माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरको अन्तिम साता शेयर बजारविरुद्ध आक्रामक अभिव्यक्ति दिए । उनले शेयर बजारलाई साम्राज्यवादको विकसित रुप भनेसँगै बजार ओरालो लाग्यो । प्रचण्डको अभिव्यक्तिप्रति एमाले अध्यक्ष केपी ओलीदेखि सामान्य नागरिकहरुले आपत्ति जनाए । तर,प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याएनन् । महाधिवेशनको क्रममा पनि उनले शेयर बजारप्रति विष वमन गरे । छोटो समयमै अकुत सम्पत्ति कमाउन पुँजीपतिले शेयरमा लगानी गरेको उनको जिकिर छ । प्रचण्डको अभिव्यक्तिमाथि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले औंला ठड्याएका छैनन् तर प्रचण्डको अभिव्यक्ति विपरीत उनीहरुले शेयर बजारमा लगानी गरिरहेका छन् । माओवादी केन्द्रमा शीर्षदेखि तल्लो स्तरसम्मका कार्यकर्ताको शेयर बजारमा लगानी छ । सुप्रिमो प्रचण्डको अभिव्यक्तिप्रति मौनता साँधे पनि उनीहरुले शेयरमा लगानी गरेर चुनौती दिएका छन् ।
बजारमा छरिएर रहेको पुँजीलाई एकत्रित गरी उत्पादनमा लगाउनु नै शेयर बजारको विशेषता हो । संसारभर उत्पादन र औद्योगिक क्षेत्रमा यस्तै पुँजीको उपयोग भइरहेको हुन्छ । प्रचण्डले भनेकोजस्तो यो साम्राज्यवादीले अकुत कमाउने क्षेत्र हुँदै हैन । लगानी गर्नेले नाफा खोज्छन् नै । सानो लगानी गर्नेले सानै र ठूलो लगानी गर्नेले ठूलै नाफा लिनुलाई अन्यथा मान्न मिल्दैन । शेयर बजारप्रति नकारात्मक धारणा बनाउनु भनेको पुँजी परिचालन रोक्न खोज्नु नै हो । उल्टो बाटो हिँडेर गन्तव्यमा पुग्न सकिँदैन । शेयर बजारमा हुने अनावश्यक चलखेल रोकिनुपर्नेमा विवाद छैन तर शेयरप्रति नकारात्मक टिप्पणीले कसैको पनि भलो गर्दैन । पछिल्लो समय नेपालको मध्यम वर्गको शेयरप्रति आकर्षण बढेको छ । उनीहरुको लगानी सुरक्षित हुनुपर्छ भन्नेमा मतभेद नै छैन । ठूला लगानीकर्ताहरुले बजार प्रभावित पार्ने गरेको असत्य पनि हैन । त्यसको नियमन गर्नु राज्यको दायित्व हो । अदृष्य चलखेल रोकिनै पर्छ तर केही घटनाहरु देखाएर पुँजी बजारलाई नै तहसनहस बनाइनु हुँदैन । अहिलेको संसारमा एकात्मक तथा राज्य नियन्त्रित अर्थतन्त्र सम्भव छैन । प्रचण्डको अभिव्यक्तिलाई उनकै कार्यकर्ताले अस्वीकार गरेर दिएको सन्देश पनि त्यही हो ।
