नेपाल कम्युनिष्ट पार्टी एमालेको १४ औं महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्ष चुनिएका छन् । ओली निर्विकल्प थिए र निर्विकल्प नै बन्ने उनको चाहना लुकेको थिएन । तर, मतदातामाझ भीम रावल विकल्पको रुपमा खडा भए । उनीमाथिको भीम रावलको चुनौतीले चासो बढायो । परिणाम प्रत्यासित थियो । अतः ओलीले कति मत ल्याए भन्ने विषय गौण बन्यो । आउँदो पाँच वर्ष देशको लागि देशकै ठूलो पार्टीको मुखिया बने ।
निर्वाचनका प्रक्रियाहरुमा गरिएको फेरबदल र सहमतिको नाममा मञ्चित प्रयासहरुले ओली स्वयंको लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वासमा प्रश्नचिन्ह उठाउने ठाउँ दिएपनि उनले आफूमाथिको विश्वास डग्मगाउन दिएनन् । फरक विचार र पृष्ठभूमि अनि समूहका सबैलाई समेटेर केन्द्रीय कमिटी निर्माण गरे । चुनावलाई औपचारिकतामा परिणत गरिदिए । आफू सर्वशक्तिमान बने । ज्ञात नै थियो, एमाले विभाजनपछि उनलाई चुनौती दिने शक्ति एमालेमा थिएन ।महाधिवेशन गरिरहँदा माओवादी पृष्ठभूमिबाट आएका आफैलाई सघाउने ठूलो पंक्ति तथा नेतृत्वका आकांक्षीरुको व्यवस्थापन चानचुने कुरा थिएन । अध्यक्ष ओलीसँग ती सबैलाई प्रतिष्पर्धामा उत्रन दिने र यथोचित व्यवस्थापन गर्ने दुबै विकल्प थिए । अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मतिको प्राधिकार लिए । दोस्रो विकल्प रोजे । चुनावपछि एउटा समूह असन्तुष्ट हुने सम्भावनालाई अन्त्य गर्न सहमतिको लागि भन्दै केन्द्रीय सदस्य र पदाधिकारीको नाम प्रस्ताव गरे । चुनावबाटै समेत उनले आफ्नो प्रस्तावलाई पारित गराए । लोकतान्त्रिक विधि र पद्दतिलाई पर राखेर हेर्दा पार्टीलाई एकढिक्का राख्न एवं आफ्नो एजेण्डा कार्यान्वयन ल्याउने सफलता प्राप्त गरे ।
फरक विचार समूहलाई विश्वासमा लिएर पार्टी चलाउनु एउटा कुरा,आफू अनुकूलका व्यक्तिहरुको साथले अगाडि बढ्नु नित्तान्त फरक कुरा हुन् । अहिले ओलीसँग आफूले रोजेका व्यक्तिहरुको साथ छ, आफ्नो एजेण्डा कार्यान्वयन गराउने अवसर प्राप्त भएको छ । यसमानेमा ओलीको वास्तविक परीक्षा पनि सुरु भएको छ । ओलीसँग अब अर्कालाई दोष देखाएर उम्कने बाटो बन्द भएको छ । त्यो बाटो उनी स्वयंले बन्द गरेका छन । उनीमाथि देश र जनतासामु गरिएका प्रतिवद्धता पूरा गर्नुपर्ने गहन दायित्व थपिएको छ ।
नेपालको संविधानले दलहरुको वैधानिकता र अपरिहार्यतामात्रै स्वीकारेको छैन, राज्य संचालनको दायित्व पनि दलहरुकै काँधमा सुम्पेको छ । पटक–पटक राजकीय नेतृत्वको अवसर पाएको एमाले देशको सबैभन्दा ठूलो दल हो । अध्यक्ष ओली स्वयंले आउँदो चुनावबाट सत्तामा पुग्ने उद्घोष गरेका छन् । अध्यक्षको रुपमा देशलाई समृद्ध बनाउने दायित्व उनको काँधमा आएको छ । नागरिकहरुले राजनीतिक दलहरुबाट अराजकता हैन कि जिम्मेवारपूर्ण व्यवहारको अपेक्षा राखेका छन् । अतः ओलीले हिजोका गल्तीहरु सच्याउँदै आफ्नो सम्पूर्ण ध्यान देशको भविष्यप्रति केन्द्रीत गर्नुपर्छ । संविधानको भावना र मर्म अनुसार चल्ने धृष्टता देखाउनुपर्छ । अतिरञ्जनापूर्ण गफहरु हैन कि व्यवहारवादी नेतामा परिणत हुनुपर्छ । प्रतिशोधपूर्ण राजनीति एवं आग्रह र पूर्वाग्रह छाड्नुपर्छ । हामीले करिब साढे २ वर्षअघि नै भनेका थियौँ,‘प्रतिकुल स्वाथ्यावस्थामा पनि देखिएको क्रियाशिलता इच्छाशक्तिकै कारण सम्भव भएको हो ।’ अध्यक्ष ओलीसँग दृढ इच्छाशक्ति भएकोमा कुनै द्धिविधा छैन । अब त्यो उर्जा सराकात्मक परिणामको लागि उपयोग हुनुपर्छ । पुनः दोहो¥याऊँ,अरुमाथि दोष थुपारेर उम्कने बाटो स्वयंले बन्द गरेकाले ओलीबाट राज्यले परिणाममुखी प्रतिफलको अपेक्षा गरेको छ । एमाले अध्यक्ष केपी ओलीलाई हार्दिक बधाई तथा शुभकामना !
