बागलुङ/ केही समयदेखि देशभर कोरोना संक्रमणको दर ओरालो लागेको छ । यही मौका पारेर राजनीतिक दलले भेला, अधिवेशन र आमसभा गरिरहेका छन् । एमाले, कांग्रेस र माओवादीको त देशव्यापी महाधिवेशनको माहोल नै उठेको छ ।
हजारौंको भेलाकै बाबजुत संक्रमणको संख्या कम हुनु सुखद हो । तर यो अवस्था आउनुमा खोपको कारण हो भन्छन् स्वास्थ्य क्षेत्रका जानकारहरु । ‘खोपको कारण संक्रमण फैलन पाएको छैन, तर लार्पबाही गर्न हुँदैन’ धौलागिरि अस्पतालका मेडिकल सुपरटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘पोष्ट कोभिडको समस्या पनि उत्तिकै छ ।’ कोरोना संक्रमणपछि निको भएका बिरामीमा आउने स्वास्थ्य समस्यालाई पोष्ट कोभिड भनिने उनले बताए ।
यस्तै समस्याले धेरै संक्रमितमा स्वास्थ्य समस्या ल्याएको छ । ‘मलाई पटकपटक स्वास्थ्यमा समस्या आएको छ’, स्वास्थ्य कार्यालयमा काम गर्ने एक स्वास्थ्यकर्मीले भने, ‘कोरोनाको समयभन्दा अहिले खतरा हुने रहेछ ।’ ज्वरो आउने, वाकवाकी लाग्ने र अन्य स्वास्थ्य समस्या हुने यो रोगका लक्षण भएको उनले बताए ।
कोरोनाको समयमा भन्दा पोष्ट कोभिडको समयमा बढी खर्च भएको बिरामीले गुनासो गरे । धौलागिरि अस्पतालका कोभिड फोकल बिशेषज्ञ डा. अभिषेक वाग्लेका अनुसार कोभिड निको भएपनि अधिकांश मानिसमा लामो समयसम्म समस्या देखिन्छन् । ती समस्याका लागि चनाखो बन्नुपर्ने उनले बताए । ‘कोभिड भएका बिरामीको फोक्सो र मुटुमा पछि सम्म समस्या आउन सक्छ’ उनले भने,‘सचेतना र नियमित उपचार तथा निगरानी आवस्यक छ ।’ कोभिड भएका र निको भएपछि पनि बिरामीको रगत जम्ने खतरा बढी हुने उनले बताए ।
रगत बाक्लो हुने र जम्ने खतरा हँुदा पक्षघात हुन सक्ने, फोक्सो र मुटुमा असर परेर मानिसको ज्यानै जान समेत सक्ने अबस्था आउने उनले बताए । ‘अहिले हाम्रो ओपीडिमा दैनिक जसो आउने बिरामीले कमजोरी भएको र मानसिक समस्या भएको बताउन थालेका छन्’, वाग्लेले भने, ‘खोकी निरन्तर लाग्ने, थाक्ने र कमजोरी हुने समस्या धेरैमा छ ।’ उनले कोभिड पछि शरीरमा कमजोरी आउने भएकोले खानपान तथा काम गराइमा ध्यान दिनुपर्ने सुझाव दिए ।
अस्पताल प्रशासनले पोष्ट कोभिडका बिरामी आउन सक्ने अनुमान गरेरै ओपिडीमा गरिने डाएग्नोसिसमा यसअघि कोभिड भए नभएको अबस्था बुझ्ने सूचक समेत बनाएको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । कोभिड भएको मानिसमा पछिसम्म फोक्सोको समस्या बढी हुन्छ, त्यो बिषय हामीले अलि गम्भिर रुपमा लिन्छौं’ पोखरेलले भने,‘मानसिक रुपमा बिक्षिप्त हुने, मनोरोग लाग्ने अवस्था पनि धेरै छ ।’ अधिकांस बिरामीले डरै डरमा बढी समस्या खेपेकोले मानसिक विचलन हुन नदिने काम गर्ने उनले बताए ।
श्वासप्रश्वासमा बढी समस्या आउने, हिड्न नसक्ने, पछिसम्म फोक्सोमा पनि समस्या आउन सक्ने र दिर्घ रोग हुन सक्ने भएकोले बढी चासो दिइएको उनको भनाइ छ । ‘शरीरमा एन्टीबढी बढी हुँदा पनि समस्या आउन सक्छ, तर त्यो अवस्था भने खासै छैन’, उनले भने, ‘खोप लगाएको, कोभिड निको भएको वा जितेको अवस्थामा उनीहरुको शरीरमा भाइरस भएकोले खानपानमा रियाक्सन हुन सक्छ ।’
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने उपचारका पद्दती भन्दा पोष्ट कोभिड बारे जनचेतना आवस्यक भएको बताए । ‘कोभिड भएको व्यक्तिले खानपान र जीवन शैलीमा केही सर्तकता अपनाउनु पर्छ’ गुरौले भने, ‘धुम्रपान, मध्यपानबाट जोगिंदा धेरै सहज हुन्छ ।’ रोग निको हुने बाहनामा मदिरापान गर्नेहरु पनि देखिएको उनले बताए । त्यस्तो गर्न नहुने उनले सुझाव समेत दिए ।
कोरोना संक्रमणबाट निको भएपनि अझै पैदल यात्रा गर्न अप्ठ्यारो हुने गरेको काठेखोला–२ का खिमबहादुर कार्कीले बताए । ‘एक बर्षसम्म औषधी सेवन गर्दा कहिले सुगर बढ्ने, कहिले प्रेसर बढ्ने भैरहेको छ’, उनले भने, ‘अझैपनि कतिपय समस्याले औषधि खाने र लामो यात्रामा नजाने गरेको छु ।’
कोरोना संक्रमणबाट फोक्सो, मृगौला र मुटु तथा श्वास प्रश्वासमा समस्या भएकोले ती अंगलाई पुरानो अबस्थामा फर्काउन धेरै होसियारी चाहिने वाग्लेको भनाइ छ । ‘संवेदनशिल अंगलाई पुरानै अबस्थामा फर्काउन मानसिक र शारीरिक रुपमा स्वस्थ्य हुनुपर्छ’ उनले भने, ‘खानपान र नियमित उपचार पद्दतीमा पनि ध्यान दिनु आवश्यक छ ।’ न्युमोनिया बढी भएको बिरामीलाई जतिबेला पनि संक्रमण बढ्न सक्ने भएकोले बढी सर्तक हुनुपर्ने उनको सुझाव छ ।





