पोखरा-नेपाली कांगे्रसका उपसभापति धनराज गुरुङले नेताले बदमासी गर्दा देश नै बिग्रँदै गएको बताएका छन् । उनले खराब नेता नबन्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
‘एउटा( कर्मचारी)ले बदमासी गर्दैमा सबै सकिँदैन । एउटा इञ्जिनियरले पुल र सडक बनाउँदा घुस खायो भने पुल छिट्टै बिग्रन्छ, एउटा इञ्जिनियरले बाटो बनाउँदा घुस खायो भने बाटो छिट्टै भत्कन्छ’, पोखरामा बुधबार आयोजित एक कार्यक्रममा उनले भने, ‘देश चलाउने नेताले घुस खायो,कमिसन खायो भने सिंगो देश बिग्रन्छ । त्यसैले म खराब नेता बन्न चाहन्नँ । जहाँ पुगे पुगौँला तर अहिलेसम्म मन्त्री भएको छैन ठीकै छ ।’
उनी नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको १० औं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै थिए । उनले आफू अहिले कांग्रेसको उपसभापतिमात्रै बनेको र अब देश चलाउने अठोटका साथ अघि बढेको पनि बताए ।
‘गोबर सोहोरेका यिनै हात हुन्, गाउँमा घाँस काटेका यिनै हात हुन् । अब मलाई लाग्छ, देशको नीति लेख्ने ठाउँमा पनि यिनै हात पु¥याउँछु भन्ने अठोटले अगाडि बढिरहेको छु’,उनले भने, ‘गोबर सोर्न छाडेर आन्दोलनमा हिँडेको मै हुँ,घरमा बाच्छो, भैंसी कराउँदै गर्दा घरमा घाँस नकाटेर जुलुसमा कराउँदै हिँड्ने मै हुँ । यो देशको कथा व्यथा मलाई राम्रोसँग थाहा छ ।’
उनले यो मुलुक बनाउँछौं भनेर आन्दोलन गरेका नेताहरु मुलुक बनाउने ठाउँमा पुग्दा पनि भ्रष्ट प्रवृत्ति नबलिदएका कारण देश उभोँ नलागेको जिकिर पनि गरे ।
उनले नेपाली कांग्रेसका एक नेताले आफूलाई मन्त्री पदको अफर गरेको तर पछि नपाएको पनि खुलासा गरे । त्यो बेला सम्झैँदै उनले भने,‘ ती नेतासँग मैले यदि मन्त्री बनाउनुभयो भने मलाई विज्ञान तथा प्रविधि मन्त्रालय दिनुहोस् भनेको थिएँ । श्रद्धेय नेता दंग पर्नुभयो । सबै नेताले भौतिक, स्वास्थ्य लगायतका मन्त्रालय खोज्छन् भनेर भन्नुभयो । मैले भनेको थिएँ, तपाईंले पनि मैले पनि अहिलेको युग विज्ञान र प्रविधिको युग भन्ने अनि त्यही मन नपराउने ? हो, हामी यस्तै कुरा गर्छौँ । समग्र देशको हितमा राजनीति लिएर जानुपर्छ ।’
सामाजिक सञ्जाल ट्विटरमा खादा र माला नलगाउन आग्रह गर्दा पनि उनले कार्यक्रममा खादा र मालाको सम्मान पाए । सम्मानबाट उनी खुसी भएनन् र सुरुमै भने,‘धनराज गुरुङले वर्षौंदेखि खादा–माला र ब्याज वहिष्कार गर्नुपर्छ भन्दै आएको छु । म यो खादा–माला नभएदिएको भए म खुसी हुने थिएँ । आफै बदलिएर सुरु गर्नुपर्छ । एउटा गरीब विद्यार्थीलाई कापी–कलम किनिदिनुहुन्छ कि भन्ने लागेको थियो तर हामी रुपान्तरण भएनौँ ।’
आफू रुपान्तरण नहुने तर अरु रुपान्तरण भइदिओस् भन्दा देश, पार्टी र समाज रुपान्तरण नहुने उनको भनाई थियो । उनले कर्मचारी र सत्ता चलाउने मान्छेको सम्बन्ध दुई आँखाजस्तै हुनुपर्ने तर्क पनि गरे ।
दुई आँखामध्ये एउटाले अर्कालाई देख्न नसक्ने तर सहकार्य सधैं भइरहने उदाहरण दिँदै उनले भने, ‘कर्मचारी साथी र कर्मचारी साथीहरुको सम्बन्ध दुईटा आँखाजस्तो भए पुग्छ ।’ दाहिनेले देब्रेलाई कहिल्यै र दाहिने आँखाले देख्न पाउँदैन, देब्रेले दाहिनेलाई कहिल्यै देख्न पाउँदैन । तर, यी दुईबीच यस्तो सम्बन्ध छ कि दुबै आँखा सँगै सुत्छन्, सँगै झिम्किन्छन् । दाहिने आँखाले बन्द गर्छु, देब्रेलाई १२ बजेसम्म खुलै राख्छु भन्न मिल्दैन भन्ने व्याख्या गर्दा उनले ताली पनि खुबै पाए । नेपाल बुधबार र बिहीबार चल्ने वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको १० औं केन्द्रीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभरका ५ सय प्रतिनिधि सहभागी छन् ।





