बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेटवर्क व्यवसायको नाममा हुने ठगी रोक

नेटवर्क व्यवसायको नाममा हुने ठगी रोक


  • Dhorpatan News
  • पुष १३ २०७८, मंगलबार

रोजगारीको खोजीमा रहेका युवा–युवतीहरु ग्लोबल ओरियन्स नामक कम्पनीबाट ठगिएको पुष्टि भएको छ । युवा–युवतीहरुले आफू ठगिएको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् ।
काठमाडौंको बालाजुमा केन्द्रीय र पोखरामा शाखा कार्यालय भएको भन्दै सो गिरोहका व्यक्तिहरुले विभिन्न व्यक्तिबाट १३ हजारदेखि १ लाख १५ हजारसम्म असुलेको पाइएको छ । कम्पनीका पोखरा प्रतिनिधि बताउनेहरुले रोजगारीको खोजीमा रहेका युवाहरुलाई आयुर्वेदिक कम्पनीका उत्पादनहरु बिक्री गर्ने र कमाइ राम्रो हुने भन्दै लोभ्याएको थियो । तालिमको लागि भनेर सुरुमै रकम असुल्ने सो गिरोहले भनेजस्तो काम भने दिएन । अहिले कम्पनीका प्रतिनिधि भन्नेहरु सम्पर्कमा छैनन् । शाखा कार्यालयको नाममा पोखराको नयाँबजारमा स्थापना गरिएको कार्यालयसमेत बन्द छ । कम्पनीको गलत धन्दाबारे प्रहरी र संचारमाध्यममा जानकारी दिने बताउँदा संचालक भनिनेहरुले उल्टै धम्की दिएको पनि पीडितले बताएका छन् पीडितहरुले आफूहरुले रकम फसाएको कथित कम्पनीले नेटवर्क व्यवसाय गर्ने जानकारी दिएका छन् ।
केही वर्षअघिसम्म नेटवर्कको नाममा गोल्डक्वेष्ट,हर्वो,युनिटीलगायतका कम्पनीहरु क्रियाशिल थिए । ती कम्पनीले विभिन्न बहानामा सोझासाझा नागरिकलाई फसाए । रोजगारीको खोजीमा रहेका तथा स्वरोजगार बन्न चाहनेहरुको मनोदशा एवं कानूनी छिद्रमा खेल्दै त्यसका संचालकहरु मालामाल बने । सर्वसाधारणहरु ठगिएका थुप्रै उजुरीपछि कथित नेटवर्क व्यवसाय बन्द गरियो । तर, यो वा त्यो बहानामा त्यही र त्यस्तै गिरोहले नेपालमा नेटवर्क धन्दा चलाइरहेको पछिल्लो घटनाले पुष्टि गरेको छ । त्यसो त, यो गिरोहले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमै नेटवर्क व्यवसाय ब्यूँताउन लविङ गरेको थियो । पहिल्यै अनुमति दिइएको भन्दै ७ वटा कम्पनीलाई बस्तु तथा सेवा बिक्रीको अनुमति दिने र चुक्ता पूँजी ३ करोड बनाउने सिफारिस गरेको थियो । उपभोक्तावादी संघ÷संस्थाले यो सिफारिसलाई नेटवर्क व्यवसाय ब्यूँताउने प्रपञ्च भएको भन्दै विरोध जनाएका थिए । संसदीय समिति अवैध नेटवर्क व्यवसाय गर्ने गिरोहको चंगुलमा फसेको उनीहरुको आरोप थियो । सिफारिस कार्यान्वयनमा आएको छैन तर धन्दावालहरु अहिले पनि आफू अनुकूलको निर्णय गराउने ध्याउन्नमा छन् ।
असल नियतले कानूनी प्रावधान पूरा गर्दा नेटवर्क व्यवसाय संचालन गर्न मिल्ला अनि नेटवर्क व्यवसायलाई नियमन गर्न सकिएला । तर, कानूनी छिद्रहरु प्रयोग गरी बेरोजगार युवा–युवतीहरुलाई ठग्ने अभियानमा सरकारले अंकुश लगाउनैपर्र्छ । यसअघि नेटवर्कका नाममा भएका र हालै पोखरामा देखिएको ठगीलाई नजरअन्दाज गर्न मिल्दैन । नेटवर्क व्यवसायको नाममा सर्वसाधारण ठग्नेमाथि कडा कारवाही गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->