बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गृहमन्त्री खाँणको दुखेसो: सदन नचल्दा गाह्रो भयो

गृहमन्त्री खाँणको दुखेसो: सदन नचल्दा गाह्रो भयो


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७८, बिहिबार

पोखरा, १५ पुस – गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका छन् । उनले निरन्तर सदन अवरुद्ध हुँदा जनप्रतिनिधिहरुको अधिकार नै खोसिएको टिप्पणी पनि गरेका छन् ।

‘सदनमा देखिएको अवरोधबारे गम्भीर बहस गरौं, बहस गर्न संघीय संसद हुनुप¥यो’,पोखरामा आजबाट सुरु भएको २३औं सडक महोत्सवको उद्घाटन गर्दै उनले भने,‘ सरकारले सल्लाह, सुझाव माग्न खोज्छ, सदन चल्दैन । नयाँ ऐन–विधेयक ल्याउनुप¥यो । सदन नै छैन । जनप्रतिनिधि जानुहुन्छ, बोल्नै पाउनुहुन्नँ ।’

उनले सरकारमा रहँदा र नरहँदा पनि राजनीतिक दलहरु राज्यकै अंग हुनुपर्नेमा जोड दिँदै उनले अगाडि भने,‘निर्वाचनमा सहभागी भएका र बेलाबेला सरकारमा गएका नेताहरुसँग आग्रह गर्न चाहन्छु, मुलुका समस्याप्रति संवेदनशील बनौँ, सदन सुचारु गरौँ,समयको गाम्भीर्यतालाई मनन गरेर नीति बनाऊँ ।’

गृहमन्त्री खाँणले सदन नचल्दा साह्रै गाह्रो भएको र अध्यादेश पनि ल्याउन नसकिएको स्वीकारे । उनले निर्वाचनको माध्यमबाट जनप्रतिधि चुन्ने र जनप्रतिनिधिमार्फत् सरकार बनाउने प्रणालीलाई सबै राजनीतिक दलले स्वीकारेको बताउँदै अगाडि भने,‘ सरकारले यो गर्नुपर्छ, यो गर्न सकेन, यो गर्नुपर्छ भन्न पाउनुप¥यो । आलोचना गर्न त पाउनुप¥यो । संविधान हामीले नै बनाएको हो । यो प्रणालीलाई आत्मसात गरौँ र अगाडि बढाऔँ भन्ने म आग्रह गर्न चाहन्छु ।’

उनले अहिले पनि केही दल र समूहहरु छिटफुट रुपमा हतियार प्रयोग गर्ने मानशिकता रहेको उल्लेख गर्दै सबै समूहलाई वार्तामा आउन आग्रह पनि गरे । ‘लोकतान्त्रिक पद्दति अनुसार नै मुलुकलाई अगाडि बढाउने हाम्रो चाहना छ । हामी मुलधारमा आउनुभएका राजनीतिक दलहरुलाई संवादबाटै समस्या हल गर्न सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

वार्तामा नआएका दलहरुलाई पनि वार्तामै आउन आग्रह गर्छु । शान्तिको विकल्प शान्ति नै हो ।’ उनले दलहरुबीच फरक विचारका वावजुद पनि संविधान बनेको र यसलाई जोगाउने दायित्व दलहरुकै भएकोमा जोड दिए । ‘संविधानको अपनत्व लिने हो, अपनत्व लिन संशोधन आवश्यक भए समयसँगै संशोधन हुँदै जानेछ ।’

ठूला नेताको आडमा मापदण्ड मिच्न नखोजौँ

गृहमन्त्री खाँणले स्थानीयवासीको अवरोधकै कारण फेवातालको मापदण्ड कार्यान्वयमा आउन नसकेको जिकिर गरेका छन् । फेवाताल सिमाङ्कन तथा मापदण्ड निर्धारण समितिले सरकारलाई प्रतिवेदन बुझाएको तर कार्यान्वयनमा नआएको गुनासो सुनेपछि बोल्न मञ्चमा उत्रेका गृहमन्त्री खाँणले भने,‘प्रतिवेदनहरु कार्यान्वयन गर्ने प्रतिवद्धता गरोस् भन्नुभएको छ,सरकार ताल संरक्षणमा प्रतिवद्ध छ, प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा मञ्चमा आएर बोल्नेहरुले साथ दिनुहोस् ।

