यतिबेला देशभर राजनीतिक दलको अधिवेसन चलिरहेको छ । अधिवेसनले केन्द्रीय महाधिवेसनकालागि प्रतिनिधि छान्ने देखि वडा, गाउँ, नगर र जिल्लाको नेतृत्व पनि चयन भैरहेको छ । नेतृत्वकालागि कार्यकर्ताहरु उत्साह बोकेर निस्केका छन् । उनीहरुको उत्साहले यतिबेला दलहरुमा केही सन्देश दिन खोजेको छ ।
राजनीतिक दलहरु परंपराबादी, कुर्ची नछाड्ने र व्यक्ति तथा स्वार्थ केन्द्रीत भैरहेको बेला कार्यकर्तामा भने परिवर्तनको लहर देखिएको छ । उनीहरुले दलहरुको नेतृत्वमा बुढापाकाहरुको उपस्थितिलाई नमान्ने क्रम शुरु भएको छ । हरेक प्रतिनिधिमा युवाको सहभागिता बढाउने र नीति प्रधान बनाउनुपर्ने आबाज समेत उठेको छ । अधिवेसन र महाधिवेसनमा नेता वा नेतृत्वले टाउको छान्ने प्रवृत्तिको पनि अन्त्य गर्नुपर्ने धारणा आउन थालेका छन् । जसका कारण युवाहरुको चाहनाले बिस्तारै दलभित्र स्थान खोज्दैछ ।
कांग्रेस महाधिवेसनकालागि आएका प्रतिनिधिबाटपनि कम्तिमा ४० प्रतिशत युवा आएको आकडा देखिएको छ । यो आंकडाले भविष्यको नेतृत्वपनि युवानै हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । त्यतिमात्रै हैन, युवाहरुले केही परिवर्तन चाहेका छन् भन्ने पनि सन्देश आउनेछ । राजनीतिमा लागेका युवाको भविष्य के हुने ? राजनीतिनै पेशा हो वा राजनीतिक कार्यकर्ताले पनि केही गर्नुपर्छ भन्ने सन्देश अब नेतृत्वले दिनुपर्ने बेला पनि आएको छ । जीवनभर झोला बोकेर हिड्दा केही नभएपछि गुटबन्दी, गुण्डागर्दी र पदमा पुग्दा भष्ट्राचार गर्ने प्रवृत्ति बढेको छ । यो पटक्कै राम्रो पक्ष होइन । कतिपय जिल्लामा त डन, गुण्डाहरुनै दलको नेतृत्वमा पुगेका छन् । त्यो देशका प्रमुख पार्टीहरुमै छ । बिशेषगरी एमाले, कांग्रेस, माओवादी जस्ता दलमै डनगुण्डाहरु पदमा पुग्न थालेका छन् । पार्टीमा योगदान गरेका, निस्वार्थ राजनीति गरेका र त्याग तथा समर्पण गर्न सक्ने नेताले उनीहरुसँग प्रतिष्पर्धापनि गर्न नसकेको यथार्थता देखिन्छ ।
बागलुङको राजनीति नियाल्ने हो भने महाधिवेसन प्रतिनिधि मार्फत केन्द्रीय नेतृत्वमा पनि परिवर्तनको लहर ल्याउनुपर्छ भनेर झण्डै ४० देखि ५० प्रतिशत युवा प्रतिनिधि आएका छन् । ४० बर्ष मुनिका युवा र ४० देखि ५० बर्ष समूहका समेत गर्दा झण्डै दुइतिहाइ प्रतिनिधि छन् । वडा र नगर तर्फत सबैजसो युवानै छन् । वडामा आएका एकादुइ बुढापाकापनि युवाको रोजाइमा पर्नेहरु छन् । अर्थात अब बुढा नेताको पछि लाग्ने, उनीहरुको परंपराबादी ढर्रामा हिड्ने चाहना युवामा छैन । त्यसो भन्दैमा राजनीति कच्चा हुने हो की भन्ने आशंका नभएको होइन । तर प्रविधिले गर्दा युवाहरुले धेरै काम गरेर देखाउन सक्छन् । बिज्ञान, मानविकी र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर गरेका युवाहरु राजनीतिमा आएका छन् । त्यसले उनीहरुमा केही गरांैं भन्ने भावना पनि बिकास भएको देखिन्छ । अब राज्यले पनि समयमै युवाहरुलाई सदुपयोग गर्न सक्नुपर्छ । अर्थात उनीहरुको क्षमता स्वदेशमै प्रष्फुटन हुन दिनुपर्छ । अन्याथा सबै युवा पलायन भएर बुढापाकाको देश बन्न सक्छ ।
समग्रतामा हेर्दा युवाहरुले नेतृत्वमा चाहना राख्दा नेपालको राजनीतिमा सुधार आउने, स्वादेशमा काम गर्ने वातावरण, उत्पादनमा जोड र राजनीति नेतृत्व मार्फत देशको बिकास गर्न सकिने लक्षण देखिएको हो । यो लक्षणलाई बिकासबादी सोच र बिकासका अबसरमा बदल्न ढीला गर्न हुँदैन । बुढ्यौली लागेका नेताले सल्लाह दिएर युवालाई अगाडि बढ्ने अबसर दिएभने राजनीति फेरी केही संग्लो र सभ्य बन्ने थियोकी ?
