बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मध्यपहाडी लोकमार्गको निर्माणको गति बढाऊ

मध्यपहाडी लोकमार्गको निर्माणको गति बढाऊ


  • Dhorpatan News
  • मंसिर १२ २०७८, आइतबार

केही दिनअघि कास्कीको एउटा सडक सामाजिक सञ्जालमा खुबै चर्चित रह्यो । हिमालतिर सोझिएको ६ लेनको सडकले धेरैको ध्यान खिच्यो । पोखराको याम्दीदेखि घट्टेखोलासम्मको १२ किलोमिटरको सडकलाई विकासको पर्यायको रुपमा व्याख्या गरियो । मध्यपहाडी लोकमार्गमा पर्ने यो सडकलाई पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराई,माओवादी अध्यक्ष प्रचण्ड,पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनाको रुपमा प्रचारित गरियो । सामाजिक सञ्जालहरु अभिव्यक्तिको सशक्त माध्यम बन्दै गएका छन् । सुन्दर सडक निर्माणको जस लिन सामाजि सञ्जालमा चलाइएको प्रचार अझै कायम छ । सामाजिक सञ्जालको चर्चासँगै धेरै सञ्चार माध्यमहरुले यो सडकबारे समाचार सामग्री पस्के । मध्यपहाडी लोकमार्गअन्तर्गतको सडक खण्ड सडक डिभिजन कार्यालयको नियमित योजनाअन्तर्गत निर्माण भएको तथ्य बाहिर आयो ।पाँचथरको चियोभञ्ज्याङ भन्ने ठाउँबाटदेखि पश्चिम बैतडीको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो सडक नै मध्यपहाडी राजमार्ग हो ।

मध्यपहाडी राजमार्ग देश जोड्ने परियोजनामात्रै नभएर समृद्धिको आधार पनि भएको नीति निर्माताहरुको भनाई छ । देशको मध्यभाग हुँदै जाने यो बाटोले मेची–महाकाली जोड्छ । पूर्व–पश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्गको विकल्पको रुपमा र्आिर्थक वर्ष २०६४/०६५ मा सुरु यो योजनाको काम ५० प्रतिशत पनि सकिएको छैन । मध्य पहाडका २ सय २५ बस्ती जोड्ने यो सडक परियोजना राष्ट्रिय गौरवको परियोजना हो । १० वर्षमा सक्ने लक्ष्य राखिएको परियोजनाले साढे ८ मिटरको दुई लेनको बाटो परिकल्पना गरेको छ । नेपालको आफ्नै स्रोत साधन प्रयोग गरी निर्माणाधीन यो परियोजनाअन्तर्गत कहीँ उल्लेख्य प्रगति भएको छ भने कहीँ विविध कारणले निर्माणमा अवरोध उत्पन्न भएको छ । लमजुङ–बागलुङ खण्डको कुरा गर्ने हो भने, २ सय ४० मिटरको यो खण्डअन्तर्गत बागलुङमा ८० प्रतिशत काम सकिएको छ । कास्की खण्डको ३० किलोमिटर ठेक्कामै गएको छैन भने लमजुङको सुन्दरबजार क्षेत्रमा जग्गा विवादले काम हुन सकेको छैन । याम्दीबाट घट्टेखोलासम्म बनेको बाटो सामाजिक सञ्जालमा भाइरल हुँदा त्यहाँसम्म पुग्ने बाटो कताबाट लैजाने भन्ने निक्र्यौल नहुनु दुःखद हो ।

बेला–बेला आउने मुआब्जा वितरण विवाद, निर्माण सामाग्री अभाव, सार्वजनिक खरिद सम्बन्धी ऐन र अन्य विविध कारणले यो राजमार्ग निर्माणमा सोचेजस्तो प्रगति नभएको हो । राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्नेतर्फ राज्यले उचित ध्यान नदिँदा पनि परिणाम हात नलागेको हो । समृद्धिको लागि सडक सञ्जाल पहिलो सर्त हो । पहाडै–पहाडको यात्रा गर्नको लागि निर्मित यो सडक समयमा सम्पन्न गर्नेतिर राज्यले तदारुकता देखाउनै पर्ने भएको छ । विवादको गाँठो फुकाउने काम राज्यको हो । राज्यले चाहेमा र इच्छाशक्ति भएमा असम्भव भन्ने केही हुँदैन । जनतालाई सास्ती, धूलो–धुवाँ खुवाउने काम सक्दो छिटो अन्त्य गरिनुपर्छ । मध्यपहाडी लोकमार्ग जुन सोचले सुरु गरियो,त्यसलाई पूर्णता दिनुपर्छ । याम्दीदेखि घट्टेखोलासम्मको जस्तै नभए पनि कम्तिमा यो सडक अब समयमा नै बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->