कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन नेपाल भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन संक्रमणको पुष्टि गरेको हो । मंसिर ३ गते नेपाल आएका ती विदेशी नागरिकमा कोभिडको नयाँ भेरिएण्ट पुष्टि भएसँगै सन्त्रास बढ्न पुगेको छ । यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती दुबै आइसोलसनमा रहेको र स्वास्थ्यकर्मीले निगरानी गरिरहेको बताइरहेको छ । हवाइ मार्ग हुँदै आएका २ जनामा पुष्टि हुँदा स्थल र अन्य बाटो हुँदै नेपाल आएकाहरु पनि संक्रमित हुनसक्ने खतरा बढेको छ ।
कोभिडको नयाँ भेरिएण्ट बढी संक्रामक रहेको स्वास्थ्यकर्मीहरुले बताइसकेका छन् । सबै नागरिकले खोप नपाएको र आवश्यक पर्ने तेस्रो मात्रा खोपको प्रबन्ध नभइसकेको अवस्थामा देखिएको संक्रमणले नागरिकमा त्रास फैलनु अस्वभाविक हैन । पछिल्लो समयमा स्वास्थ्य मापदण्डको उल्लघंन पनि नागरिक त्रसित बनाउने अर्को कारण हो । नेपालले पहिलो पटक नै कोभिड रोकथाममा पर्याप्त ध्यान पु¥याउन सकेन । चीनमा कोभिड पुष्टि भएसँगै त्यहाँ रहेका विद्यार्थीहरुलाई ल्याइयो तर सीमा नाकामा कडा निगरानी,आइसोलेसन र क्वारेण्टिनको व्यवस्था गर्न सरकार असमर्थ रह्यो । लकडाउनलाई कोभिड नियन्त्रणको एकमात्र हतियार बनाइयो । पहिलो चरणमा स्थानीय सरकारहरुले भने सक्रियता देखाए ।उनीहरुको सक्रियता सह्रानीय थियो तर सीमा नियन्त्रण हुन नसक्दाको परिणाम हामीले भोग्नु नै प¥यो । दोस्रो चरणसम्म आइपुग्दा त स्थिति स्थानीय तहहरु पनि थाकिसकेका थिए । विभिन्न देशहरुले कोभिडविरुद्धको खोप अभियान संचालन गरिरहँदा नेपाल सरकार लाचार थियो । खोपको लागि गरिएका याचनाहरु निष्प्रभावी बन्नु तथा आफै खोप ल्याउने अवस्था नहुँदाको परिणाम व्यहोर्न नागरिकहरु बाध्य भए । ठूलो जनधनको क्षति भयो ।
अहिले पर्याप्त खोप आएको छ । आउँदो वैशाखसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने गरी काम भइरहेको सरकारले जिकिर गरेको छ । बुस्टर अर्थात् तेस्रो मात्रा खोप लगाउनेबारे तयारी थालिएको कुरा पनि बाहिर आएको छ । तर, नागरिकहरु आश्वस्त हुन सकेका छैनन् । ओमिक्रोनको संक्रमण बढेमा पुनः लकडाउन नै गरिने हो कि भनेर नागरिक त्रसित छन् । सोमबारबाटै त्यसको प्रभाव नागरिक र अर्थतन्त्रमा देखिन सुरु गरेको छ । लयमा फर्कन लागेको अर्थतन्त्र यही हल्लाले पुनः डाँवाडोल हुने खतरा बढेको छ । लकडाउन समस्याको समाधान हुनै सक्दैन । सरकारले लकडाउनको आशंकालाई खारेज गरेपनि त्यो सम्भावनालाई नकार्ने अवस्था छैन भन्ने नागरिकहरुले बुझेका छन् । हाम्रा स्वास्थ्य पूर्वाधारहरु भरपर्दा छैनन् भने रोकथाम र नियन्त्रणमा प्रभावकारी कार्य हुन्छ भन्ने ग्यारेण्टी पनि छैन । यो विषमतामा नागरिकहरुले त्रसित भइरहँदा आश्वस्त पार्नेतर्फ सरकारले तत्काल कदम चाल्नुपर्छ । आवश्यक स्वास्थ्य उपकरण, पीपीइ,औषधि,खोप र जनशक्ति तयार पार्नुपर्छ ।अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा कडाइ गरिनुपर्छ । विदेशबाट आउनेहरुको हकमा अनिवार्य क्वारेण्टिन र पीसीआर परीक्षण गराउनुपर्छ । संकटको बेला नागरिकको पनि दायित्व रहन्छ । नागरिकहरुले तोकिएका स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पूरा गर्नैपर्छ । संक्रमण फैलिँदा त्यसले जसलाई पनि आक्रमण गर्नसक्छ । यो सत्यलाई मनन गर्नैपर्छ । अहिलेलाई भने आम नागरिकको दैनिकी सामान्य बनाउनेमा सरकारको ध्यान जानुपर्छ ।
