बागलुङ/ ‘हामीसँग सवारी चालउने सिप छ तर सरकारले लाईसेन्स दिँदैन्, दुर्घटना भए त्यहि बहानामा लाईसेन्स हुनेले भन्दा धेरै सजाय भोग्नुपर्छ, यो कस्तो खालको अन्याय हो ?’ धवलागिरी बहिरा आवासीय माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक सन्तोष पौडेलले भने ‘हामीलाई पनि सरकारले लाईसेन्स दिलाईदिनुपर्छ, अन्यायमा परेका छौं ।’
बहिरा संघ बागलुङको २१ औं साधारण सभामा शुक्रबार सहभागि बहिराहरुले यस्तै गुनासाका पोका फुकाए । सरकारी रोजगारीमा दिईने कोटामा बहिराका लागि विशेष कोटाको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । ‘भाषामै हामी कमजोर छौं, अपांगता भएकाहरुका लागि दिईएको कोटामा हामीले अन्य अपांगले जस्तो प्रतिस्पर्धा गर्न सक्दैनौं’ पौडेल भन्छन् ‘तर हामीमा सिप, ज्ञानको कमजोरी छ भन्ने होईन, यो विभेदको अन्त्य हुनुपर्छ ।’
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बहिराका लागि सिप र रोजगारीसँग जोडिएका कार्यक्रम ल्याउन स्थानीय सरकार तयार रहेको बताए । बहिराहरुको सांगठनिक कुशलता र सक्रियताको प्रशंसा गर्दै पौडेलले अधिकारको लडाईंमा साथ दिने आश्वासन दिए । हिउँदे नगरसभाबाट बहिरा तथा अन्य अपांगता भएका व्यक्तिहरुको संगठनका लागि आवश्यक भवनको प्रबन्ध गर्ने वातावरण बनाउने आश्वासन पौडेलले दिए ।
बागलुङ विशेष बाल कक्षाका प्रधानाध्यापक युक्तजंग राजभण्डारीले विषेश क्षमता भएकाहरुलाई क्षमता अनुसारको सम्मान र व्यवहार चाहिने बताए । बहिरा संगठनले गरेका काम र संगठित तथा असंगठित बहिराहरुको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि सरकारले गम्भिर भएर सोच्नुपर्नेमा उनले जोड दिए । कार्यक्रम बहिरा संघ बागलुङका अध्यक्ष नलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।





