गण्डकीको राजधानी पोखरालाई बेलाबेला अभियन्ताहरुले विभिन्न उपमासहित ‘राजधानी’ घोषणा गरिदिन्छन् । गण्डकी सरकार स्वयंबाट पर्यटकीय राजधानीको प्रस्ताव गरिनुअघि नै यो सुन्दर सहर विभिन्नखाले राजधानीको रुपमा दर्ज भइसकेको छ । तीमध्ये खेलकुद प्रमुखमध्ये नै पर्छ । सम्भवतः कमजोर पूर्वाधार नै सही, पोखरा नागरिकस्तरबाटै बढी खेलकुद प्रतियोगिता हुने सहरहरुमध्ये पर्छ । यहाँ नागरिकस्तरबाटै फुटबल, भलिबलदेखि क्रिकेटसम्मका प्रतियोगिताहरु आयोजना गरिन्छन् । पञ्चायतकालमा अधिग्रहण गरिएको तर स्याहार र संरक्षण नपाएको पोखरा रंगशालामा पर्खाल लगाएर नागरिकहरुबाट प्रदर्शित खेलमोहबाटै पोखरा खेलकुदको राजधानी हो भन्ने प्रमाणित हुन्छ । सरकारीस्तरबाट बाध्यता र कलबलले आयोजना हुने प्रतियोगिताका अलावा यस्तै ठूला मन भएका नागरिकहरु यहाँ खेल गतिविधि संचालनको लागि अघि सर्छन् । पछिल्लो समयमा यहाँको सहारा क्लबले संस्थागत रुपमा फुटबल प्रतियोगिताको आयोजना गरेर आफूलाई अब्बल सावित गरेको छ भने अन्य खेलसँग आवद्ध संघ÷संस्थाहरुले पनि गच्छेअनुसारका गतिविधि गरिरहेका छन् ।
१३ औंं दक्षिण एसियाली खेलकुदका केही प्रतियोगिताहरु पोखरामा आयोजना गरिने निर्णयसँगै यहाँका खेलकुद पूर्वाधारको स्तरोन्नति भएको छ । पोखरा रंगशालाले नयाँ रुप पाएको छ । रंगशालाले नयाँ रुप पाएपनि लगत्तैको कोभिड १९ का कारण खेल गतिविधिहरु संकुचनमा परे । तर,पछिल्लो समयमा भने खेलले गति लिने देखिएको छ । पहिलोपटक नेपालको ए डिभिजन लिगका खेलहरु राजधानीबाट बाहिर आयोजना हुँदा पोखरा पहिलो प्राथमिकतामा परेको छ । मनाङ–मस्र्याङ्दी क्लबले पोखरा रंगशालालाई आफ्नो गृहमैदान मानेसँगै खेल पोखरा आएको हो । पोखरामा शनिबार प्रहरी र मनाङबीच पहिलो खेल भएसँगै नेपाली फुटबलमा गृहमैदान र बाहिर प्रतियोगिता गरिने प्रचलन स्थापित भएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको यो निर्णयबाट पोखरेली खेल गतिविधिमा टेवा पुग्ने विश्वास लिइएको छ । पोखराको वातावरण खेलमैत्री भएकोमा कुनै द्धिविधा छैन भने दर्शकको कमी पनि छैन । यहाँको सुन्दरताले कमजोर पूर्वाधारलाई बिर्साउने हैसियत राख्छ । खेलकुद विकासमा राज्यको ध्यान नै कम भएको बेला,पोखराले के पायो भन्नुभन्दा पनि स्वयं जुर्मुराउनु पर्छ । आयोजना र व्यवस्थापनमा अब्बल छ भन्ने सन्देशसँगै पूर्वाधार सुधारको लागि सरोकारवालाहरुलाई झक्भक्याउनुपर्छ । सामान्यतयाः खेलकुदका गतिविधि खेलाडीको लागिमात्रै हो भन्ने मान्यता छ तर त्यसो होइन । खेलकै कारण बढ्ने मानवीय गतिविधिले आर्थिक र सामाजिक गतिविधिमा प्रभाव पार्छ । खेलकुट पोखराले भन्दै आएको पर्यटनको महत्वपूर्ण सहयोगी बन्नसक्छ । फुटबलको लिग पोखरा आएको छ । अब अन्य ठूला प्रतियोगिताहरु पनि पोखरा ल्याउने जमर्को गरिनुपर्छ । प्रतियोगिताहरुको सफल आयोजनाले समग्र गण्डकी चलायमान गराउने अभियान थालनी हुनैपर्छ ।
