बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आन्तरिक लोकतन्त्र सुदृढ बनोस्

आन्तरिक लोकतन्त्र सुदृढ बनोस्


  • Dhorpatan News
  • मंसिर ८ २०७८, बुधबार

सिपी मैनाली नेतृत्वको नेकपाले अधिवेशनबाट नेतृत्व चयन गरेको छ भने एमालेको १० औं महाधिवेशन चितवनमा सुरु हुँदैछ । वैधानिकता नै धरापमा पर्ने बेलासम्म महाधिवेशन गर्न असमर्थ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतका चुनावी कार्यक्रम भइरहेका छन् । यता, माओवादी केन्द्रले पनि महाधिवेशनअन्तर्गत देशैभर वडा अधिवेशन सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि महाधिवेशनले छोएको छ । देशका प्रमुख राजनीतिक दलहरु आन्तरिक निर्वाचनको प्रक्रियामा छन् । राजनीतिक दलहरुले आन्तरिक चुनावमार्फत् अंगिकार गर्ने नीति र दृष्टिकोण तथा नेतृत्वले देशको भविष्य प्रभावित हुन्छ । दलीय व्यवस्थामा दलहरु नै राज्य संचालक हुन् । दलका नेताहरु नै भोलिका राजकीय पदमा पुग्ने नीति निर्माता हुन् । यस मानेमा, अहिले दलहरुमा भइरहेको निर्वाचन प्रक्रिया देशलाई नयाँ दिशा दिने नेतृत्व छनौटको मुख्य चाड हो ।

राष्ट्रको इज्जत, स्वाभिमान, सार्वभौमसत्ता एवं अखण्डताविरुद्ध दलहरु उभिनै पर्छ । नेपालको संविधानले दल खोल्ने र राजनीतिक गतिविधि गर्न छुट दिएको छ तर केही गतिविधिहरुमा बन्देज पनि लगाएको छ । वैधानिकता पाएका दलहरुले यो कुरा मनन गरेकै छन् । पार्टी नीति र विचारले निर्देशित हुन्छ । सही नीति र विचार भएका एवं राष्ट्रलाई केन्द्रमा राखेर हिँड्ने नेताहरु नै वास्तविक अर्थमा नेता हुन्छन् । राजनीतिक दलहरुमा फरक दर्शन र कार्यदिशा हुनु अनौठो हैन तर ती दलहरु मुलभूत रुपमा देश हितमा समर्पित हुनुपर्छ । त्यसको लागि नेतृत्व असल र दूरदर्शी चाहिन्छ ।

महाधिवेशन असल र दूरदर्शी नेतृत्व चयन गर्ने दिशामा परिलक्षित हुनुपर्छ । तर,राजनीतिक दलका पछिल्ला चुनावी गतिविधिहरु पद केन्द्रीत बढी र विचार केन्द्रीत कम देखिएका छन् । सयौं फूलहरुलाई फूल दिनुपर्ने र राम्रोलाई नेतृत्वमा आउन अवसर प्रदान गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । सहमतिको नाममा स्वच्छ प्रतिस्पर्धालाई निषेध गरेर वा गुटको नाममा असल विचारलाई बञ्चित गराउँदा सही व्यक्ति सही ठाउँमा पुग्दैन । यसले छोटो कालखण्डमा अमुक व्यक्तिलाई लाभको पदमा पु¥याउला तर पार्टी स्वयंलाई भलो गर्दैन । अतः दलहरुको आन्तरिक प्रतिस्पर्धा स्वच्छ र असललाई नेतृत्वमा स्थापित गराउने अवसर बनाइनुपर्छ । दलहरुको महाधिवेशन आन्तरिक लोकतन्त्र सुदृढ बनाउने सुन्दर अवसर बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->