बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले विद्यालय कर्मचारी र बालविकास केन्द्रका सहजकर्ताहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम तलब सुविधा उपलव्ध गराउने भएको छ । गाउँसभाले विद्यालय कर्मचारी र बालविकास केन्द्रका सहजकर्ताको पारिश्रमिक बृद्धिका लागि आवश्यक ४६ लाख रुपैयाँ बजेट पारित गरेको हो ।
गाउँपालिकाका ४२ वटा सामुदायीक बालबिकास केन्द्र र ५० सामुदायीक विद्यालयका कर्मचारी यो सुविधाबाट लाभान्वित हुनेछन् । ‘बजेट विनियोजन भैसकेकाले स्रोतको अभाव थियो, सञ्चित कोषको रकमबाट हिउँदे सभाले बजेटको व्यवस्था गरेपछि सुविधा उपलव्ध गराउने बाटो खुलेको छ’ अध्यक्ष अमर थापाले भने ‘अब सबैले तोकिएको पारीश्रमिक पाउने छन् ।’
गाउँसभाले औद्योगिक ग्रामको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न १० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । गाउँपालिकाको मुख्य प्रबेशद्वार निर्माणका लागि १५ लाख र दश वटा विद्यालयमा स्मार्ट स्कुल कार्यक्रम सञ्चालनका लागि १० लाख रुपैयाँ गाउँसभाले बिनियोजन गरेको छ ।





