बागलुङ/नेपालको संविधानले प्रत्याभुत गरेका नागरिकका अधिकार प्राप्तीका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले सोमबार बागलुङमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सहभागिले मानब अधिकार हननका घटना कायम रहेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले देशमा रहेको मानव अधिकारको चित्र अन्तराष्ट्रिय स्तरमा प्रकाशन हुने पुस्तकमा समाबेश गर्ने तथ्यांकहरुमा गम्भिर हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) कृष्णबहादुर पल्ली मगरले इन्सेकले घटनाको प्रलेख मात्रै नभएर जिल्लाका अन्य संयन्त्र सँग सहकार्य गरेर घटना न्यूनिकरणमा भुमिका खेल्नुपर्ने बताए ।
नेकपा एमाले बागलुङका बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परियार, नेकपा एस बागलुङका संयोजक लालबहादुर थापा, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, अधिकारकर्मी लक्ष्मी जिसी कार्की र अन्तरपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष कुशुम बुढाले घरेलु हिंसा कसुर ऐनमा उल्लेख भए अनुसारको व्यवस्था सबै स्थानीय तहमा हुनुपर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विक, सह–सचिव तारानाथ आचार्य, संगम घर्ती, प्रकाश बरालले इन्सेकले काम गर्ने क्षेत्र फराकिलो बनाउँदै वायु प्रदुषण ध्वनी प्रदुषणले पर्यावरण र मानव स्वास्थ्यमा पारेको असरको बारेमा अध्यन गर्नुपर्ने बताए ।
कार्यक्रममा मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक बागलुङले सन् २०२१ जनवरी देखी नोभेम्बरसम्म तयार गरेका ६० वटा घटनामाथी छलफल गरिएको थियो । इन्सेक बागलुङले यो अवधिमा बागलुङमा राजनीतिक अधिकारका २, बालअधिकार सम्बन्धी १५, घरेलु हिंसा २५, महिला माथि भएको बलात्कार ८, हत्या ४, बहुविवाह ३, अभद्र व्यवहार १ र हत्या प्रयाशका २ गरि ६० वटा घटना उल्लेख गरेको छ ।





