बागलुङ/शान्ति मावि कुश्मीशेराले मेघा विद्यालयको अवधारणामा प्रवेश गर्ने घोषणा गरेको छ । बुधबारदेखि हिरक वर्षमा प्रवेश गरेको विद्यालयले एक समारोहको आयोजना गरी मेघा विद्यालय तयार गर्ने घोषणा गरेको हो ।
सुविधासम्म सामुदायिक नमुना विद्यालयको रुपमा शान्ति माविलाई तयार गर्न सबै क्षेत्रसँग विद्यालयले सहकार्य गर्ने जनाएको छ । विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रअ यामबहादुर जिसीले ६० बर्षे यात्रा सम्पन्न गरेको विद्यालय परिपक्क बनेको भन्दै सरकारले ल्याएको अवधारण अनुसार मेघा विद्यालयका लागि तयार हुनुपर्ने बताए ।
‘२०७२ सालदेखि छात्राबासको व्यवस्था गरेका छौं, प्राविधिक शिक्षासहितको पठनपाठन हुन्छ’, जिसीले भने ‘आवश्यक सबै पूर्वाधार तयार गरेर समय सुहाउँदो विद्यालय तयार गर्दैछौं ।’ नगरको मुकाममा रहेको विद्यालयलाई नमूना विद्यालय बनाउँदै सबै विद्यालयको अग्रणी संस्था बनाउनेमा विद्यालय लागेको उनले बताए । शिक्षक, अभिभावक, समुदाय र विद्यार्थी तथा सरोकारवालाको सहयोगमा विद्यालय लक्ष्यमा पुग्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माले पूर्वाधार सम्पन्न भएका सामुदायीक विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम गर्नु चुनौतीपूर्ण रहेको भन्दै त्यसका लागि विद्यालय व्यवस्थापन समितिले वातावरण तयार गरिदिने बताए ।
२०१८ सालमा प्राथमिक तह स्थापना भएको विद्यालयले बुधबारबाट हिरक वर्ष प्रवेशको घोषणा गरेको छ । एक बर्षभरी शैक्षिक उन्नयनका विविध कार्यक्रम गरेर हिरक वर्ष मनाइने विद्यालयले जनाएको छ ।





