बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भ्रष्टाचार न्यूनीकरणमा नागरिक सचेतता

भ्रष्टाचार न्यूनीकरणमा नागरिक सचेतता


  • Dhorpatan News
  • मंसिर २६ २०७८, आइतबार

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको औपचारिक कार्यक्रम भर्खरै सकिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायहरुबाट आयोजित औपचारिक कार्यक्रममा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११७ औं स्थानमा छ । दक्षिण एसियाको भुटान २४ औं स्थानमा हुँदा नेपालभन्दा तल पाकिस्तान, बंगलादेश र अफगानिस्तानमात्रै रहेका छन् । अझ, नेपालमा हरेक वर्ष भ्रष्टाचार बढ्दै गएको देखिएको छ । भ्रष्ट राष्ट्रमा गनिनुले नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको छ । दाता राष्ट्रहरुले अविश्वास व्यक्त गरेका छन् ।

भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थिरतालाई मुल कारण मानिएको छ । यसैगरी समाजमा अरुभन्दा उच्च देखिन चाहने प्रवृत्ति, नैतिकतामा ह्रास एवं नातावाद र कृपावादले पनि भ्रष्टाचार बढाएको छ । रुख टुप्पोबाट सुक्न थाल्छ । भ्रष्टाचार पनि माथिबाटै सुरु हुन्छ । राजनीतिक नेतृत्व स्वयं भ्रष्टाचारमा लिप्त हुँदा त्यसको जालो तल्लो तहसम्म पुग्छ । नेपालमा अहिले त्यही भएको छ । राजनीतिक नेतृत्वहरु ठूला–ठूला घोटालामा मुछिएका छन् । भ्रष्टाचारीहरु नेताहरुबाटै संरक्षित छन् । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेहरु छाति फुलाएर हिँडेका छन् । भ्रष्टाचारीले सहजै उन्मुक्ति पाउँदा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारविरुद्ध कारवाही गर्न अख्यितार दुरुपयोग अनुसन्धान आयोग क्रियाशिल छ । तर, पछिल्लो समयमा अख्यितारले ठूला घोटालाहरुमा आँखा लगाउन छाडेको जनगुनासो बढ्दो छ । साना माछा समात्ने र ठूलालाई उन्मुक्ति दिने रोगले अख्यितार ग्रस्त भएको छ । देखाउनको लागि केही साना भ्रष्टाचारका घटनामा हात हाल्ने तर ठूला घोटालाहरुको फाइल नै नखोल्दा कानूनी रुपले अधिकार सम्पन्न अख्यितार आलोचित बनेको हो ।

अख्तियार राजनीतिक नेतृत्वको लाचार छायाँ हुुनबाट जोगिनुपर्छ । कानूनले दिएको अधिकार प्रयोग गर्दै सबैखाले भ्रष्टाचारविरुद्ध सशक्त अभियान संचालनमा ल्याइनुपर्छ । राजनीतिक नेतृत्वबाट नीतिगत रुपले भए÷गरेका घोटालाहरुमा आँखा चिम्लने प्रवृत्तिमा सुधार हुनुपर्छ । अर्कोतर्फ, भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरिनुपर्छ । भ्रष्टाचारीलाई सामाजिक वहिष्कार गर्ने अभियान थालनी हुनुपर्छ । नागरिकस्तरबाट गरिने यस्ता कार्यक्रमले भ्रष्टाचारीको मनोवल घटाउने र सुशासन कायम गर्न मद्दत पु¥याउँछ । एकीकृत प्रयासबाटै भ्रष्टाचार रोक्न सकिन्छ । पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा नागरिकस्तरबाट अभियान थालिनुपर्छ । सदाचार र नैतिकवान बन्ने अभियान व्यक्ति स्वयंबाट सुरु गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->