बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सतीको श्राप परेकै हो त ?

सतीको श्राप परेकै हो त ?


  • Dhorpatan News
  • पुष ८ २०७८, बिहिबार

केही होलाजस्तो हुन्छ, एउटा विघ्न परिहाल्छ । आशाको संचार हुँदै गर्दा निराशाले घेरिहाल्छ । केही गरौं भन्ने व्यक्ति पलायन हुनुपर्छ । असल नियतले सम्पादित कार्यमा पनि घुन लाग्छ । नेपालको सन्दर्भमा सबैजसो क्षेत्रमा यस्तै हुँदै आएको छ । अनि,हामीले भन्दै आएका छौँ– यो सतीले सरापेको देश हो !
सतीको श्रापको यो कडी अहिले नेपाली क्रिकेटसँग जोडिएर आएको छ । पछिल्ला वर्षहरुमा नेपाली क्रिकेटले प्राप्त गरेको सफलता लोभलाग्दा थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट भएको प्रदर्शन,घरेलु रुपमा क्रिकेटको व्यावसायिक विस्तारसँगै क्रिकेट नेपालमा लोकप्रिय हुँदै गएको थियो । दक्षिण एसियाली राष्ट्रहरु भारत,पाकिस्तान,श्रीलंका, बंगलादेशमा लोकप्रिय रहेको यो खेलप्रति आम युवाहरुको आकर्षण ह्वात्तै बढेको थियो । राम्रा खेलाडी उत्पादन हुन थालेका थिए । नेपाली खेलाडीहरु अन्तर्राष्ट्रिय व्यावसायिक प्रतियोगितामा सहभागिता जनाउने हैसियतमा पुगेका थिए । अन्यजस्तो यो खेल राजनीतिको चपेटामा नपर्ला र नेपालीले खेलमार्फत् नै गर्व गर्न पाउने वातावरण बन्ला भन्ने आम नेपालीको आशा थियो । तर,जसै नेपाली क्रिकेटले गति लिन थाल्यो, अन्य खेलको रोग क्रिकेटमा पनि भित्रियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्यानलाई निलम्वन गरिदियो । क्यानमा देखिएको चरम गुटबन्दीले सिर्जित विषमताले खेलाडी प्रभावित बने । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने अवस्था आयो । तर,पछि निलम्बन फुकुवा भयो । आइसीसीबाट आउने सहयोग नियमित भयो । खेलप्रेमीहरु खुसी भए तर त्यो खुसी धेरै टिकेन । क्रिकेटमा लागेको पुरानो रोग विभिन्न बहानामा बल्झँदै आयो । र,यसको पछिल्लो कडी क्यानले ४ खेलाडीलाई गरेको कारवाहीमा आइपुग्दा छताछुल्ल भयो । क्रिकेट खेलाडीहरु ग्रेडिङको विषयमा असन्तुष्ट थिए । कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीहरु असन्तुष्ट भएकै अवस्थामा क्यानले उनीहरुमाथि कारवाही गरिदियो । खेलाडीहरुले राजनीतिक शक्तिकेन्द्र गुहारे । क्यानले गरेको निलम्बनमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्रीसम्मले चासो देखाए ।
कारवाही फिर्ता गर्न क्यानमाथि राजनीतिक दवाव आयो । क्यान नरम देखिएको छ तर अरु खेलभन्दा बढी पारिश्रमिक पाउँदै आएका क्रिकेट खेलाडीहरुले खेल खेल्ने हो कि राजनीति गर्ने हो भन्ने प्रश्न पनि सँगै सतहमा आएको छ । नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान पारश खड्का यो प्रकरणमा मुछिएका छन् । उनकै उक्साहटमा खेलाडीहरु विभाजित भएको क्रिकेटलाई नजिकबाट बुझ्नेहरुले जिकिर गरिरहेका छन् । कप्तानबाट हटेसँगै क्यानको नेतृत्वमा आउन खोजेका पारश खेलमा जति सफल छन्,राजनीतिक नेतृत्वसँग पनि उनको त्यत्तिकै नजिकको सम्बन्ध छ । उनी नेपाली क्रिकेटलाई प्रभावित गर्नसक्ने शक्तिकेन्द्रको रुपमा उदाएका छन् ।
क्यानले खेलाडीको वर्गीकरणमा न्याय नगरेको पक्कै हो तर खेलाडीले अनुशासन भने मान्नैपर्छ । खेलाडीहरु ध्रुविकृत हुनु र म नभए केही पनि हुन्नँ भन्ने घुर्की लगाउनुलाई आफैमा राम्रो हैन । यसरी हेर्दा यो प्रकरणमा खेलाडीहरु पनि चुकेका छन् । खेलाडीहरुले नेताको दैलो चहार्नुलाई राम्रो मान्न सकिँदैन । यो प्रकरणमा कसैको हार वा जित होला नै ! तर, जे देखिएको छ,त्यो क्रिकेटको लागि घातक छ । क्रिकेट बिग्रने बाटोमा पुगेको छ । त्यसैले प्रश्न गर्न थालिएको छ– के यो सतीको श्राप परेकै देश हो त ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->