बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

घरजग्गाको मूल्य वृद्धि रोक

घरजग्गाको मूल्य वृद्धि रोक


  • Dhorpatan News
  • मंसिर ९ २०७८, बिहिबार

गण्डकी प्रदेशमा घरजग्गाको मूल्यवृद्धि देशकै उच्च रहेको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ को ९ महिनामा गण्डकीमा सबैभन्दा धेरै मूल्य वृद्धि भएको हो । मुख्य सहरमा गरिएको सर्वेक्षणले यहाँको घरजग्गाको मूल्यवृद्धि दर १९.१९ प्रतिशत रहेको जनाएको छ । घरजग्गाको मूल्य वृद्धि लुम्बिनीमा ४.३२ प्रतिशतले बढेको छ भने राजधानी काठमाडौं भएको बागमतीमा १८.६ प्रतिशतमात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले पहिलो पटक सातै प्रदेशका मुख्य शहरलाई आधार बनाउँदै घरजग्गा मूल्य सर्वेक्षण गरेको छ । सर्वेक्षणको प्रतिवेदन आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौं महिनामा अघिल्लो आवको तुलनामा गण्डकी प्रदेशमा घरजग्गाको मूल्य वृद्धि सबैभन्दा उच्च १९.१९ प्रतिशत छ । मालपोत कार्यालयका अनुसार घरजग्गा ६ प्रतिशतले बढ्दा जग्गा १६ प्रतिशतले बढेको छ । यो प्रतिवेदन सहरी क्षेत्रको सर्वेक्षणमा आधारित छ । बैंक र मालपोतमा दिइएको विवरणबाट निकालिएको तथ्याङ्क भला सही छैन तर सत्यको नजिक छ ।

आर्थिक समृद्धिको कारण घरजग्गाको भाउ आकासिन्छ । औद्योगिकीकरण वा सहरीकरणले पनि मूल्य वृद्धि हुन्छ भन्ने मान्यता छ । तीव्र सहरीकरण वा बसाइँसराइलगायतका मानवीय गतिविधि पनि घरजग्गाको भाउ बढ्नुको कारण हुन् । यस मानेमा घरजग्गाको भाउ बढ्नुलाई सकारात्मक रुपले लिनुपर्छ । तर,राष्ट्र बैंकको अध्ययन सहर केन्द्रीत छ । सहरमा अचाक्ली भाउ बढ्नु र गाउँहरु खाली हुँदै जानु कुनैपनि कोणबाट राम्रो मान्न सकिँदैन ।

गण्डकीकै हकमा कुरा गर्ने हो भने यो क्षेत्रमा सहरीकरण बढेको छ । गाउँबाट सहरमा आउनेहरु बढेका छन् । सेवा र सुविधा सहरमा केन्द्रीत भएकाले बसाइँसराइ बढेको हो । यो रोकिनु आवश्यक छ । गाउँमै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु सिर्जना गर्ने हो भने सहर झर्ने क्रम रोकिन्छ । सहर झर्ने क्रम रोकिँदा मूल्य वृद्धि पनि स्वतःरोकिन्छ । घरजग्गाको अचाक्ली र अस्वभाविक मूल्य बढ्नु कुनै कोणबाट पनि राम्रो हैन । मूल्य वृद्धि रोकिनैपर्छ तर त्यसको लागि गाउँमै बस्ने वातावरण बनाउनैपर्छ ।

 

 

 

नेपाल राष्ट्र बैंकले २० वटा मालपोत कार्यालयको मूल्य र ६ वटा वाणिज्य बैंकले कर्जा प्रदान गर्ने उद्देश्यले गरेको मूल्यांकन नमूनाका आधारमा घरजग्गा मूल्य सर्वेक्षण गरेको हो । बैंकबाट प्राप्त तथ्याङ्कले ११.८३ प्रतिशतले मूल्य वृद्धि भएको जनाए पनि मालपोतको तथ्याङ्कले फरक नतिजा देखाएको हो । गण्डकीमा

आव २०७७÷७८ को प्रथम नौं महिनामा वाणिज्य बैंकबाट प्राप्त तथ्यांकको आधारमा घरजग्गाको मूल्य १६.३१ प्रतिशतले बढेको तथा मालपोत कार्यालयहरुबाट प्राप्त तथ्यांकअनुसार १२. ५७ प्रतिशतले बढेको राष्ट्र बैंकले औंल्याएको छ । आव २०७६÷७७ को तुलनामा ०७७÷७८ को नौं महिनामा घरजग्गाको मूल्य वृद्धिमा केही शिथिलता आएको राष्ट्र बैंकले औंल्याएको छ । आर्थिक वर्ष २०७७÷७८ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मूल्यवृद्धि २६.४५ प्रतिशत थियो भने मालपोत कार्यालयहरूबाट प्राप्त तथ्याङ्कका आधारमा मूल्यवृद्धि १९.७३ प्रतिशत थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->