कार्यान्वयन गर्ने भन्ने तर खुसुखुसु यस्तो हुन्छ भन्ने थाहा थिएन भन्ने हैन । कार्यान्वयन गर भन्नुभयो भने फर्केर प्रारम्भ गर्छु । तर, ठूला नेता आउने, मलाई कुन होटलमा राख्नुभएको छ थाहा छैन ठूला नेतालाई ल्याउने, प्रतिवेदनभित्र, फेवातालको सिमाङ्कनभित्रै भएको होटलमै राखिदिने, नेतालाई भाषण गर्न लगाउने, ठूला नेताले उद्घाटन–समुद्घाटन पूर्व नै नेता हिँडे पनि भित्तामा प्लेट राखिदिने ।

फलानाद्धारा समुद्घाटन भनेर । २ वर्ष अगाडि पत्रिका पढेको है । आधिकारिक हैन । पत्रकारलाई थाहा होला । पोजिसनमा हुँदा एउटा र पोजिसनमा नहुँदा अर्को बोले गाह्रो हुन्छ । बोलेको कुरा रेकर्डमा राखिदिनुहोला ।’

गृहमन्त्री खाँणले ठूला नेता भनेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेका हुन् । ओली प्रधानमन्त्री भएकै बेला पोखरामा मापदण्डविपरीत निर्माण भएको स्वीस इन्टरन्यासनल होटलको उद्घाटन गर्ने भन्दै प्रचार गरिएको थियो ।

ओली २०७६ सालको जेठमा सोही होटलमा आएर बसेका थिए । होटल मापदण्डविपरीत भएको गाइँगुइँ चलेपछि ओलीले होटलको उद्घाटन त गरेनन् तर होटलको भित्तामा उनीद्धारा उद्घाटित भन्ने प्लेट टाँसिएको थियो ।

बैदाम २४ सै घण्टा खुलोस्

गृहमन्त्री खाँणले पोखराका होटल रेष्टुराँहरु २४सै घण्टा खुलोस् भन्ने आफ्नो चाहना भएको पनि बताए । तर, होटल र रेष्टराँले शान्ति सुरक्षामा खलल पु¥याउन नहुने उनको भनाई थियो । उनले करको दायरामा आएका होटल र रेष्टुराँलाई २४ सै घण्टा खोल्ने वातावरण बनाउन प्रशासनलाई निर्देशन पनि दिए ।

सडक महोत्सव सुरु

पोखरामा आजबाट सडक महोत्सव सुरु भएको छ ।पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई लक्षित गरी महोत्सव सुरु भएको हो ।

‘सडकमै खाऊँ, सडकमै रमाऔँ’भन्ने नारासहित रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले महोत्सवको आयोजना गरेको हो । यो महोत्सवको २३ औं संस्करण हो ।

महोत्सव ३ दिनसम्म चल्नेछ । पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने उदेश्यले महोत्सव आयोजना गरिएको संयोजक तथा रेबानका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताए ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण ५ दिने महोत्सवलाई ३ दिनमा झारिएको र स्वास्थ्य मापदण्ड अपनाएरै महोत्सव आयोजना गरिन लागेको उनले जिकिर गरे ।

उनका अनुसार महोत्सवको बेला अवलोकनकर्तालाई कोभिडको खोप पनि दिइने छ । करिब ५ सय जनाजतिलाई जोन्सन एण्ड जोन्सनको खोप दिने प्रबन्ध मिलाइएको उनले बताए ।

महोत्सव खाना र संस्कृतिको मिश्रण भएको बताउँदै उनले लेकसाइडमा संसारभरका खानाका परिकार पाक्ने जिकिर पनि गरे । ‘यहाँ संसारभरका चुल्होमा पाक्ने खाना पाक्छ,हामीले भने नेपाली परिकारको ब्राण्डिङलाई प्राथमिकता दिएका छौं’,संयोजक भट्टराईले भने,‘ महोत्सवको अवसरमा प्याराग्लाइडिङदेखि होटलको कोठा र खानासम्म नै छुट दिइएको छ ।’

उनका अनुसार महोत्सवको क्रममा लेकसाइड क्षेत्रका ठूला होटलहरु सबै बुकिङ भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->