बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

त्रिभुवन विश्वविद्यालय सुधारौं

त्रिभुवन विश्वविद्यालय सुधारौं


  • Dhorpatan News
  • पुष ६ २०७८, मंगलबार

त्रिभुवन विश्वविद्यालयबाट २९ हजार ७२९ जना विद्यार्थी दीक्षित भएका छन् । ५९औं ग्रेस लिस्टमा परेका विद्यावारिधि,डिएम,दर्शनशास्त्री,स्नातकोत्तर तथा स्नातक तहका विद्यार्थीहरु त्रिविको ४७ औं दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । देशकै जेठो त्रिभुवन विश्वविद्यालयले हालसम्म लाखौं विद्यार्थीलाई दीक्षित गरिसकेको छ । देशका अन्य विश्वविद्यालयमा अध्यापन गराउने जनशक्ति उत्पादनको श्रेय पनि यही विश्वविद्यालयले पाएको छ । देशको पुरानो भएकाले नाताले त्रिविले नेपालको शैक्षिक उन्नयनमा ठूलै योगदान गरेको छ तर यो पर्याप्त र युग सापेक्ष हुन भने सकेको छैन । पछिल्लो समय विश्वविद्यालय स्वयं वेथितिको चंगुलमा फसेको छ । ६२ वर्ष पुरानो विश्वविद्यालय राजनीतिक भर्तीकेन्द्र बन्न पुगेको छ । प्राध्यापकहरु राजनीतिक दलका कार्यकर्ता बन्दा प्राज्ञिक मर्यादा गुमेको छ । शैक्षिक कार्यक्रमहरु लथालिङ्ग भएका छन् । अध्ययन र अनुसन्धानको नाममा बोर्डहरु झुण्डिएका छन् तर उपलब्धी शुन्य छ । त्रिविको तलब खाने तर निजी कलेजमा काम गर्नेहरु एकातिर छन् भने राजनीति गर्नेहरु अर्कोतिर । उपकुलपति, रेक्टर, रजिष्टारजस्ता पदहरुमा राजनीतिक भागबण्डा हुँदै आएको छ । भागबण्डाको चेपुवामा परेको विश्वविद्यालय वेथितिको पर्याय बन्न पुगेको छ । उत्पादित जनशक्तिले विश्वबजारमा प्रतिष्पर्धी क्षमता गुमाएका छन् । कुनै बेला अब्बलमै गनिने विश्वविद्यालय दिनानुदिन रसातलतिर भासिदै छ तर चिन्ता कसैलाई छैन ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै सिर्जनात्मक, नव–प्रवर्तनशील र युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादनमा जोड दिए । उनले प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको पनि औंल्याए । भाषणमा उनले भनेका कुरामा असहमति जनाउने कारण छैन तर कुलपति तथा प्रधानमन्त्रीले समस्या सुल्झाउनेतर्फ ध्यान दिन सकेका छैनन् । पानी जसले धमिलो बनायो, सङ्ल्याउने काम पनि उहीबाट हुनुपर्छ । राजनीतिक नेतृत्वले बिगारेको शैक्षिक माहौल राजनीतिले नै सपार्न सक्छ । विश्वविद्यालयलाई साँच्चिकै प्राज्ञिक थलो बनाउने हो भने, युग सुहाउँदो जनशक्ति उत्पादन गर्ने हो भने विश्वविद्यालयमा भएको राजनीतिकरण बन्द गरिनुपर्छ । गलत गर्नेहरुलाई कारवाही गरिनुपर्छ । अध्ययन अनुसन्धानको लागि पर्याप्त बजेटको व्यवस्था गरिनुपर्छ भने युग सुहाउँदा पाठ्यक्रमहरु विकास गरिनुपर्छ । बिग्रिएको शैक्षिक क्यालेण्डरलाई सही बाटोमा डोहो¥याउन सकेमा पनि ठूलै सुधार हुन्छ भन्ने बुझ्नुपर्छ । ढिला भइसकेको छ तर सुधारका सम्भावना बाँकी छन् । अब ढिला गरिनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->