुधारका कार्यक्रमहरु अगाडि सार्नुपर्छ ।

पढ्ने,नयाँ कुरा सोच्ने तथा उत्पादनमूलक कार्यमा लगाउने अभियान थालनी हुनुपर्छ । तर, दुर्भाग्य, त्यसो हुन सकेको छैन । राणा र पञ्चायतकालीन जेलका संरचनामा कैदीबन्दीलाई राखिएको छ । काठमाडौंको सेण्टर जेल होस् वा जिल्लाहरु, जताततै उस्तै छ । जेल सुधारको लागि विनियोजित बजेटको दुरुपयोग तथा जेलर र नाइकेहरुबीचको मिलेमतोले निम्छराहरु पेलिएका छन् । केही व्यक्तिको लागि जेल कमाउने ठाउँ बनेको छ ।यसले गर्दा एकातर्फ, जेल अपराधका योजना बनाउने र आरामको जीवन जिउने र अर्कोतर्फ प्रतिशोधको भावना जन्माउने ठाउँ बनेको छ । जेल सुधारका लागि तयार पारिएका विभिन्न प्रतिवेदनहरु थन्क्याइएका छन् । लामो समय जेल जीवन बिताएका त्यहीँबाट सत्तामा पुगेकाहरुले पनि जेल सुधारलाई ध्यान नदिनु दुर्भाग्यपूर्ण रहेको छ । पर्खालभित्र रहेको कारागारको सबै कुरा बाहिर आएका छैनन् तर जति आएका छन्, ती खेदजनक छन् । अत: जेललाई सुधारगृह बनाउने अभियान तत्काल थालिनुपर्छ । कम्तिमा कैदीबन्दीको न्यूनतम आवश्यकताको संवोधन गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->