बागलुङ/कृषि यान्त्रिकरण तथा नविकरणीय ऊर्जा सामाग्री मर्मत सम्भारसम्बन्धी सात दिने तालिम बागलुङमा शुरु भएको छ । बागलुङ, पर्वत र म्याग्दीका किसानका लागि उक्त तालिम दिइएको हो ।
इसिमोड र नेपाल कम्युनिटर नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग, कृषि ज्ञान केन्द्र बागलुङको प्राविधिक सहयोग र क्वालीटी रिन्युएबल इनर्जी प्रालिको आयोजनामा ३० जना युवा किसानका लागि तालिम आयोजना गरिएको हो । तालिममा बागलुङका सबै पालिकाका युवा किसान तथा पर्वत र म्याग्दीका पाँच÷पाँच जना सहभागी छन् ।
तालिममा दक्ष प्राविधिक प्रशिक्षकले तालिम दिने क्वालिटी रिन्युएबल इनर्जी प्रालिका सञ्चालक सूर्य गौतमले बताए । ग्रामीण क्षेत्रमा वितरण भएका यान्त्रिक हलोको मर्मत गर्नका लागि दक्ष प्राविधिक बनाउन यो तालिम आयोजना गरिएको हो । यस्ता प्रकारका तालिमले युवा रोजगार बढाउने र गाउँ गाउँमै प्राविधिक उत्पादन हुने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । तालिम उद्घाटन गर्दै उनले अब दशवटै पालिका तहमा पनि तालिम चलाएर वडा वडामा प्राविधिक बढाउनुपर्ने बताए ।
कार्यक्रममा ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले व्यवसायिक किसानलाई नै दक्ष बनाउने लक्ष राखेको सुनाए । हरेक वर्ष वितरण भएका हलो सदुपयोग गर्दै राज्यको अनुदानको सुरक्षा गर्न तालिमले सघाउने बताए । जिल्ला कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाको अध्यक्षता र प्रालिका सञ्चालक सूर्य गौतमको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो । तालिममा अन्य प्राविधिक ज्ञान र उर्जा सम्बन्धी जानकारीसमेत दिने लक्ष्य राखिएको गौतमले जानकारी दिए ।





